धरान / नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री एवं पूर्वमन्त्री सुनिलबहादुर थापाले नेपालको संविधानको कुनै पनि धारामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताउनु भएको छ ।
आइतबार स्कुल अफ डेमोक्रेसी नेपाल सुनसरीको पदस्थापना कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका थापाले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘मैले देखेको, मैले बुझेको ५ सय ५६ नम्बरमा संविधानको ३५ भाग ३०९ धारा र ९ अनुसुचि छ, संविधानको कुनै पनि धारामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन ।’
प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको बताउँदै त्यसले देशलाई ठूलो भड्खालमा लगेको बताउनुभयो । उहाँले केपी ओली नेतृत्वको सरकार भ्रष्टचारमा लिप्त भएको आरोप लगाउनुभयो । अन्याय अत्याचार, बलात्कार र महिला हिंसा जस्ता घटनाहरु सबैभन्दा बढी यहि सरकारमा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अढाई वर्षको अन्तरालमा नेपालमा लगभग ३ हजारको संख्यामा हत्या, बलात्कार र महिला हिंसा जस्ता घटनाहरु भएका छन् । यिमध्ये २, ४ वटा मात्र केशहरु बाहिर आएका छन् ।’
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीन विश्वकर्माले स्कुल अफ डेमोक्रेसीको अवधारणा ल्याउने मध्ये आफू पनि एक रहेको बताउनुभयो । यसले प्रजातन्त्रमा विश्वास गर्नेहरुका लागि उर्जा थप्ने उहाँको भनाई थियो ।
विघठित प्रतिनिधिसभाकी संसद एवं नेतृ मिना सुब्बाले ओली सरकारले प्रतिनिधिसभा विघटन गरेर कु गरेको बताउनुभयो । जनताको मर्म र भावनामाथि खेलबाड गरेको आरोप उहाँले लगाउनुभयो ।
स्कुल अफ डेमोक्रसी नेपालका केन्द्रिय अध्यक्ष नैन सिंह महरले स्कुल अफ डेमोक्रेसी सिक्ने र सिकाउनेहरुको थलो रहेको बताउनुभयो । प्रजातन्त्रवादी जनताको वृद्धिविकासका लागि स्कुल अफ डेमोक्रेसी नेपाल स्थापना भएको उहाँले बताउनुभयो । राजनीतिक अधिकार पाए पनि सामाजिक न्याय पाउन नसकेको भन्दै उहाँले सामाजिक न्याय र स्वतन्त्रताका लागि डेमोक्रेसीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले अहिले मुलुक अत्यन्तै प्रतिकुल परिस्थितिका बाबजुद अगाढी बढिरहेको बताउँदै यसले समग्र क्षेत्रमा वितृष्णा तुल्याएको बताउनुभयो । विषयवस्तुहरु सर्वोच्च अदालतमा विचाराधिन अवस्था रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठ, नेपाली कांग्रेस सुनसरी जिल्ला सचिव सुजेन्द्र गोले तामाङ, नेपाल तरुण दल धरानका सभापति हिमाल श्रेष्ठ लगायत नेताहरुले बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रम स्कुल अफ डेमोक्रेसी प्रदेश नं. १ का संयोजक विशाल श्रेष्ठको सभापतित्वमा भएको थियो ।
नयाँ कार्यसमिति गठन
स्कुल अफ डेमोक्रेसी नेपाल सुनसरीको अध्यक्षमा दोर्ची शेर्पा रहनु भएको छ । उपाध्यक्षमा केशव पुरी, सचिव लघु सुवेदी र कोषाध्यक्ष निर्मला गुरुङ (निरु) छन् । सदस्यहरुमा पारस राई, अशोक मेहता, विकाश सोनु, सागर पोख्रेल, लोकराज बस्नेत, प्रदिप गहतराज, मञ्जु केशी, रुपेश भट्टराई, संगिता राई, विवेक घिमिरे, सविन चौलागाई, नविन श्रेष्ठ, कुन्दन मण्डल, दिलिप रुवर्णकार, समिर राई, सुगम श्रेष्ठ र मेगाधन राई रहनुभएको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!