धरान / हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ । बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ । पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरूवा सहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो । चिसोका कारण इनरूवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा रहेका स्थानीय मनोज यादवले बताउनुभयो । 

दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको स्थानीयवासीले बताएका छन् । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारणले मानिसलाई घरबाट बाहिर निस्कानका लागि समस्या हुने गरेको स्थानीय चन्दन मेहताले बताउनुभयो ।

चिसोका कारणले दैनिकी मजदुरी गरेर गुजारा गर्दै आएकालाई समस्या भएको छ । चिसो, बाक्लो, हुस्सु र सित खस्ने गरेका कारणले घरबाट निस्कनेलाई  समस्या हुँदै आएको छ भने दैनिक मजदुरी गरेर घर परिवार चलाउँदै आएकालाई समस्या भएको कोशी–७ का झगडु सदाले बताउनुभयो ।

चिसोलाई मध्य नजर गर्दै सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले यसबाट जोगिन नागरिकलाई दाउरा वितरण गरेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा रहेका स्थानीयवासीलाई सशस्त्र प्रहरी बल–४ नम्बर गण सुनसरीले चिसोका बेलामा आगो तप्नका लागि लौकही, घुस्की, देवानगञ्ज लगायतका क्षेत्रमा दाउरा वितरण गरेको उहाँले जानकारी दिनुभयो ।