धरान / इटहरीस्थित जनता माविमा २८ बर्ष अघि स्थापित दशरथ योगमाया छात्रवृत्ति अक्षय कोषमा दाताले रकम थप गर्नु भएको छ । इटहरीका शैक्षिक अभियान्ता  लेखनाथ घिमिरेले स्थापित कोषमा रकम थप गर्नु भएको हो । 

गरिबका छोराछोरी अध्ययन गर्ने सामुदायिक विद्यालय जनता माध्यमिक विद्यालय इटहरीलाई गरिब विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि उहाँका आमाबुबाको नाममा राखिएको कोषमा ४१ हजार थप गर्नु भएको छ । यो कोषको व्याजबाट जेहेन्दार र विपन्न विद्यार्थीहरुलाई विद्यालयले छात्रवृत्ति दिदैं आएको छ ।   

करिब २८ वर्षअघि घिमिरेले जनता माविमा पढाउनु हुन्थ्यो । घिमिरेका अनुसार सोही समयमा उहाँलाई उत्कृष्ट शिक्षकको रूपमा विद्यालयले नगदसहित पुरस्कृत गरेको थियो । उहाँले पाएको पुरस्कार विद्यालयमा पढ्ने अति विपन्न, गरिब जेहेन्दार विद्यार्थीहरूको छात्रवृत्तिका लागि पुरस्कारमा त्यति नै रकम थप गरी विद्यालयलाई दिने घोषणा गर्नु भएको थियो । तर उहाँले अनुमान गरे भन्दा कम रकम भए पछि १० हजारको कोष बनाउनु भएको थियो । ‘मैले ५ हजार जति पुरस्कार पाउँछु होला भन्ने सोचेको थिएँ तर एक हजार मात्र रहेछ’ घिमिरेले भन्नुभयो,  ‘दुई हजारको कोष राख्ने कुरा भएन । २०५३ सालमा मैले अरू ९ हजार थपेर कोष राखेको थिएँ । अहिलेको समयअनुसार त्यो पनि सानो लागेर ४१ हजार थपेर ५१ हजारको कोष बनाएको हुँ ।’ त्यतिबेला उहाँको ३५ सय मासिक तलव थियो । झण्डै तीन महिनाको तलब उहाँले कोषमा राख्नुभएको थियो । हाल उक्त रकम सानो लागे पछि उहाँले विद्यालयमा गई आफै ४१ हजार थप गर्नु भएको हो । 

जनता माविमा हाल १२ वटा अक्षय कोष भएको विद्यालयले जनाएको छ । करिब २२ लाख बराबरको कोषबाट आएको ब्याजले जेहेन्दार, गरिब र विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिनु भयो । उक्त १२ वटा कोषबाट वार्षिक ४० जनाभन्दा बढी विद्यार्थीहरू लाभान्वित हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दङ्गालले जानकारी दिए । पैसा नभएर कोही गरिब पढ्ने अवसरबाट बञ्चित नहोउन् भनेर विपन्न करिब ३ सयभन्दा बढी विद्यार्थीहरूलाई अवश्यकताअनुसार छात्रवृत्ति प्रदान गर्दै आएको अध्यक्ष दङ्गालले बताउनु भयो ।