धरान । पूर्वी नेपालको स्वास्थ्य सेवाको मेरुदण्ड मानिने वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धेरैका लागि केवल अस्पताल मात्र होइन, यो आशा, भरोसा र जीवनको आधार हो । विशेषगरी आर्थिक रूपमा कमजोर, जटिल रोगसँग संघर्ष गरिरहेका र उपचारका लागि विकल्प खोजिरहेका बिरामीहरूका लागि यो संस्था एक धरोहर बनेको छ । यही धरोहरलाई अझ बलियो बनाउने चिकित्सकमध्ये एक हुन् डा. सोनिया दुलाल । जसको समर्पण, विशेषज्ञता र मानवताप्रतिको संवेदनशीलताले हजारौँ जीवनमा नयाँ उज्यालो भरेको छ ।

मेडिसिन विभागकी सहप्राध्यापक डा. दुलाल विगत पाँच वर्षभन्दा बढी समयदेखि प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ । उहाँको आगमनअघि पूर्वी नेपालका क्यान्सर बिरामीहरूका लागि अवस्था अत्यन्त चुनौतीपूर्ण थियो । विशेषज्ञ सेवा अभावका कारण धेरै बिरामीहरूलाई काठमाडौँ वा विदेशसम्म जानुपर्ने बाध्यता थियो । यस क्रममा आर्थिक बोझ, लामो यात्रा, मानसिक तनाव र उपचारमा ढिलाइ जस्ता समस्याले बिरामी र परिवारलाई दोहोरो पीडामा पाथ्र्यो । तर, डा. दुलालको प्रतिष्ठानमा सेवा सुरु भएसँगै सुलव रुपमा विरामीले सेवा पाएका छन् । 

उहाँले क्यान्सर उपचारलाई स्थानीय स्तरमै प्रभावकारी बनाउँदै हजारौँ बिरामीहरूलाई आफ्नै क्षेत्रमा उपचार पाउने अवसर दिनुभएको छ । जटिल अवस्थाका बिरामीहरूलाई पनि सहज र व्यवस्थित उपचार उपलब्ध गराउन सफल हुनुभएको छ । बिरामीहरूका लागि मात्र होइन, सहकर्मी चिकित्सकहरूका लागि समेत उहाँ प्रेरणाको स्रोत बन्नुभएको छ । “हाम्रो आफ्नै ठाउँमा क्यान्सरको उपचार सम्भव छ” भन्ने विश्वास उहाँले स्थापित गर्नुभएको छ । 

डा. दुलालको योगदान केवल अस्पतालभित्र सीमित छैन् । उहाँले क्यान्सर उपचारमा पहुँच विस्तार गर्न नवीन सोचका साथ काम गरिरहनु भएको छ । सबै बिरामी अस्पतालसम्म आउन सक्षम हुँदैनन् भन्ने यथार्थलाई स्वीकार्दै उहाँकै नेतृत्वमा “होम–केयर सेवा” सुरु गरिएको छ । यस सेवामार्फत स्वास्थ्यकर्मीहरू बिरामीको घरमै पुगेर उपचार तथा परामर्श दिने गरिउको उहाँ बताउनुहुन्छ । विशेषगरी धरान र आसपासका क्षेत्रका बिरामीहरूका लागि यो सेवा अत्यन्त प्रभावकारी सावित भएको छ । यसले उपचारलाई केवल अस्पतालको सीमामा नराखी समुदायसम्म पु¥याएको छ ।

उहाँको अर्को महत्वपूर्ण योगदान ज्ञानको प्रसार हो । डा. दुलालको विश्वास छ कि क्यान्सर जस्तो जटिल रोगको व्यवस्थापनमा एकजनाको विशेषज्ञता पर्याप्त हुँदैन, त्यसलाई साझा गर्नु भन्ने मान्यता उहाँले राख्दैं आउनु भएको छ । यही सोचका साथ उहाँले एमबिबिएस विद्यार्थी, नर्सिङ स्टाफ, एमडी अध्ययनरत चिकित्सकहरू तथा कोशी प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूलाई तालिम प्रदान गर्दै आउनुभएको छ । यसले क्यान्सर उपचारको गुणस्तरमा सुधार ल्याउनुका साथै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको स्वास्थ्यकर्मीहरु बताउनुहुन्छ । 

शैक्षिक उपलब्धि

संस्थागत विकासमा पनि उहाँको योगदान उल्लेखनीय छ । उहाँकै नेतृत्वमा प्रतिष्ठानमा एङकोलोजीमा डिए (DM Oncology) कार्यक्रम सुरु गरिएको छ । दक्ष जनशक्ति उत्पादनमासमेत उहाँको योगदान रहेको छ । साथै, क्यान्सर बिरामीहरूका लागि “डे–केयर उपचार प्रणाली” सुरु गरी उपचारलाई थप व्यवस्थित र सहज बनाइएको छ । यी पहलहरूले प्रतिष्ठानलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धी बनाउन सहयोग पु¥याएको छ ।

डा. दुलालको शैक्षिक र व्यावसायिक यात्रा पनि उत्तिकै प्रेरणादायी छ । उहाँले काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस र एमडी अध्ययन पूरा गर्नुभएको हो भने नेसनल एकेडेमी अफ मेडिकल साइन्स  वीर अस्पतालबाट मेडिकल अन्कोलोजीमा डीएम (फेलोसिप) हासिल गर्नुभएको छ । उहाँले आफ्नो अध्ययनकालमा विभिन्न स्वर्ण पदकहरू प्राप्त गर्नुभएको छ । जर्मनीको भिजन फर द वल्ड संस्थाबाट एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, नेपाल सरकारबाट डीएम अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्नु उहाँको शैक्षिक उत्कृष्टताको प्रमाण हो । उहाँले  अमेरिकलन सोसाइटीमा क्लिनिकल एङ्कोलोजीको प्रतिष्ठित एवार्ड प्राप्त गर्ने पहिलो नेपाली मेडिकल अन्कोलोजिस्टको रूपमा इतिहास बनाउनुभएको छ । साथै, युनियन फर इन्टरनेसनल क्यान्स कन्ट्रोल को टेक्निकल फेलोशिप अवार्ड पनि उहाँले प्राप्त गर्नु भएको छ । 

उहाँको अन्तर्राष्ट्रिय संलग्नता उल्लेखनीय छ । क्यानडा, अमेरिका, सिंगापुरलगायतका देशका क्यान्सर विशेषज्ञहरूसँग सहकार्य गर्दै उहाँले नेपालमा क्यान्सर व्यवस्थापनलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने प्रयास गर्दै आउनुभएको छ । महामारीको कठिन समयमा उहाँले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने अभियानमा नेतृत्व गर्दै सयौँ स्वास्थ्य संस्थाहरूलाई सहयोग पु¥याउनुभएको थियो ।

अनुसन्धानमा अब्बल 

अनुसन्धानको क्षेत्रमा पनि उहाँ सक्रिय हुनुहुन्छ । विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरूमा उहाँका अनुसन्धान प्रकाशन भएका छन् । नेपालमा क्यान्सर उपचारको अवस्था र चुनौतीहरूलाई विश्वसामु उजागर गरेको छ । उहाँ हाल पनि स्तन क्यान्सर सम्बन्धी महत्वपूर्ण अनुसन्धान परियोजनाहरूमा संलग्न हुनुहुन्छ । भविष्यमा क्यान्सर उपचारलाई अझ प्रभावकारी बनाउने अपेक्षा सहित विभिन्न अनुसनधानका काम गरिरहनु भएको छ । 

यति धेरै उपलब्धिहरूका बाबजुद पनि उहाँको सबैभन्दा ठूलो विशेषता भनेको उहाँको सेवा भावना हो । विदेशमा उच्च अवसरहरू हुँदाहुँदै पनि उहाँले नेपालमै बसेर सेवा गर्ने निर्णय लिनुभयो । राजधानी काठमाडौँ छोडेर पूर्वी नेपालको सेवा अभाव भएको क्षेत्रमा काम गर्नु उहाँको प्रतिबद्धता र सामाजिक उत्तरदायित्वको एउटा गतिलो उदाहरणको रुपमा लिन सकिन्छ । 

‘स्वास्थ्य सेवा सबैको अधिकार हो, र यो अधिकार भूगोल वा आर्थिक अवस्थाले सीमित हुनु हुँदैन ।’–उहाँ भन्नु हुन्छ ।  यही सोचका साथ उहाँ ग्रामीण तथा विपन्न समुदायका बिरामीहरूलाई गुणस्तरीय उपचार उपलब्ध गराउन निरन्तर प्रयासरत हुनुहुन्छ ।  डा. सोनिया दुलाल केवल एक चिकित्सक मात्र होइनन् । उहाँको समर्पण र अथक प्रयासले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अझ विश्वासिलो र प्रभावकारी स्वास्थ्य संस्था बनाएको छ । 

    २०७७ साल साउनदेखि वीपी प्रष्तिठानमा डा. सोनियाले काम सुरु गनुृ भएको थियो । प्रतिष्ठानको रेर्कड अनुसार २०७८ मा ३ हजार ७ सय विरामीको उपाचार भयो । २०७९ मा ४ हजार ३ सय ८५ क्यान्सर रोगकिो उपचार भयो । २०८० मा ६ हजार ३ सय ९१, २०८१ ६ हजार ९ सय ८२ र २०८२ सालमा  बढेर ९ हजार २ सय १५ जनाको उपचार भएको छ । कोशी प्रदेश र मधेशका केही क्षेत्र र विहारका विरामी यहाँ सेवा लिन आउने गरेको उहाँले बताउनु भयो । डा. सोनियाका अनुसार प्रतिष्ठानमा हाल रेडियोथेरापी, पेटसिटी स्क्यान मेसिन, बोन स्क्यान मेसिन ल्याउने तयारी भइरहेको उहाँकाे भनाई छ ।