धरान / निरन्तरको वर्षाका कारण धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–६ मुक्तेनमा आएको पहिरोले ९ परिवार विस्थापित भएका छन्। निर्माणाधीन भेडेटार–रवि–राँके सडक खण्डको माथिल्लो भागबाट सुरु भएको पहिरोका कारण स्थानीय बासिन्दा जोखिममा परेका हुन्।
स्थानीय प्रहरी र जनप्रतिनिधिहरूका अनुसार पहिरो सोमबार दिउँसोदेखि सुरु भएको हो। त्यसयता लगातार वर्षासँगै पहिरोको जोखिम अझै कायमै रहेको छ। पहिरोका कारण केबलप्रसाद मगरको दुई तले घर पूर्ण रूपमा ध्वस्त भएको छ भने अन्य आठवटा घर उच्च जोखिममा रहेको जनाइएको छ।
विस्थापित परिवारहरूको अस्थायी बसोबासको व्यवस्था गाउँपालिकाले तत्कालै मिलाएको छ। केहीलाई अस्थायी टहरामा राखिएको छ भने केहीलाई छरछिमेक तथा आफन्तको घरमा स्थानान्तरण गरिएको छ। गाउँपालिकाका अध्यक्ष जीतेन्द्र राईले प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा सार्ने कार्यलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो।
“अहिले पनि पहिरोको खतरा यथावत् छ। तत्काल राहत तथा वैकल्पिक बसोबासको व्यवस्था मिलाउने प्रयास गरिरहेका छौं,” अध्यक्ष राईले भन्नुभयो।
स्थानीयवासीका अनुसार हालसालै सडक विस्तारका क्रममा गरिएको डोजरको प्रयोग र पानीको उचित निकासको व्यवस्था नभएकोले पहिरोको जोखिम बढेको हो। सडक निर्माणका क्रममा अपनाइन नसकिएको सावधानीका कारण बस्तीमा ठूलो विपद् निम्तिएको स्थानीयको भनाइ छ।
प्रशासन र स्थानीय तहले पहिरो प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गरी आवश्यक सहयोग र पुनःस्थापनाको काम अघि बढाइरहेका छन्।