धरान  / विश्व पाथोलोजी दिवसको अवसरमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्याथोलोजी (रोगविज्ञान) विभागले पछिल्लो आर्थिक वर्षमा  ‘बायोप्सी’ तथा अन्य प्रयोगशाला परीक्षण उल्लेख्य रूपमा बढेको जानकारी दिएको छ।

बुधबार प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा विभागीय प्रमुख प्रा.डा. स्मृति कार्कीले प्रतिष्ठानले चार प्रमुख प्रकारका ल्याब सेवा सञ्चालन गरिरहेको बताइन् । हिस्टोपाथोलोजी, साइटोपाथोलोजी, हिमाटोलोजी र रगत बैंक प्रमुख रहेको उहाँले जानकारी दिनु भयो । 

बायोप्सी परीक्षणमा उल्लेख्य वृद्धि

प्रा.डा. कार्कीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा हिस्टोपाथोलोजी अन्तर्गत ८ हजार १४३ वटा बायोप्सी (मासुको जाँच) गरिएको छ, जुन अघिल्लो वर्षका ७ हजार ४५६ मात्र भएको थियो । यो परीक्षण मुख्यतः क्यान्सर र क्षयरोग (टीबी)  पहिचानका लागि गरिन्छ। त्यस्तै साइटोपाथोलोजी अन्तर्गत थाइराइड परीक्षण,USG/CT, FNAC, र शरीरका विभिन्न तरल पदार्थहरूको परीक्षण गरी ३ हजार ८५ वटा परीक्षण भएका छन्। अघिल्लो वर्ष यो संख्या २ हजार ५६२ थियो।

हिमाटोलोजी अन्तर्गत रगत, बोन म्यारो एस्पिरेशन र बोन म्यारो बायोप्सी गरी कुल ५ लाख ६३ हजार २०५ परीक्षण गरिएको विभागले जनाएको छ।

त्यस्तै रगत बैंक अन्तर्गत विभिन्न रक्तघटक (blood components)मा २ सय ७५ वटा परीक्षण भएका छन्। ‘पाथोलोजी चिकित्सा विज्ञानको मेरुदण्ड हो — किनभने कुनै पनि उपचार सुरु गर्नु अघि रोगको कारण र अवस्था बुझ्न प्रयोगशालामा हुने परीक्षण नै आधार बन्छ ।’– प्रा.डा. कार्कीले भन्नु भयो ।

क्यान्सरका परीक्षण बढ्दै

प्रा.डा. कार्कीका अनुसार पछिल्लो समय स्तन (Breast), फोक्सो (Lung), पाठेघर (Cervical) र छालासम्बन्धी क्यान्सरका परीक्षणहरू बढी हुन थालेका छन्। प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अन्जु प्रधानले अस्वास्थ्यकर खाना, विषादीको प्रयोग र वातावरणीय प्रदूषणका कारण यस्ता क्यान्सरका रोगी बढेको बताउनु भयो । उहाँका अनुसार प्रतिष्ठानमा स्तन, फोक्सो, पाठेघरलगायतका क्यान्सरका ल्याब परीक्षण र विशेषज्ञ सेवा उपलब्ध छन्, र आगामी दिनमा सेवा विस्तार गर्ने तयारी भइरहेको छ।

पाथोलोजी परीक्षणको महत्त्व

प्रतिष्ठानका सह–प्रवक्ता तथा शल्यक्रिया विभागका डा. अभिजित कुमारका अनुसार पाथोलोजी परीक्षण क्यान्सर, संक्रमण, मधुमेह, कलेजो र मिर्गौलाजस्ता रोगदेखि लिएर सामान्य ज्वरोसम्मको निदानका लागि अत्यावश्यक हुन्छ। प्याथोलोजिस्ट चिकित्सकले प्रयोगशालामा प्राप्त रिपोर्टको विश्लेषण गरी अन्य चिकित्सकलाई रोगको स्वरूप र प्रकृतिबारे जानकारी दिन्छन्। त्यस्तै, ल्याब टेक्नोलोजिस्ट र टेक्निसियनहरूले नमुना सङ्कलनदेखि परीक्षण र रिपोर्ट तयारीसम्मको जिम्मेवारी वहन गर्छन्।

 ‘सही रिपोर्ट नै सही उपचारको ढोका’

स्वास्थ्यकर्मीहरूका अनुसार सही रिपोर्टले मात्र सही उपचार सम्भव हुन्छ। डा. कार्की भन्नुहुन्छ–‘रगतको एउटा थोपा, ल्याबको एउटा नमुना र माइक्रोस्कोपमुनिको एक नजरले हजारौं जीवन बचाउन सक्छ - यही कारण पाथोलोजी स्वास्थ्यसेवाको लुकेको आधारस्तम्भ हो।’

वीपी प्रतिष्ठानमा उपचार सेवासँगै प्याथोलोजी विषयमा एमडी तहसम्मको अध्ययन–अध्यापन सञ्चालन हुँदै आएको छ। यहाँबाट प्रत्येक वर्ष विशेषज्ञ प्याथोलोजिस्ट चिकित्सकहरू उत्पादन हुँदै आएका छन्।

smriti karki