- सरस्वती शर्मा
उहाँको जन्म १९६० सालमा दार्जिलिङको बडा पुबोङ नामक हरियालीले भरिपूर्ण भूमिमा भएको थियो। स्वर्गीय नरबहादुर बिष्ट र स्वर्गीय मनमाया बिष्टको स्नेहिल संरक्षणमा हुर्कदै आँगनमा उहाँले सांगीतिक सपना बुन्नुभएको थियो ।
यो सपना हावामा होइन, धरातलमा जरा गाडेर बढ्यो। जीवनको आरम्भिक दिनहरूमा नै उहाँले आफ्नो गला र हृदयलाई संगीतमा समर्पित गर्नु भयो । जसरी नदीले आफ्नो मार्ग फेर्दै अविरल बगिरहन्छ। उहाँले बाल्यकालदेखि नै संगीतप्रतिको गहिरो झुकाव महसुस गर्र्नु भयो । पुबोङको हराभरा वातावरणले उहाँलाई केवल प्रकृतिसँग होइन, संगीतको आत्मासँग पनि जोडिदियो।
राम बिष्टको संगीतिक यात्रा १९७७ सालमा नामरीङ चियाबारीको क्रिकेट मैदानमा आयोजित सांगीतिक कार्यक्रममा सुरु भयो। उहाँका साँगीतिक पदचापहरु धेरैका लागि प्रेरणादायी बने। उहाँका गीतहरूले श्रोताहरुको हृदयमा गहिरो प्रभाव पार्यो।
यसरी सुरु भएको यात्रा केवल गायनको रहस्योद्घाटन मात्र थिएन, यो त संगीतलाई आत्मा र जीवनसँग जोड्ने बाटो थियो। उहाँका गीतहरूले श्रोताहरूको मनमा एउटा अनौठो छाप छोडे। उहाँका गीतहरूमा शब्द र धुनको मात्र संयोजन थिएन, ती जीवनका विविध पाटाहरूको गहिराइ बुझ्न प्रेरित गर्ने भावनाहरूको ऐना जस्ता छन्।
उहाँको सिर्जनशीलता गीतामृत क्यासेट वरिष्ठ संगीतकार बसन्त छेत्रीका संगीतमा (सन् १९९३) का दुई गीतहरूबाट आरम्भ भयो। त्यसपछि उहाँका स्वरले अनेकन एल्बमहरूलाई जीवन दियो, जस्तै अर्पणा (सन् १९८५) र औरा (सन् १९९४)। सन् १९९२ मा आयोजित ३३औं वार्षिक नेपाली संगीत प्रतियोगितामा उहाँले आधुनिक गीत र लोकधुन दुवै विधामा प्रथम स्थान हासिल गर्नु भयो । सन् १९९४ मा खरसाङ रेडियोमा अडिसन पास गर्नु भयो ।
उहाँले संगीतमा आफ्नै योगदानका रूपमा साई भजन मञ्जरी आध्यात्मिक केन्द्र गेल चियाबारी स्वर्गीय बि।के मोक्तान,कुल्लीको गीतमा लेखकको निर्माणमा सन् १९९४, प्रथम प्रयास एल्बम दार्जिलिंङ बाट रिलीज २००१, चेली रोएको बिहान एल्बममा २००८, सौगात एलबम सिक्किम रेसिबाट रिलिज भएको २००८, उहाँका सिर्जनाहरूमा प्रेम, पीडा, उत्सव, संघर्ष, र सामाजिक चेतनाका विविध पक्षहरू चित्रित छन्।
राम बिष्टका प्रेरणाका स्रोतहरू विविध छन्। संगीत शिक्षक मणि कमल छेत्रीले उहाँलाई ६ वर्षसम्म निशुल्क संगीत शिक्षा प्रदान गर्नु भयो । संगीतमा पहिलो पाइला टेक्न सहायक बन्नुभयो थियो बसन्त छेत्री। रेडियो खरसाङसम्म पुर्याउन उहाँले अनिता प्रधान, नगेन्द्र गोर्खा र दिव्य खालिङ जस्ता व्यक्तित्वहरूको मार्गदर्शन पाउनुभयो । श्रीमती चन्द्रीका बिष्ट, छोरी प्रार्थना बिष्ट, छोरा अनुग्रह बिष्टको साथ र सहयोग उहाँले भरपुर मात्रामा पाउनुभएको छ । उहाँका छोरा, छोरी पनि संगीत क्षेत्रमानै जोडिनुभएको छ ।
४३ बर्षको साङ्गितिक यात्रामा गीत भजन गरी ४० भन्दा बडी उनका सिर्जनाहरू केवल मनोरञ्जनको माध्यम रहेनन् । तिनले समाजको चेतना जगाउन महत्त्वपूर्ण भूमिका खेले ,र यो समाजको आवाज पनि बनिरहेको छ ।सन् २००१ सालमा उहाँले गरेको सामाजिक योगदानको कदरस्वरुप गरिब तथा उत्पीडित समुदायका लागि शिक्षा पुरस्कार प्राप्त गर्नु उहाँका सामाजिक योगदानको प्रमाण हो। जसरी सूर्यले बिहानको उज्यालो दिन्छ, त्यसैगरी उहाँले आफ्नो संगीत र शिक्षाको माध्यमबाट अन्धकारमा रहेका धेरैलाई उज्यालोको अनुभूति दिर्नु भएको छ ।
उहाँको सम्मानको फेररिस्त लामो छ, तर प्रत्येक सम्मानले उहाँ व्यक्तित्वको गहिराईलाई झल्काउॅछ। उत्कृष्ट गायनको सम्मान पत्र, अल युनाइटेड रेजुबेनिटिङ, आर्टीस एसोसिसन (औरा) दार्जिलिंङ सन् १९८४, उत्कृष्ट गायक सम्मान पत्र शान्ति संध कलेज भेल्ली १९८५, संगीतकार मणि कमल छेत्री बाट सांगीतिक शिक्षा लिए बापत सम्मान १९९०, उत्कृष्ट गायक सम्मान पत्र शान्ति संध कलेज भेल्ली १९९५,
त्रिवेणी साहित्य परिसर सम्मान पत्र १९९९, एच आर डी मंगपु बाट संगीतमा योगदान वापत सम्बर्द्धना २००५, सुश्रुता नगर चर्च सिलगडीद्वारा म बॉच्न चाहान्न एलबममा संगीत दिएवापस सम्बर्द्धना २०१६, चर्चित गीत तोरी फूल्यो तोरीबारीमा गीत अवार्डले सम्मान २०१७,, वान्तवा परिवार रंगली ,सम्बर्द्धना २०१९, संगीतकार मणि कमल छेत्री बाट सांगीतिक शिक्षा लिए बापत २००८ आदि सम्मानले सम्मानित हुनु भएको छ ।
सांगीतिक फाटॅमा उहाँले गरेको योगदान, उहाँका आवाजहरुका मिठास, र उहाँको सिर्जनाको शाश्वततालाई सम्झेर उहाँलाई विभिन्न संस्थाहरुले पुरस्कार र कदरपत्रहरु प्रदान गरेका छन्। उहाँको सुमधुर आवाज र अद्वितीय सिर्जनाले उहाँलाई विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान दिलाएको छ। उहाँका गीत, भजन, र सिर्जनाले उहाँलाई नेपाली संगीतको उज्यालो नक्षत्र बनाएका छन्।
राम बिष्टको जीवन एउटा अविरल बग्ने नदीझैं हो, यस्तो पवित्र यात्रा हो, जहाँ उहाँले शब्द धुन र भावनाको पुल बॉधेर संसारलाई आफ्नो संगीतको विशाल मञ्च बनाउनु भएको छ । जसले संगीतको भूमि हराभरा बनाएको छ। उहाँको सुमधुर आवाज, संगीतप्रतिको निष्ठा, र समाजसेवाप्रतिको अटल प्रतिबद्धताले उहाँलाई युगौंसम्म जीवित राख्नेछ। गायक राम बिष्ट एउटा विशाल वटवृक्षजस्तै लाग्छन् जसको जरा संगीतमा गाडिएको छ ,जसले समाजलाई आफ्ना गीतहरु रूपी छायॉ दिरहेको छ उहाँ संगीतको एउटा त्यस्तो स्वरूप हो, जसले संसारलाई सदैव प्रेरणा र सन्तुष्टि दिन्छ।
गायक राम बिष्टको सांगीतिक योगदान र व्यक्तित्वले नेपाली संगीत क्षेत्रमा एउटा गहिरो छाप छोडेको छ। विगत चार दशकभन्दा लामो समयदेखि उहाँले आफ्नो सुमधुर स्वर र सिर्जनाले लाखौं संगीतप्रेमीको मन जितेका छन्। उहाँका गीत, भजन, र संगीतमा झल्किने समाजप्रतिको चेतना, प्रेम, र संवेदनशीलता सधैं प्रशंसनीय छन्। उहाँले नेपाली सांगीतिक क्षेत्रमा सिर्जनात्मक योगदान गर्दै समाजलाई प्रेरणा र सन्देश समेत दिनुभएको छ ।
आगामी दिनमा उहाँको सांगीतिक यात्रा अझै व्यापक र फलदायी बनोस् भन्ने हाम्रो सबैको कामना छ। उहाँका सिर्जनाहरूले नयाँ पुस्तालाई संगीतप्रतिको प्रेम र निष्ठा सिकाउँदै, नेपाली संगीतको फाँटलाई अझै उचाइमा पुर्याओस्। नेपाली सांगीतिक इतिहासमा उहाँका सिर्जना सधैं उज्यालो बनेर चम्किरहुन्।
साथै, उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछौं। उहाँले आफ्नो अनुभव र सिर्जनात्मक ऊर्जाबाट आगामी पुस्तालाई मार्गदर्शन गरून्, संगीतलाई अझ जीवन्त र समृद्ध बनाउँदै समाजमा सकारात्मक प्रभाव पारेका उदाहरणीय व्यक्तित्व बन्न सकून्।
जसरी एउटा नदी निरन्तर बग्दछ र पृथ्वीलाई जीवनदायी बनाउँछ, त्यसरी नै राम बिष्टको संगीतले समाजलाई प्रेरणा, मनोरञ्जन, र चेतनाको उज्यालो प्रदान गरिरहोस्। उहाँका स्वर र सिर्जनाले सधैं संगीत प्रेमीहरूको हृदयमा बास गरून्।
(राङ्गेरून दार्जीलिङ)




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!