धरान /  धरानस्थित कृषक उपज बजार केन्द्रमा यस वर्ष दशैं अघिको अन्तिम हप्तासम्म खसि–बोका ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार साँझसम्म करिब पाँच हजार गोटा खसि–बोका बिक्री भएको बजार केन्द्रले जनाएको छ ।

गत वर्ष सोही समयमा करिब पाँच हजार पाँच सय गोटा खसि–बोका बिक्री भई १२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यस वर्ष भने कारोबार केही कम भएको कृषी उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनु भयो । 

कारोबार घट्नुका कारणमा साउन महिनामा लगातार परेको झरीले ढुवानीमा समस्या आउनु, जेन जी आन्दोलनका कारण व्यवसायमा त्रास सिर्जना हुनु र यातायात केही दिन अबरुद्ध हुनु प्रमुख रहेको उहाँले बताउनु भयो । 

धरानको बजारबाट वार्षिक औसतमा १ लाख २० हजार गोटा खसि–बोका बिक्री हुने गर्छ, जसको कारोबार करिब २ अर्ब ४० करोड रुपैयाँ बराबर हुन्छ । बिक्री भएका खसि–बोका मुख्यतया तराईका दमक, उर्लावारी, ईटहरी, विराटनगर, ईनरुवा, लाहान, राजविराज र काठमाडौंलगायतका सहरमा जाने गरेका छन् ।

कोशी प्रदेशका पहाडी जिल्लाबाट ल्याइने खसिहरू बजारमा प्रतिकिलो करिब ६०० रुपैयाँ दरमा मोलमोलाई गरी बिक्री हुने गरेको छ ।