धरान ।  धरानमा हुँदैं आएको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६ औं संस्करण यही  माघ २२ गतेदेखि हुने भएको छ । 

२०५५ सालदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रतिष्ठित प्रतियोगितामा यस वर्ष १० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष प्रताप तामाङले गत वर्ष आठ टोली सहभागी रहेकामा यस पटक दुई टोली थपिएको जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछन् । साथै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५–२५ हजार रुपैयाँ पुरस्कार दिइने क्लबका महासचिव नविन राईले जानकारी दिनुभयो । प्रतियोगिताका सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस वर्षको बुढासुब्बा गोल्डकपमा नेपाल र छिमेकी मुलुकका चर्चित क्लबहरूको सहभागिता रहनेछ । सहभागी टोलीहरूमा एनआरटी क्लब काठमाडौं, चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौं, एलए क्लब पोखरा, झापा–११ झापा, धरान फुटबल क्लब, रोयल थिम्फु क्लब (भुटान) र जर्जियन क्लब कालेम्पुङ (भारत) रहेका छन् ।

गत संस्करणको बुढासुब्बा गोल्डकपमा एनआरटी क्लब काठमाडौंले उपाधि जित्दा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं उपविजेता बनेको थियो । यस वर्षको संस्करण अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा आयोजकले गरेको छ ।

हालसम्मका विजेता तथा उपविजेता टिमहरु 

winner