बीबीसी / पश्चिमी बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ बोबाङस्थित भूजीखोलामा आएको बाढीले बगाएर कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरीले बताएको छ। एक दर्जनभन्दा बढी व्यक्ति बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए।
बाढीपहिरोमा झण्डै ३० घर पूर्ण रूपमा क्षति भएका एवम् बेपत्ता र मृतकको सङ्ख्या अझै बढ्न सक्ने चौधरीले बताए। कोरोनाभाइरस महामारीबीच आएको बाढीमा बेपत्ताहरूको उद्धारमा कठिनाइ उत्पन्न भएको उनको भनाइ छ।
आइतबारदेखि बाढी र पहिरोको खतरा उच्च, पीडित भन्छन् 'जोखिम टरेपछि पनि जाने ठाउँ छैन ।'
मध्यरातमा बाढी
बुधवार मध्यरातमा भूजीखोलामा बाढी आउँदा केही साना जलविद्युत आयोजनाको विद्युत गृह, झोलुङ्गे पुल र विद्यालय पनि बगाएको बताइएको छ। बाढीसँगै उक्त क्षेत्रमा पहिरो पनि एको अधिकारीहरूले बताएका छन्।
बुर्तिबाङ प्रहरी चौकीका प्रमुख प्रकाशसिंह भण्डारीले प्रहरीको टोली घटनास्थलतर्फ गएर विवरण सङ्कलन गर्ने र उद्धारको काम गरिरहेको जानकारी दिए। उक्त नगरपालिकाको वडा नम्बर(१ देखि वडा नम्बर(९ सम्म छुने ठाडो खोलामा बाढी आएकाले कहाँ कहाँ क्षति भएको भनी यकिन गर्न नै कठिन भएको भण्डारीले बताए।
अधिकारीहरूका अनुसार घटनास्थलतर्फ प्रहरी र नेपाली सेनाको टोली उद्धारका लागि पठाइएको छ। बाढीले पुर्याएको थप क्षतिको विवरण आइनसकेको अधिकारीहरूको भनाइ छ।
ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सडकसमेत बाढीले बगाएको हुँदा घटनास्थलसम्म पुग्नै कठिन भएको बताए। उनले भने, 'उद्धारको काम स्थानीयवासी, जनप्रतिनिधि र प्रहरीबाट भइरहेको छ, हामी हिँडेरै त्यस ठाउँमा पुग्दैछौँ, त्यहाँ पुगेपछि पीडितका लागि खाद्यान्न एवम् बस्ने लगायतका व्यवस्थाबारे छलफल गर्ने तयारीमा छौँ।'