धरान । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार–२०८२’ का लागि  श्रेष्ठ १० कृति र राष्ट्रिय कविता महोत्सवकालागि १० उत्कृष्ट कविता  विहीबार सार्वजनिक गरेको छ । 

छनौटमा परेका १० श्रेष्ठ कृति मध्ये एकलाई आगामी कात्तिक १९ गते धरान–१८ बुद्धचोकस्थित पुस्तकालयको हलमा आयोजना हुने ५५ औं विमल गुरुङ जन्मजयन्ती तथा ३५ औं राष्ट्रिय कविता महोत्सवको अवसरमा विमल गुरुङ कृति पुरस्कार प्रदान गरिने अध्यक्ष पूर्णवहादुर गुरुङले जानकारी दिनु भयो । 

पुस्तकालय व्यबस्थापन समितिकाअनुसार छनौट भएका श्रेष्ठ १० कृतिहरुमा तेजबहादुर गुरुङ (च्हाक्लीतमु) को मुक्तक संग्रह विन्तीपत्र, जुनु दिव्या रानाको निबन्ध संग्रह लाहुरेनी सौन्दर्य, दीपेन्द्र आचार्यको कविता संग्रह पृथ्वीको व्यापार, कृष्ण उदासीको कविता संग्रह पानीको पर्खाल, मनु योङहाङको उपन्यास सेक्मुरी फुङ, भूपिनको निबन्ध संग्रह मध्यको उज्यालो, सुरेश यक्सोको कथा संग्रह पेनिवा, मेघनाथ दाहालको उपन्यास सांघु, दावा योन्जनको कविता संग्रह जङगली फूल, कुवेरचन्द्र दाहालको उपन्यास टिस्टा–रङ्गीत रहेका छन् । 

विमल गुरुङ कृति पुरस्कार राशी नगद २ लाख रुपैयासहित ताम्रपत्र र दोसल्ला रहेको छ । विमल गुरुङ कृति पुरस्कारकालागि ५२ पुस्तक प्राप्त भएको पनि पुस्तकालय समितिले जनाएको छ । 

यसैगरी समितिले राष्ट्रिय कविता महोत्सवकालागि १० उत्कृष्ट कविता पनि छनौट गरेको छ । छनौटमा परेका कविताहरुमा ताप्लेजुङका लेकाली कान्छा ‘मुक्कुम’ को घामको जन्म, सिन्धुपाल्चोकका सुन्दर शिरीषको चेतावनीको अन्तिम हरफ, भोजपुरको जीवन समिपको बाटाहरु, सुनसरीका जमुना क्षेत्रीको नयां सपना नयां क्षितिज रहेका छन् । 

यसै गरी भोजपुरको रोजिना विश्वकर्माको रितो थालीको राष्ट्रगान, सिन्धुलीका निरुपम श्रेष्ठको एउटा इच्छापत्र, मोरङको पवित्रा खनालको सिंहदरबार र सडकको दुरी, तनहुको नरोत्तम श्रेष्ठको अर्धाक्षर, सुनसरीका सविता फागोको भुईंमान्छेका सपना र झापाका विवेक दुलाल क्षेत्रीको मलाई कविताको मृत्यु अस्वीकार्य छ महोत्सवका लागि छनौटमा परेका छन् । कविता महोत्सवकालागि ९२ वटा कविता प्राप्त भएका थिए । 

कविता महोत्सव प्रथमलाई नगद २१ हजार रुपैया, दितीयलाई नगद १८ हजार रुपैया र तृतीयलाई १७ हजार रुपैयासहित प्रमाणपत्र र मेडल प्रदान गरिने पुस्तकालयले जनाएको छ । पुस्तकालयले एकजना युवालाई विमल गुरुङ स्मृति युवा प्रतिभा सम्मान पनि गरिने पुस्तकालयले जनाएको छ ।