धरान  / कोरोनामहामारीका विच यातायात व्यवस्था विभागले आगामी २० असोजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने संकेत गरेको छ ।

विभागले दसैँ–तिहारमा घर जान चाहनेहरूका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने गरी यातयात व्यवसायीसँग प्रस्ताव गरेको छ ।

कोरोना भाइरस संक्रमण कारण विगतका वर्षहरूमा जस्तो यात्रुको चाप नहुने, उपत्यकाबाट बाहिनेको संख्या कमी हुन सक्ने भएकाले छिटो जाने यात्रुहरूका लागि चाँडै नै बुकिङ खुला गरी यात्रुलाई सहज बनाउनुपर्ने यातायात व्यवस्था विभागको प्रस्ताव रहेको छ ।

विगतका वर्षहरूमा दसैँको समयमा झन्डै २५ लाखबराबरले काठमाडौं उपत्यका छाड्ने भए पनि यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण बढीमा पाँचदेखि सात लाख मात्र उपत्यका बाहिर जाने बताइउको छ ।

कोरोना संक्रमणपछि कतिपय मानिस उपत्यकाबाहिर गएको र उतै बसेकाले पनि यसपटकको दसैँमा धेरै चहलपहल नहुने बताइएको छ ।

यता यातायात व्यवस्था विभागले २० असोजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने प्रस्ताव गरेको भए पनि व्यवसायीले भने असहमति जनाउदैं आएका छन् ।

व्यवसायीले आधा सिट ५० प्रतिशतमात्र यात्रु राखेर सवारीसाधन सञ्चालन गर्न नसकिने भन्दै व्यवसायीले विमति राखेका हुन् ।

हवाई क्षेत्रमा आधा सिट लागू नभएको यातायात क्षेत्रलाई मात्र आधा सिटक्षमता नियम लागू भएको भन्दै व्यवसायीले असन्तुष्टि पोख्दै आएका छन् ।

व्यवसायीले आफूहरूले सिटक्षमताअनुसारको सबै यात्रु राख्न पाउनुपर्ने भन्दै नेपाल यातयात राष्ट्रिय महासंघ अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यसहितको हस्ताक्षरमा भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा पत्रसमेत बुझाएका थिए ।

व्यवसायीहरूले सिटक्षमताअनुसारकै यात्रु लाने र त्यसो भए मात्र सरकारले तोकेको भाडामै यात्रुलाई गन्तव्यसम्म पुऱ्याउन सकिने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताउछन् ।

कर्माचार्यले सरकारले २० असोजदेखि अग्रिम टिकट बुकिङ गर्ने प्रस्ताव ल्याएको भए पनि सहमति भने बनिनसकेको जनाए ।