धरान /  जातीय पहिचान, सामाजिक मुद्दा र सांस्कृतिक चेतनाका क्षेत्रमा सक्रिय खस समाज प्रतिष्ठान नेपालले आफ्नो ९औँ स्थापना दिवस धरानमा विशेष समारोहका साथ मनाएको छ ।

कार्यक्रमको प्रमुख आतिथ्य पूर्वमन्त्री डा. केशरबहादुर विष्ट रहेका रहनु भएको थियो ।  प्रतिष्ठानले समाजमा दीर्घ समयदेखि योगदान पुर्‍याउँदै आएका एक सय भन्दा बढी ज्येष्ठ खस समुदायका व्यक्तिहरूलाई सम्मान गरेको छ । 

कोशी प्रदेश संयोजक हरिबहादुर कार्कीका अनुसार, समाजमा विशिष्ट योगदान गर्ने व्यक्तिहरूलाई सम्मानित गरिएको थियो। 

समारोहलाई सम्बोधन गर्दै डा. विष्टले वर्तमान राजनीतिक अवस्था जटिल हुँदै गएको उल्लेख गर्दै मुलुक नेतृत्वविहीनता र अराजकताको जोखिममा तानिँदै गएको उल्लेख गर्नु भयो । उहाँले देशलाई स्थिरतामा लैजान राजतन्त्र पुनर्स्थापनाको विकल्प अब अपरिहार्य जस्तै भएको धारणा व्यक्त गर्नु भएको थियो ।  

त्यसैगरी प्रतिष्ठानका केन्द्रीय सल्लाहकार किशोरकुमार कार्कीले खस क्षेत्री समुदायलाई ‘सुतिरहेको सिंह’ भन्दै देश निर्माणका लागि सचेत र सक्रिय बन्न आह्वान गर्नु भयो । 

कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघा, संयुक्त खस समाजका केन्द्रीय उपाध्यक्ष प्रताप थापा, प्रदेश संयोजक हरिबहादुर कार्कीलगायतका वक्ताहरूले शुभकामना व्यक्त गर्नु भएको थियो । 

प्रतिष्ठानका अध्यक्ष वीरेन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपस्थिति र सहभागिताका दृष्टिले उल्लेखनीय रहेको आयोजकले जनाएको छ । 

कार्यक्रममा सहभागीलाई प्रतिष्ठानका केन्द्रीय उपसचिव लक्ष्मी बानियाले देशभरिका खस क्षेत्री समुदायलाई एकताबद्ध भएर राष्ट्र तथा समाजका लागि योगदान गर्न आग्रह गर्दै उपस्थित अतिथिहरूलाई स्वागत गनुृ भयो । प्रतिष्ठानका केन्द्रीय सचिव हिमाल कार्कीले सञ्चालन गरेको कार्यक्रममा जातीय तथा राष्ट्रिय पहिचान झल्कने पोषाक लगाएका खस क्षेत्रीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको विचविचमा कलाकारहरुले राष्ट्रियताप्रति आस्था जगाउने गित नृत्य प्रस्तुत गरेका थिए ।