- देवेन्द्र कार्की
आज दशैंको सातौं दिन फुलपाती । घटस्थापनादेखि नै दशैं सुरु भए पनि विशेष उत्सव भने फुलपातीबाट सुरु हुने गर्थ्यो । २०–२५ वर्षअघिसम्म दशैंलाई जसरी श्रद्धा र उमङ्गका साथ मनाइन्थ्यो, त्यस्तो उत्साह आजभोलि खस्किँदै गएको छ । यहाँ करिब २०५५–०५६ सालतिर पहाडको दशैं पर्व, परम्परा र वासिराङ देवीथानमा हुने उत्सवको स्मृति प्रस्तुत गरिएको छ ।
त्यो बेला फुलपाती पूजा भनेको केवल देवीको आराधना मात्र थिएन, यो एकता र सद्भावको पर्व पनि थियो । भोजपुरको आमचोक गाउँपालिका–२ (साविक युं गाविस)स्थित वासिराङ देवीथानको पूजा गाउँका सबैलाई एउटै सूत्रमा बाँध्ने माध्यम हुन्थ्यो । सामूहिक विश्वास र श्रद्धाको प्रतीकका रूपमा यस दिन बोका, राँगा, कुखुरा र परेवा बलि दिने चलन थियो । जात, धर्म र वर्गको भेदभावलाई बिर्सँदै गाउँका मानिसहरू देश–विदेशबाट फर्केर ठूलो उत्सव मनाउँथे ।
फुलपातीको तयारी महिना दिनअघि नै सुरु हुन्थ्यो । घर रंगाउने, लिपपोत गर्ने, आँगन सफा गर्ने, पूजा स्थल सजाउने, सबैलाई नयाँ साजसज्जा गर्ने कामले गाउँ रमाइलो बन्थ्यो । फुलपातीका दिन बिहानै गाउँका मानिसहरू सिँगारिएका बोका, राँगा, कुखुरा, परेवा बोकेर देवीथानतर्फ लाग्दा बनिने दृश्य अद्भुत र भावनात्मक हुन्थ्यो । सदरमुकामबाट करिब ७ किलोमिटर उत्तरतर्फ पर्ने यो देवीस्थान घना जंगलको बीचमा रहेको थियो ।
त्यहाँ हुने बलिको रमिता हेर्न टाढाटाढाबाट पैदल आएका मानिसहरू जम्मा हुन्थे । राँगा काट्न प्रतिस्पर्धा नै हुने गर्थ्यो । नयाँ जागिर पाउँदा, सन्तान जन्मिँदा वा लाहुरे लाग्दा देवीलाई राँगा बलि दिने परम्परा थियो । देवीको कृपाले घर–परिवारमा सुखसमृद्धि आउने विश्वासले सयौँ राँगा, बोका चढाइन्थे । हामी बालबालिका पनि भीडसँगै हुल बाँधेर बलि हेर्न निस्कन्थ्यौं । त्यो बेला जातभातको भेदभाव हुन्नथ्यो । कसले पूजा गर्यो भन्ने कुरा भन्दा देवीलाई प्रसन्न तुल्याउने सामूहिक आस्था नै ठूलो हुन्थ्यो ।
फुलपातीपछि अष्टमी विशेष गरी युवाहरूका लागि रमाइलो दिन हुन्थ्यो । त्यस दिन केटा–केटीहरू ठूलो कट्टी लिएर गाउँ–गाउँ घुम्दै खसी छिनाउने रमाइलो गर्थे । कसले कति खसी छिनायो भन्ने हिसाबकिताब हुन्थ्यो । धेरै खसी काट्नेले टाउकोमा फेटा बाँध्ने र पाँचसय वा हजार रुपैयाँको नोट सिउरिने गर्थ्यो । गाउँमा प्रतिष्ठा कायम राख्न आर्थिक अभाव भएका परिवार पनि ठूलो खसी काट्ने प्रतिस्पर्धामा सामेल हुन्थे । शक्तिको प्रतीक मानिने दशैंमा देवीलाई बलि चढाउनु नै मुख्य धर्म ठानिन्थ्यो । बलि चढाउन नसक्नेहरूले प्रतिकात्मक रूपमा कुभिण्डो काटेर देवीलाई खुसी तुल्याउने गर्थे ।
दशमी अर्थात् टिकाको दिन अग्रजबाट टिका–जमरा थाप्ने र आफ्ना आफन्तकहाँ टिका थाप्न जाने चलन थियो । टिकाको धान देखाउने परम्परा पनि थियो । दशैंमा ‘भुइँ छाड्ने’ अर्थात् पिङ खेल्ने संस्कार अनिवार्य जस्तै मानिन्थ्यो । नौरथादेखि नै गाउँमा दर्जीहरू व्यस्त भइ हाल्थे, नयाँ लुगा सिलाउने आवाजले गाउँमा छुट्टै रौनक थपिन्थ्यो । विश्वकर्मा बन्धुहरूले हतियार टल्काउने, कट्टी धारिलो बनाउने काम गर्थे । उनीहरूलाई खसीको गर्धन वा पुच्छे्र दिने चलन थियो ।
दशैं नजिकिँदै गर्दा गाउँलेहरू सामान किन्न तराईतिर झर्थे— उदयपुरको बेलटार वा सुनसरीको चतरासम्म पुगेर नुन, तेल, चामल, कपडा ल्याइन्थ्यो । गाउँमा अरु बेला मकै वा कोदोको ढिडो खाने चलन भए पनि दशैंमा भने तराईबाट ल्याइएको चामलको भात विशेष मानिन्थ्यो । ठूलो खसी पाल्ने तयारी साउनदेखि नै सुरु हुने गर्थ्यो ।
त्यो बेला दशैंले गाउँमा एकता, सद्भाव र आत्मीयता जगाउँथ्यो । गरिबी, भोकमरी, विपन्नता भए पनि दशैंले ती पीडाहरूलाई केही दिनका लागि बिर्साइदिन्थ्यो । विवाह, ब्रतबन्ध, पूजा–पाठ वा कुनै दुःखसुखमा सिंगो गाउँ जुट्ने चलन थियो । मतानेकी माइली बडिआमाको ‘आइदेऊ खाइदेऊ’ भन्ने माया, पञ्चकन्या हजुरबाको स्नेह, कर्ण सार्कीको आत्मीयता, काले दमाइको मित्रता, राइनी काकीको ममता, भलिबल खेलेका साथीहरूको मित्रता— यी सबैले दशैंलाई आत्मीय बनाउँथे । हामी विद्यार्थीहरू कलेजको छुट्टी पाउँदा दशैं मनाउन तराईबाट पहाड उक्लिन्थ्यौं ।
२०६३ सालपछि भने पहाडमा दशैं मनाउने अवसर मिलेन । त्यो बेला दशैंसँगै जोडिएका अग्रजहरू आज धेरैजसो संसारमा छैनन्, तर दशैं आउँदा उनीहरूको स्मृति अझै मानसपटलमा ताजै हुन्छ । उनीहरूको आशीर्वादले नै हामी आजसम्म बाँचिरहेका छौं भन्ने अनुभूति हुन्छ ।
अब ती दिनहरू एकादेशका कथा बन्दै गएका छन् । गाउँमा पहिलेको जस्तो संस्कृति, सद्भाव र मातृत्व हराउँदै गएको छ । दशैं व्यावसायिक र इलेक्ट्रोनिक युगमा प्रवेश गरिसकेको छ । वासिराङ देवीथानमा पहिले जस्तो भीड छैन, बोका–राँगा बोकेर हिँड्ने ताँती छैनन्, गाउँमा पिङ हालिएको छैन । धान खेतमा टिका देखाउने युवाहरू छैनन् । गाउँका धेरै युवा शहरतिरै रोकिएका छन् ।
यद्यपि दशैंले ल्याउने पुनर्मिलन, भेटघाट, शुभकामना साटासाट गर्ने परम्परा अझै पनि कायम छ । दशैंले राष्ट्रिय एकता, बन्धुत्व र अखण्डताको सन्देश दिने पर्वका रूपमा निरन्तरता पाइरहेको छ । त्यसैले दशैंलाई अर्काको देखासेखी होइन, आफ्नै सामर्थ्य र सन्तोषसँगै मनाउनुपर्छ । यही सन्देशले दशैंलाई अझ अर्थपूर्ण बनाउँछ ।