धरान । मितेरी डेभलपमेन्ट बैंक लिमिटेड धरानले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धरान–१३, फुस्रेस्थित पब्लिक माध्यमिक विद्यालयलाई डिजिटल स्मार्ट बोर्ड सहयोग गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्त चापागाईं र सञ्चालक समिति अध्यक्ष किसन मास्केले विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम शर्मा निरौला तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिबहादुर कार्कीलाई संयुक्त रूपमा स्मार्ट बोर्ड हस्तान्तरण गर्नुभयो।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत चापागाईंले गुणस्तरीय शिक्षामा प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको उल्लेख गर्दै बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक निरौलाले बैंकको सहयोगले विद्यालयमा प्रविधिमैत्री शिक्षण–सिकाइ वातावरण विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सहयोगका लागि बैंक परिवारप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा बैंकका वरिष्ठ प्रबन्धक विशाल श्रेष्ठ, सञ्चालन विभाग प्रमुख रमेश गौतम, सूचना प्रमुख कृष्ण खतिवडा तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो। त्यसैगरी, कार्यक्रममा धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, विद्यालयका सहायक प्रधानाध्यापक नारद राई, माध्यमिक तह इन्चार्ज सविता राई, आधारभूत तह इन्चार्ज उमेश कार्की, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।



















