धरान / तीन पटकको बूढासुब्बा गोल्डकप विजेता तथा साविक विजेता समेत रहेको एनआरटी क्लब काठमाडौँ २६ औँ बूढासुब्बा गोल्डकपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । ए डिभिजनमा भर्खरै बढुवा भएको प्लानिङ ब्वाइज युनियन क्लब ले दिग्गज एनआरटीलाई २–० ले पराजित गर्दै सानदार जित निकालेको छ ।
धरान रंगशालामा शनिबार सम्पन्न खेलमा प्लानिङ ब्वाइजले मध्यान्तरअघि र मध्यान्तरपछि एक–एक गोल गर्दै सन्तुलित खेल प्रदर्शन गर्यो । पहिलो पटक बूढासुब्बा गोल्डकप खेलिरहेको प्लानिङ ब्वाइजका लागि यो जित ऐतिहासिक बन्यो भने एनआरटीका लागि अप्रत्याशित हारका रूपमा रह्यो ।
खेलको अधिकांश समय बल नियन्त्रणमा एनआरटी देखिए पनि गोल गर्ने मामिलामा प्लानिङ ब्वाइज निकै चनाखो देखियो । मध्यान्तरअघि दुवै टिमले आक्रामक खेल देखाए पनि निर्णायक क्षणमा प्लानिङ ब्वाइजले अवसर सदुपयोग गर्यो ।
खेलको ४३ औँ मिनेटमा प्लानिङ ब्वाइजका विदेशी खेलाडी केबेले टोलीलाई अग्रता दिलाए । रोमन भुजेलको पासमा सानो डिबक्सको दक्षिणपश्चिम कुनाबाट गरिएको उनको ग्राउन्डेड प्रहार एनआरटीका गोलरक्षकका लागि असम्भव सावित भयो । गोलरक्षकले प्रयास गरे पनि बल जालीमा पुग्नबाट रोक्न सकेनन् ।
दोस्रो हाफमा एनआरटीले दबाब बढायो । अधिकांश समय प्लानिङ ब्वाइजको क्षेत्रमा खेल भए पनि गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा एनआरटी थप दबाबमा पर्यो । बरु त्यसै दबाबको बीचमा प्लानिङ ब्वाइजले फेरि एकपटक प्रहार गर्यो र खेल आफ्नो पक्षमा पारेको संकेत दियो ।
एनआरटीका लागि अवसरको कमी थिएन । मध्यान्तरअघि २० औँ मिनेटमा हेडर गोलपोस्टमा लागेर फर्कियो, जसलाई प्लानिङ ब्वाइजका गोलरक्षक योगेश धिमालले जोगाए । मध्यान्तरपछि ३१ औँ मिनेटमा रनदीप पौडेलको शक्तिशाली प्रहार र ३६ औँ मिनेटमा क्रितिसरत्न छुन्जेको सुन्दर अवसरलाई समेत योगेश र रक्षापंक्तिले विफल पारिदिए ।
विशेषगरी गोलरक्षक योगेश धिमाल एनआरटीका लागि बाधक बने । एनआरटीका लगातार प्रहारलाई निस्तेज बनाउँदै उनले टोलीलाई जिततर्फ डो¥याए । उत्कृष्ट प्रदर्शन गरेका योगेश म्यान अफ दी म्याच घोषित हुँदै १० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरे ।
यस हारसँगै २०८० र २०८१ का विजेता एनआरटी पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ भने प्लानिङ ब्वाइजले सेमिफाइनल यात्रा तय गरेको छ ।
अब प्रतियोगितामा आइतबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँ बीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज गत वर्षको उपविजेता टोली हो भने नेपाल पुलिस चार पटकको बूढासुब्बा गोल्डकप विजेता हो । फागुन २ सम्म हुने प्रतियोगितामा दुई विदेशी पाउन टोलीसहित १० वटा क्लवहरुले भाग लिएका छन् ।



















