इटहरी / भोटेकोशीको बाढीपहिरो प्रभावितका लागि इटहरीस्थित जनता माध्यमिक विद्यालयले रु. १ लाख ४० हजार ८ सय ९ रुपैयाँ सहयोग गर्ने भएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालको अध्यक्षतामा आज बसेको बैठकले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको र प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेकाले विद्यालयको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष दंगालले बताउनु भएको छ ।

विद्यालयमा दैविप्रकोपका लागि प्रत्येक विद्यार्थीहरुले नियमित दैनिक एक रुँपैंया कोषमा जम्मा गदैं आएका छन् । उक्त कोषबाट सहयोग गर्न लागिएको हो । विद्यालयमा हाल करिव ३ हजार ५ सय विद्यार्थीहरु अध्ययनरत छन् । विद्यार्थीहरुले खाजा खर्च कटाएर प्राकृतिक विपत्तिका लागि रकम जम्मा गदैं आएका छन् । कोभिडका बेला पनि विद्यालयले इटहरी उपमहानगरपालिकालाई एक लाख सहयोग गरेको अध्यक्ष ढंगालले जानकारी दिनु भयो । 

दंगाल सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय अध्यक्षसमेत हुनुहुन्छ । उहाँले प्राकृतिक विपत्तिका बेला सामुदायिक विद्यालयहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावितलाई सहयोग गर्न देशैभरका विद्यालयहरुलाई आव्हानसमेत गनुृ भएको छ । 

 सामुदायिक विद्यालयहरू शिक्षण सिकाइका केन्द्र मात्र नभई विपद् तथा सामाजिक संकटका समयमा समुदायसँगै उभिने संस्थाका रूपमा स्थापित हुनुपर्ने उहाँको भनाई छ ।