धरान / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन विभिन्न प्रयोजनका लागि भाडामा लिएर तथा विद्युत महशुलक बापत ११ वटा व्यवसायिक संस्थानहरूले महशुल बक्यौता नतिरेको प्रतिष्ठानले जनाएको छ ।
२१ हजार रुपैयाँदेखि ६० लाख रुपैयाँसम्मको बक्यौता हालसम्म नतिरेका कारण प्रतिष्ठानलाई थप आर्थिक भार थपिएको प्रतिष्ठानले भनाई छ । ती व्यववसायीहरु विभिन्न समयमा प्रतिष्ठानसँग सम्झोता गरेर औषधी पुल, क्यान्टिनलगायत सञ्चालन गरेका थिए । हाल उनीहरु प्रतिष्ठानमा छैनन् ।
सुनसरी, मोरङ र काठमाडौंका विभिन्न फर्मले दुई करोड १६ लाख लाख ६० हजार १२३ रुपैया रकम नबुझाएको प्रतिष्ठानका रजिष्ट्रार प्राडा. सूर्यप्रसाद सङ्ग्रौलाले जानकारी दिनु भयो । उनीहरूले घरबहाल र विजुली महसुलबापतको रकम नतिरेका हुन ।
प्रतिष्ठान प्रशासनले दिएको जानकारी अनुसार रंजित अग्रवाल सञ्चालक रहेको रजत फर्मा डिस्ट्रिब्युटर्स विराटनगरको नाममा ६० लाख ९७ लाख ८ सय ५२ बक्यौता रहेको छ । यस्तै पवनकुमार अग्रवाल सञ्चालक रहेको लाइफ केयर मेडिकल्स धरानको नाममा ४१ लाख ६७ हजार, सुमी लोहनी प्रोपराइटर रहेको टेक्सन भोजनालयको नाममा २० लाख ८१ हजार बक्यौता रहेको छ । टेक लोहानीले सम्झौता गरेको उक्त फर्मले २ बर्ष अघि प्रतिष्ठान परिसरमा क्यान्टिन चलाएको थियो ।
संगिता सुब्बा संचालक रहेको राईको ईन्टरप्राईजेज ३० लाख ८७ हजार ६०१, राजु मुखिया संचालक रहेका राजु कुकिङ्ग एण्ड टेन्ट हाउस १९ लाख ५८ हजार २२७ बक्यौंता बााकी छ ।
यस्तै शशीराम भण्डारी प्रवन्धक रहेको काठमाण्डौ हाउजिङ्ग एण्ड लिजिङ्ग प्रा. लिको नाममा १२ लाख ४१ हजार ५ सय ५५ बक्यौता तिर्न वाँकी रहेको छ । यस्तै सुन्दरहरैचा, मोरङ्ग.का नवराज थापाले सुन्दर हरैचामा भएको प्रतिष्ठानको माछा पोखरी तथा जग्गाको ठेक्का बापत ८ लाख ७६ हजार ५ सय बक्यौता दिन बााकी रहेको छ ।
यस्तै अमित सागवानको नाममा रहेको अमित बुक डिपो धरान–९ को नाममा १२ लाख १४ हजार बक्यौता रहेको छ । यी सबै फर्महरू प्रतिष्ठानबाट बक्यौता नतिरी बाहिरिएको रजिष्ट्रार सङ्ग्रौलाले जानकारी दिनु भयो । वर्षौदेखि प्रतिष्ठानलाई तिर्नुपर्ने बक्यौता नतिरेको प्रतिष्ठान प्रशासनले जनाएको छ । “हामीले पटक पटक ताकेता गर्दासमेत उनीहरू बक्यौता बुझाउन आएका छैनन् । अब प्रतिष्ठान बक्यौता असुलीका लागि कानुनी प्रक्रियामा सुरु गरेको छ ।”–रजिष्टार सङ्ग्रौलाले भन्नु भयो । पटक पटक ताकेता गर्दासमेत उनीहरूले अटेर गरेको उहाँको भनाई छ । असुल उपर गर्नका लागि प्रतिष्ठानले शुक्रबार उनीहरुको नाममा ३५ दिने सूचना जारी गरेको छ ।