धरान । युएन–नवोदय कलेजले धरानको मौलिक पहिचान बोकेको धराने मोमो को सुरुवात गरेको छ। धरान–१६ स्थित युएन केक एन्ड बारिस्टामा धराने मोमो सेवा सुरु गरिएको कलेजका होटल म्यानेजमेन्ट कार्यक्रम संयोजक गगनमान श्रेष्ठले जानकारी दिनु भएको छ । 

उहाँका अनुसार धरानको मोमोको विशेषता भनेकै सादा सुपसहितको मौलिक स्वाद हो। पछिल्लो समय धरानमै पनि सुपसहितको परम्परागत मोमोको स्वाद हराउँदै गएकाले त्यसलाई पुनर्जीवित गर्ने उद्देश्यले ‘टिचिङ होटल स्कुल’ अवधारणाअन्तर्गत धराने मोमोको प्रवर्धन सुरु गरिएको उहाँले बताउनु भयो।

“धरानको मौलिक स्वाद र पहिचान जोगाउन यो पहल गरिएको हो,” उहाँले भन्नु भयो, “धराने मोमोमा मसला कम, प्याज, बोसो र अदुवाको सन्तुलित मिश्रण प्रयोग गरिन्छ भने सुप पनि सादा नै दिइन्छ।”

उहाँका अनुसार धरानमा मोमोको प्रवेश पूर्वोत्तर भारतको दार्जिलिङ हुँदै भएको मानिन्छ। दार्जिलिङबाट भित्रिए पनि धरानले समयक्रममा आफ्नै किसिमको स्वाद विकास गरेको उहाँले बताउनु भयो। धरानमा मोमो ब्रिटिस क्याम्पको समयदेखि प्रचलनमा आएको उहाँको भनाइ थियो।

“सामान्यतया नेपालमा मोमो तिब्बतबाट आएको मानिन्छ,” उहाँले भन्नु भयो, “तिब्बतबाट काठमाडौँ र दार्जिलिङ हुँदै अन्य स्थानमा फैलिएको देखिन्छ।”

युएन–नवोदय कलेजका प्रमुख डम्बरकुमार तुम्बापोले कलेजले व्यावहारिक र व्यवसायमुखी शिक्षा प्रदान गर्ने लक्ष्यअनुसार विभिन्न आउटलेट सञ्चालन गर्दै आएको बताउनु भयो। “हाम्रो लक्ष्य व्यापारभन्दा पनि विद्यार्थीलाई प्रत्यक्ष अभ्यासमार्फत सिक्ने अवसर दिनु हो,” उहाँले भन्नु भयो, “टिचिङ होटल स्कुल अवधारणाअनुसार धराने मोमोलाई विकास गरिएको हो। साथै रैथाने खानाको प्रवर्धन गर्ने उद्देश्य पनि रहेको छ।”

उहाँका अनुसार आगामी दिनमा कलेजले स्थानीय पहिचान बोकेका अन्य परिकार तथा सेवाहरूलाई पनि यही मोडलमा विस्तार गर्ने योजना बनाएको छ। विद्यार्थीहरुलाई व्यवहारी शिक्षा दिने उद्देश्यले यस्ता कार्यक्रम ल्याइएको कलेजले जनाएको छ ।