धरान ।  लामो समयदेखि सरकारी अस्पतालविहीन धरानमा अब सरकारी नगर अस्पताल स्थापना गर्नुपर्ने माग थप चर्किएको छ। स्वास्थ्य स्वास्थ्य विमा सेवा लिन सरकारले प्रथम सेवा विन्दु र रेफरल सेन्टरहरु तोकिए पछि धरानमा स्थानीय अस्पताल अभावमा विमितलाई समस्या भए पछि नगरवासी, सरोकारवाला र राजनीतिक तहका प्रतिनिधिहरूको संयुक्त सक्रियतामा अहिले धरानमा सरकारी अस्पताल पुनःस्थापना अभियान तीव्र पारिएको छ।

शनिबार सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा पूर्व तथा वर्तमान जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, स्वास्थ्यकर्मी, बुद्धिजीवी र नागरिक समाजका अगुवा व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रममा सहभागीहरुले नीतिगत, सामाजिक तथा स्थानीय आवश्यकताका आधारमा धरान नगर अस्पताल अनिवार्य भएकोमा जोड दिए।

धरानका बुद्धिजीवी डा. राजेन्द्र शर्माले २०७४ सालमा धरान उपमहानगरपालिकाको ४ कठ्ठा १३ धुर जग्गा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा गएको स्मरण गराउँदै भन्नु भयो–’जग्गा दिएकोमा आपत्ति छैन, तर जनतालाई त्यही अनुसारको स्वास्थ्य सेवा नपाउनु दुःखद छ।’

उहाँले कार्यक्रममा नगर अस्पताल आवश्यकताको अवधारणापत्र प्रस्तुत गर्दै संघीय, प्रदेश र स्थानीय सरकारको भूमिकाबारे स्पष्ट पाटोहरू उजागर गर्नुभयो। उहाँका अनुसार, संघ र प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्न सकिने बताउनु भयो ।

प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा सञ्जीवकुमार शर्मा र पूर्व रजिष्ट्रार प्रा।डा। विक्रमप्रसाद श्रेष्ठ पनि नगर अस्पताल स्थापनामा सहकार्य गर्न सकारात्मक रहेको उहाँले जानकारी दिनुभयो। कार्यपत्रमा नगर अस्पताल सञ्चालनका विभिन्न मोडालिटी समेत उल्लेख गरिएको छ।

कोशी प्रदेशकी सांसद यशोदा कायस्थले कोभिड महामारीको समयमा देखिएको स्वास्थ्य अस्तव्यस्तता सम्झाउँदै भनिन् –‘बिपी प्रतिष्ठानले जटिल उपचारमा काम गर्छ, तर सामान्य सेवाका लागि छुट्टै धरान अस्पताल अत्यावश्यक छ।’

उहाँले प्रधानमन्त्रीदेखि स्वास्थ्य मन्त्रीसम्म ज्ञापनपत्र बुझाइसकेको र नगर प्रमुख हर्कराज साम्पाङलाई समेत यो विषयमा जानकारी गराइसकेको बताउनुभयो।

धरान अस्पताल पुनःस्थापनाका अभियानकर्मी महेश श्रेष्ठले हाल विपी प्रतिष्ठानले धरानलाई केवल तीन महिनाका लागि बीमा सेवा दिने प्रथम सेवा विन्दु तोकेको भन्दै त्यसपछि धरानवासी बीमा सुविधा लिन अर्कै पालिकाको अस्पताल धाउनु पर्ने बाध्यता आउने बताउनुभयो। ‘बीमा सेवासहितको पहुँच धरानमै रहनु पर्छ, त्यसैले नगर अस्पताल अबको आवश्यकता हो,” श्रेष्ठको भनाइ थियो।

कार्यक्रममा पूर्व प्रदेश प्रमुख प्राडा गोविन्द तुम्बाहाङपो, संविधा सभा सदस्य किरणकुमार राई, पूर्व नगर प्रमुख मनोज मेन्याङबो, उपप्रमुख आइन्द्र विक्रम बेघा, तिलक राईलगायत वक्ताहरूले नगर अस्पताल स्थापनाका लागि स्थानीय सरकारले अग्रसरता लिनु पर्ने धारणा राख्नु भएको थियो । 

कार्यक्रममार्फत धरान नगर अस्पताल सञ्चालनका सम्भावित मोडेल, कानुनी, संरचनागत र नीतिगत पक्षहरूबारे समेत सुझाव दिइएको थियो।

अभियानका अग्रपंक्तिमा रहेका हरि कार्कीले धरान नगरका विभिन्न टोल–टोलमा पुगेर नगर अस्पतालबारे जनचेतना र राय सङ्कलनको अभियान चलाइरहेको जानकारी दिनुभयो। अभियानमा डा. राजेन्द्र शर्मा, हरि कार्की, ठाकुरबहादुर कार्की, टिकाराम राई, महेश श्रेष्ठ, वीरेन्द्र थापालगायतका अग्रजहरू सक्रिय छन्। अब अभियान हस्ताक्षर संकलन, थप अन्तरक्रिया र ज्ञापनपत्रमार्फत जनप्रतिनिधिहरूमा दबाब सिर्जना गर्ने तयारीमा रहेको छ।

धरानको बृहत् जनसंख्यालाई लक्ष्य गर्दै, संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर धरान नगर अस्पताल स्थापना गर्ने समय आएको सहभागीहरूको धारणा छ । 

522651010_10161442994111356_4885201666770243248_n