हङकङ, / धरानबाट प्रकाशित हुने 'ब्लाष्ट दैनिक'का सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मानित हुनुभएको छ। गोरखा सेमिट्रिज ट्रष्ट हङकङको निमन्त्रणामा हङकङ पुग्नुभएका कार्कीलाई यहाँस्थित दुई क्रियाशील संस्थाहरूले विशेष सम्मान गरेका हुन्।
'द नेप्लिज् एशोसिएशन हङकङ' र 'नेपाल क्लव हङकङ' द्वारा विहीबार एभेरेष्ट हाेटलमा आयोजित एक स्वागत तथा भेटघाट समारोहमा सम्पादक कार्कीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। पत्रकारिताको माध्यमबाट सामाजिक सेवामा पुर्याएको अनवरत योगदानको कदर गर्दै उहाँलाई सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन्।
सम्मान कार्यक्रममा द नेप्लिज् एशोसिएशन हङकङका अध्यक्ष प्रदिप थापा, हङकङ नेपाली महासंघका अध्यक्ष नवीन सुहाङ, उपाध्यक्ष नारद राई, पूर्व अध्यक्ष हेम राई, र नेपाल क्लव हङकङकी अध्यक्ष रीता गुरूङलगायतका व्यक्तित्वहरूले संयुक्त रूपमा दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।
सो अवसरमा बोल्दै हङकङ नेपाली महासंघका पूर्व अध्यक्ष हेम राईले पत्रकारिता क्षेत्रले समाजको ऐनाका रूपमा काम गर्ने उल्लेख गर्दै कार्कीलाई पत्रकारितामार्फत समाज परिवर्तनको यात्रालाई निरन्तर जारी राख्न सुझाव र शुभकामना दिनुभयो।
यसैगरी धरान हङकङ मंचका संस्थापक अध्यक्ष ईन्द्र वनेमले राज्यको चौथो अंग पत्रकारिता क्षेत्रले समाजको ऐनाका रुपमा काम गर्नु पर्उने उल्लेख गर्नु भयाे ।
पत्रकारिताको माध्यमबाट हङकङेली नेपाली समुदाय र उनीहरूका मुद्दाहरूला हङकङ, धरान, सिङ्गो नेपाल र बिश्वभरी रहनुहुने नेपालीजनमनलाई भावनात्मक रुपमा जोड्न सहयोगी भूमिका निर्वाह गर्नुभएको र सामाजिक सेवामा समेत सकृयताका लागि सम्मान गरिएकाे वुमन कमिसन्स्, एचकेएसएआरकाे सदस्य समेत रहनु भएकी रीता गुरूङले बताउनु भयाे।
हङकङ नेपाली महासंघका उपाध्यक्ष नारद राईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा याउ चिम मङ (Yau Tsim Mong) डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरूङ, समाजसेवी कुलबहादुर गुरूङ, शिक्षासेवी देवराज राई, महासंघका पूर्व अध्यक्ष टङ्क राना, गोरखा सेमिट्रिज ट्रष्टका अध्यक्ष अमोद राईलगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
प्रवासको व्यस्त भूमिमा पनि आफ्नै आँगनको सुवास र आत्मीयता महसुस गराउँदै गरिएको यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको र सधैं प्रेरणा दिइरहने नेपाल पत्रकार महासंघ काेशी प्रदेशका पूर्व सचिवसमेत रहनु भएका कार्कीले बताउनुभयो। हङकङमा रहेका नेपाली संस्थाहरूको यो प्रेम र सद्भावले प्रवास र स्वदेशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको उहाँले बताउनु भयाे ।
नेपाल पत्रकार महासंघ काेशी प्रदेशका पूर्व सचिवसमेत रहनु भएकाे कार्की ट्रष्टकाे निमन्त्रणामा गत अप्रिल ३ तारिक दुई हप्ताका लागि हङकङ आउनु भएकाे थियाे । पुर्खा दिवसकाे अवसरमा हङकङकाे सान टिनमा रहेकाे सेमिष्ट्रजमा पुर्खा दिवस मनाइएकाे थियाे ।




















