धरान / महिला सशक्तिकरण र स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले धरान उपमहानगरपालिका–५ मा जडी, दुवाको माला बनाउने तथा नरिवल र सुपारी सजाउने ६ दिने तालिम सम्पन्न भएको छ ।
महिला एकता मञ्च नेपाल र धरान उपमहानगरपालिका वडा नं. ५ को सहकार्यमा तालिम आयोजना गरिएको हो । तालिममा कुल २५ जना महिलाको सक्रिय सहभागिता रहेको थियो । शनिवार भएको तालिम समापन कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सभाकी सदस्य एशोदा कायस्था रहनु भएको थियो
प्रमुख अतिथि कायस्थाले तालिममार्फत महिलाहरूलाई स्वरोजगारमुखी बनाउँदै आर्थिक रूपमा सक्षम बनाउने प्रयास सराहनीय रहेको बताउनु भयो । 'सीपमा आधारित तालिमले महिलालाई आत्मनिर्भर बनाउनुका साथै समाजमा नेतृत्व लिन प्रेरणा दिने उहाँको भनाई छ । ‘महिलाहरु आर्थिक रुपमा सवल भए भने मात्र राजनीतिक, सामाजिक, आर्थिक सशक्तिकरण गर्न सकिन्छ । तव मात्र महिलाहरु हरेक क्षेत्रमा अगाडी बढ्न सक्छन् ।’–उहाँले भन्नु भयो ।
कार्यक्रमको अध्यक्षता महिला एकता मञ्चकी अध्यक्ष दिया श्रेष्ठले गर्नु भएको थियो । समापन कार्यक्रममा ५ नं. वडाका वडाध्यक्ष मनप्रसाद लिम्बू, पाचकन्या स्वास्थ्य चौकीका प्रमुख सिपी खनाल, ५ नं. वडा सदस्य तथा स्वास्थ्य विभाग प्रमुख चन्द्र खनाल, जनता प्राविकी प्रधानाध्यापक रीता पौडेललगायतको सहभागिता रहेको थियो ।
अध्यक्ष दिया श्रेष्ठले तालिमको उद्देश्यबारे जानकारी दिँदै महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रूपले सशक्त बनाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताइन ।
तालिममा सहभागी महिलाहरूले सुपारी, जडी र दुवो नरिवललाई आकर्षक ढंगले सजाउने, प्याकेजिङ गर्ने र बजारिकरण गर्ने सीप सिकेका थिए । उनीहरूले प्राप्त सीपमार्फत विभिन्न पूजाआजा, विवाह तथा अन्य सामाजिक कार्यका लागि सामग्री उत्पादन तथा बिक्री गर्न सक्नेछन् ।