धनकुटा / नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिले अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने समय नभएको बताउनु भयो। उहाँले अहिलेको अवस्थामा पार्टीलाई सुदृढ बनाउने काममा ध्यान दिनुपर्ने बताउनु भयो।
मंगलबार धनकुटाको हिलेमा बसेको एमाले कोशी प्रदेश कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै उहाँले म राम्रोसँग पार्टी चलाउन सक्छु भन्ने आधारबिना नेतृत्वको विकल्प खोज्न नसकिने बताउनु भयो। संविधानसभा निर्वाचनपछि ओली नेतृत्वकै सरकारले जनतामा आशा जगाएको र समृद्धिको यात्रा अघि बढाएको कारण एमाले र ओलीमाथि प्रहार भएको उहाँको भनाइ थियो।
नेपालको राजनीतिक स्थिरताका लागि ओलीले खेलेको भूमिकालाई रोक्न माओवादी र जनताले अस्वीकृत दलहरु एकजुट भएको बताउनु भयो।
पूर्व राष्ट्रपति विद्या भण्डारीबारे हालको बहसमा टिप्पणी गर्दै उहाँले पार्टीले यस विषयमा पहिले नै निर्णय गरिसकेको र यस्तो बहसले पूर्व राष्ट्रपतिको गरिमा र मर्यादामा असर गर्ने बताउनु भयो। “विद्याजी भूपू भए पनि अहिले नेपाली सेनाको सुरक्षा पाउनु हुन्छ, संविधान र अभ्यासले के भन्छ भन्ने कुरा उहाँले राम्ररी बुझ्नुपर्छ,” पोखरेलले भन्नु भयो।
विधान महाधिवेशनका विषयमा उहाँले उमेर सीमा र कार्यकाल सम्बन्धी धारामा विवाद सिर्जना भएपछि पार्टी नेतृत्वले स्पष्ट पार्नु परेको बताउनु भयो। “यो आग्रह वा पूर्वाग्रह होइन, यो लोकतान्त्रिक पद्धति स्थापित गर्ने विषय हो,” उहाँले भन्नु भयो।
७० वर्ष उमेर सीमा विषयमा अध्यक्ष ओलीविरुद्ध गरिएको प्रचारलाई गलत बताउँदै उहाँले पूर्व समाजवादी नेता मुकुन्द न्यौपानेलाई प्रवेश गराइसकेपछि सो धाराको प्रयोग भइसकेको स्मरण गराउनु भयो।
विद्या भण्डारीलाई लक्षित गर्दै उहाँले पार्टी फुटाउने प्रवृत्ति अहिले पनि देखापरेको बताउनु भयो। “नेकपा कालमै पार्टीभित्रैबाट हमला भएको थियो, अहिले पनि त्यस्तै अवस्था सिर्जना गर्ने प्रयास भइरहेको छ,” उहाँले भन्नु भयो।
बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज र अध्यक्षहरु सहभागी हुनु भएको थियो। प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बैठक दुई दिनसम्म चल्ने र विधान महाधिवेशनका लागि सुझाव संकलन गरिने बताउनु भयो।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!