- जगत अम्बू गुरुङ
हङकङ । हङकङमा कार्यरत नेपाली श्रमिकलाई श्रम अधिकार, कानुनी संरक्षण तथा रोजगारसम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले ‘नो योर राइट्स’ ९प्लयध थ्यगच च्ष्नजतक० विषयक एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
ओभरसिज नेपाली वर्कर्स एसोसिएसन हङकङको आयोजनामा आइतबार हङकङको साङ्घाई स्ट्रिटस्थित एक रेष्टुरेन्टमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत नेपाली श्रमिकको सहभागिता रहेको थियो। पाँच घण्टासम्म सञ्चालन भएको कार्यक्रममा श्रमिकका अधिकार, रोजगार सम्झौता तथा हङकङको श्रम कानुनका विषयमा जानकारी गराइएको थियो।
कार्यक्रममा मिसन फर माइग्रान्ट वर्कर्सकी निर्देशक सिन्थिया करिदाद तेलेजले हङकङमा कार्यरत आप्रवासी श्रमिकका लागि लागू हुने रोजगार सम्झौताका २४ वटा महत्वपूर्ण प्रावधानबारे प्रस्तुति दिनुभयो। उहाँले रोजगारदाताको दायित्व, श्रमिकका अधिकार, पारिश्रमिक, बिदा, आवास, स्वास्थ्य सुरक्षा, सेवा समाप्तिसम्बन्धी व्यवस्था तथा कानुनी उपचारका उपायका विषयमा जानकारी गराउँदै श्रमिकले आफ्नो अधिकारबारे स्पष्ट जानकारी राख्नु आवश्यक रहेको बताउनुभयो।
उक्त विषयवस्तुलाई ओभरसिज नेपाली वर्कर्स एसोसिएसन हङकङकी अध्यक्ष पूर्णिमा शाहले नेपाली भाषामा सहजीकरण गर्नुभयो। उहाँले भाषा तथा जानकारीको अभावका कारण कतिपय नेपाली श्रमिक आफ्ना अधिकारबाट वञ्चित हुने अवस्था रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले श्रमिकमा कानुनी सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा सहभागीहरूले रोजगार सम्झौताको कार्यान्वयन, सेवा सुविधा, श्रमिक अधिकार तथा कार्यस्थलमा भोग्नुपरेका समस्यासम्बन्धी जिज्ञासा राखेका थिए। प्रस्तुतकर्ताले सहभागीका जिज्ञासाको कानुनी तथा व्यावहारिक आधारमा उत्तर दिनुभएको थियो।
आयोजकका अनुसार यस्ता कार्यक्रमले नेपाली श्रमिकलाई श्रम अधिकारप्रति सचेत बनाउनुका साथै सम्भावित श्रम शोषण तथा अन्यायबाट जोगिन सहयोग पुग्ने विश्वास लिइएको छ। आगामी दिनमा पनि श्रमिकको क्षमता अभिवृद्धि, कानुनी सचेतना र नेतृत्व विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।
कार्यक्रमको सञ्चालन एसोसिएसनकी सहसचिव पूर्णिमा प्रधानले गर्नुभएको थियो।




















