हङकङ । नेपाल–तिब्बत सीमावर्ती क्षेत्रबाट भदौ १० गते त्रिशूली तथा भोटेकोशी नदी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) हङकङले तीव्र रूपमा राहत तथा पुनरोद्धार अभियान अगाडि बढाएको छ।

बुधबार साँझ जॉर्डनस्थित आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एनआरएनए हङकङले प्रारम्भिक रूपमा तोकेको २० लाख रुपैयाँ (करिब १ लाख २० हजार हङकङ डलर) को लक्ष्यभन्दा बढी रकम सङ्कलन भइसकेको जानकारी दिएको छ। सङ्कलित सम्पूर्ण रकम आउँदो शुक्रबार (सेप्टेम्बर ४) भित्र एनआरएनए आइसिसीमार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने सङ्घले जनाएको छ।

विपत्को यस कठिन घडीमा एनआरएनए हङकङ महिला फोरमले सेप्टेम्बर १३ का लागि तय गरेको ‘तीज विशेष कार्यक्रम’ लगायत सम्पूर्ण मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरू रद्द गरिएका छन्। हङकङका अन्य धेरै नेपाली सङ्घ(संस्थाहरूले पनि आफ्ना पूर्व निर्धारित कार्यक्रम स्थगित गर्दै राहत कोषमा सहयोग जुटाइरहेका छन्। भविष्यमा आउन सक्ने यस्ता विपद्हरूको तत्काल र प्रभावकारी व्यवस्थापनका लागि हङकङका मुख्य संस्थाहरूको सहकार्यमा एक स्थायी आकस्मिक प्रतिक्रिया समिति गठन गर्ने  पहलसमेत सुरु गरिएको जनाएको छ । 

बाढीपीडितको सहयोगका लागि हङकङ सरकारले ५ करोड हङकङ डलर सहयोगको घोषणा गरेकोमा हङकङ सरकारप्रति विशेष आभार प्रकट गरेको छ। साथै, प्रसिद्ध समाजसेवी तथा व्यवसायी ली का–सिङ र उहाँको व्यावसायिक समूहले राहत तथा पुनरोद्धारका लागि प्रदान गरेको ३ करोड युआनको मानवीय सहयोगप्रति पनि सङ्घले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

वैश्विक रूपमा एनआरएनए आइसिसीले प्रारम्भमा ५ करोड रुपैयाँको राहत कोष खडा गर्ने लक्ष्य राखेकोमा विश्वभरका नेपालीहरूको अभूतपूर्व सहयोगले हालसम्म ७ करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन भइसकेको छ। जसमध्ये पहिलो किस्ताबापत १ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण भइसकेको छ।

एनआरएनए हङकङका प्रवक्ता मनोज सूर्यवंशी मगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘हामीले भोगिरहेको यो प्राकृतिक विपत्ति कुनै संयोग मात्र होइन, तीव्र रूपमा भइरहेको जलवायु परिवर्तनको प्रत्यक्ष असर हो। यसले हाम्रा हिमाल पगालिरहेको छ र हिमताल फुटेर बेमौसमी बाढी–पहिरोको जोखिम बढाएको छ। यस सङ्कटसँग जुध्न सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय एकजुट हुनुपर्छ।’

सङ्घले बेपत्ता नागरिकहरूको खोजी कार्यलाई तीव्रता दिन, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन र राहत वितरणलाई पारदर्शी बनाउन नेपाल सरकारसँग जोडदार माग गरेको छ।

पत्रकार सम्मेलनमा हङकङस्थित नेपाली कार्यवाहक महावाणिज्यदूत सतिस गुरुङ, याउ सिम मोङकी जिल्ला काउन्सिलर अरुणा गुरुङ, हङकङ नेपालीज फेडरेसनका कार्यवाहक अध्यक्ष भबेन्द्र थाम्सुहाङ, नेफिन हङकङका अध्यक्ष एमबी थापा र हङकङ नेपालीज चेम्बर अफ कमर्सका अध्यक्ष शशीमदन राईलगायतको उपस्थिति रहेको थियो ।