धरान / धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा अन्तरविद्यालयस्तरीय हिबिस्कस क्विज मेनिया प्रतियोगिताको पाँचौँ संस्करण आगामी पुस ९ र १० गते सञ्चालन हुने भएको छ ।
विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी यस वर्ष प्रतियोगितालाई खुला रूपमा सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । यसअघि धरान नगरस्तरीय रूपमा आयोजना हुँदै आएको प्रतियोगिता गत वर्षदेखि सुनसरी जिल्लास्तरीय बनाइएको थियो । यस वर्ष भने सहभागिताको दायरा थप फराकिलो बनाइएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका सचिव शिक्षक नयनराज राईले प्रतियोगितामा देशका विभिन्न स्थानका विद्यालयलाई सहभागी गराउने उद्देश्यले खुला रूपमा आयोजना गर्न लागिएको बताउनुभयो ।
प्रतियोगिताका संयोजक सुवास मोक्तानले २०७९ सालदेखि सुरु भएको क्विज मेनियालाई पाँचौँ संस्करणसम्म निरन्तरता दिन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । प्रतियोगितामा सोधिने प्रश्न लोकसेवा आयोगको खरिदार पदको प्रथम पत्रको पाठ्यक्रममा आधारित हुने उहाँले जानकारी दिनुभयो । यसले विद्यार्थीलाई सामान्य ज्ञान अभिवृद्धि गर्नुका साथै भविष्यमा लोकसेवा परीक्षाको तयारी गर्नसमेत सहयोग पुग्ने उहाँको भनाइ छ ।
विद्यालयका प्रबन्ध निर्देशक गंगाराम राईले विद्यार्थीमा विद्यालय तहदेखि नै लोकसेवा परीक्षाप्रति रुचि जगाउने र बौद्धिक क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगिताले विद्यार्थीको अध्ययनशीलता, सामान्य ज्ञान र प्रतिस्पर्धात्मक क्षमताको विकासमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
दुई दिन सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन समूहगत लिखित प्रश्नोत्तर चरणबाट उत्कृष्ट छ टोली छनोट गरिनेछ । छनोट भएका टोलीबीच पुस १० गते अन्तिम चरणको प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १५ हजार, तेस्रोले १० हजार, चौथोले छ हजार, पाँचौँले चार हजार र छैटौँ हुने टोलीले दुई हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
गत वर्षको प्रतियोगितामा मोरङको सुन्दरहरैँचास्थित साजिलाल माध्यमिक विद्यालय विजेता बनेको थियो । यस वर्ष करिब एक सयभन्दा बढी विद्यालयको सहभागिता रहने आयोजकको अपेक्षा छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!