काठमाडौं । सर्लाहीको बागमती नगरपालिकामा निर्माणाधीन बागमती फन पार्क एण्ड रिसोर्ट आयोजनामा व्यापक आर्थिक अनियमितता भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुख, प्रदेशका पूर्वमन्त्री, सचिव तथा निर्माण व्यवसायीसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले बुधबार दायर गरेको आरोपपत्रअनुसार आयोजनाको दोस्रो चरणको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्दा आवश्यकताविनै नयाँ संरचना थपिएको, प्रतिस्पर्धा सीमित हुने गरी ठेक्काको मूल्याङ्कनका आधार तयार गरिएको र निश्चित निर्माण कम्पनीलाई लाभ पुग्ने उद्देश्यले प्रक्रिया अघि बढाइएको आरोप छ।
आयोगका अनुसार पहिलो चरणको डीपीआरले आवश्यक नठहराएको बागमती नदी किनारमा रिटेनिङ वालसहितका संरचना दोस्रो चरणमा समावेश गरिएका थिए। त्यसका लागि आवश्यक अध्ययन, जोखिम विश्लेषण, लागत–प्रतिफल मूल्याङ्कन तथा प्राविधिक औचित्यसमेत पुष्टि नगरिएको दाबी गरिएको छ।
अनुसन्धानबाट दोस्रो चरणको आयोजनामा करिब ३९ करोड ३९ लाख ६६ हजार रुपैयाँ बराबरको आर्थिक दायित्व सिर्जना गरी सार्वजनिक सम्पत्तिको हिनामिना र दुरुपयोग भएको अख्तियारको ठहर छ।
आयोगले ठेक्का प्रक्रियामा जटिल र सीमित प्रतिस्पर्धा हुने मूल्याङ्कनका आधार राखी पहिलो चरणको निर्माण कम्पनीलाई नै लाभ पुग्ने वातावरण बनाइएको जनाएको छ। बोलपत्र मूल्याङ्कनका क्रममा निर्माण कम्पनीले फर्जी तथा झुट्टा कागजातसमेत पेस गरेको आरोपपत्रमा उल्लेख छ।
मुद्दा दायर गरिएकामध्ये तत्कालीन मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह र तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरसँग ३५ करोड रुपैयाँ बिगो दाबी गरिएको छ। यस्तै, तत्कालीन बागमती नगर प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तान र प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलसँग ३९ करोड ३९ लाख ६६ हजार रुपैयाँ बराबरको बिगो कायम गरी सजाय माग गरिएको छ।
त्यस्तै, तत्कालीन उपसचिव उद्धवराज न्यौपानेविरुद्ध २० करोड रुपैयाँ बिगो दाबी गरिएको छ भने बिकोई–धुलिखेल जेभी र त्यसका आधिकारिक प्रतिनिधि युवराज पोखरेललाई मुख्य कसूरदारसरह सजायको माग गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
आयोगले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर गरेको ठहर गर्दै कैद, जरिवाना तथा बिगो असुलउपरको मागसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनु भएको छ ।



















