धरान  / दशै‌ अवधीमा धरानस्थित कृषि उपज बजार केन्द्रमा २३ करोड बरावरको कारोवार भएको छ ।  दशैं सुरु भएको दुई हप्ताको अवधीमा ९ हजार ५ सय खशी–बोका विक्री भएका छन् ।  

कृषि बजार व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार वार्षिक रूपमा यस बजारबाट औसतमा १ लाख २० हजार गोटा खसि–बोका बिक्री हुने गरेको थियो । जसको मूल्य करिब २ अर्ब ४० करोड रुपैयाँ बराबरको हुन्छ । तर यस वर्ष दशैंअघि भएको दुई हप्ते अवधिमा कारोबार गत बर्षको तुलनामा कम भएको व्यवस्थापक भट्टराईले बताउनु भयो । 

धरानको कृषि उपज बजार केन्द्रबाट विक्री हुने खशी–बोका मुख्यतः तराईका प्रमुख सहरहरू दमक, उर्लाबारी, इटहरी, विराटनगर, इनरुवा, लाहान, राजविराज र काठमाडौंसम्म लैजाने गरिएको छ । यस बजारमा आउने खशीहरू भने कोशी प्रदेशका पहाडी जिल्लाहरूबाट ढुवानी गरिन्छन् ।

प्रति खुशी जीवित तौलअनुसार औसत मूल्य रु. ६०० प्रति किलोका दरले बिक्री हुने गर्छ । व्यापारी र उपभोक्ताबीच मोलमोलाईको आधारमा मूल्य निर्धारण हुने गरेको छ ।

यो वर्षको कारोबार घट्नुका पछाडि विभिन्न कारण रहेको भट्टराई बताउँनु हुन्छ । उहाँका अनुसार साउन महिनामा लगातार परेको बाढी–पहिरो र झरीका कारण खशी ढुवानीमा समस्या आएको छ । त्यस्तै, जेन जी आन्दोलनका कारण बजारमा डर–त्रास सिर्जना हुनु, यातायात केही दिन अवरुद्ध हुनु र उपभोक्ताको क्रयशक्ति कमजोर हुनु पनि कारोबार घट्नुका प्रमुख कारण हुन् ।

भट्टराईका शब्दमा, “गत वर्षको दशैं अघिल्लो अन्तिम हप्तामा बजारमा भीडभाड हुने गर्थ्यो । तर यो वर्ष उपभोक्ताको चहलपहल नै कम देखिएको छ ।”

धरानको कृषि उपज बजार केन्द्र कोशी प्रदेशकै ठूलो पशु व्यापार केन्द्र मानिन्छ । हरेक वर्ष दशैं तिहारको समय नजिकिँदै जाँदा यहाँ खशी–बोका खरिद–बिक्री चर्को हुने गर्छ ।