काठमाडौं । बडादसैँका बेला यात्रुको सहज आवागमनका लागि नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । प्रहरीले कात्तिक ३ र ४ गते उपत्यकाका तीनवटा रुटमा बस सञ्चालन गरी सर्वसाधारणलाई यातायात सुविधा उपलब्ध गराएको हो ।
नेपाल प्रहरीका अनुसार निःशुल्क बस सेवा कात्तिक ३ गते दिउँसो ४ बजेदेखि तीनवटै रुटमा सञ्चालन हुनेछ । कात्तिक ४ गते भने बिहान ८ बजे पहिलो सिफ्ट र दिउँसो ३ः३० बजे दोस्रो सिफ्टमा बस चलाइनेछ ।
पहिलो रुटः नक्सालदेखि उपत्यकाका प्रमुख क्षेत्र हुँदै नक्सालसम्म
पहिलो रुट नक्सालबाट सुरु हुनेछ । बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै बस पुनः नक्साल फर्किनेछ ।
दोस्रो रुट: नक्सालदेखि सूर्यविनायकसम्म
दोस्रो रुट नक्सालबाट सुरु भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी र सूर्यविनायक चोकसम्म पुग्नेछ । त्यहाँबाट कोटेश्वर, विमानस्थल, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै बस पुनः नक्साल फर्किनेछ ।
तेस्रो रुट: नक्सालदेखि उपत्यकाका विभिन्न क्षेत्र हुँदै नक्सालसम्म
तेस्रो रुट नक्सालबाट सुरु भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, विमानस्थल, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगन्ज हुँदै पुनः नक्साल फर्किनेछ ।
दसैँका बेला सार्वजनिक यातायातको उपलब्धता कम हुने अवस्थामा निःशुल्क बस सेवाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । विशेषगरी चाडपर्वमा यात्रा गर्नुपर्ने यात्रुलाई लक्षित गरी प्रहरीले यो सेवा सञ्चालन गरेको जनाएको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!