सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिरमा कात्तिके हरिबोधिनी एकादशी मेलाको तयारी पूरा भएको छ । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला यस वर्ष यही मंसिर ७ गतेदेखि मंसिर ११ गते पूर्णिमासम्म लाग्ने छ ।
वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठका अनुसार मेलाका लागि बजार, कोशी नदीमा घाटको व्यवस्थापन विद्युत्, खानेपानीलगायत उपसमिति गठन गरिएको छ । मेलाका लागि संरक्षण मञ्चले स्वास्थ्यको जिम्मेवारी वराहक्षेत्र उपस्वास्थ्य चौकीलाई, खानेपानीको जिम्मेवारी वराहक्षेत्र मन्दिर खानेपानी समितिलाई, सरसफाइको जिम्मेवारी वराहक्षेत्र वातावरणीय सरसफाइ संस्थालाई, सुरक्षाको जिम्मेवारी प्रहरी चौकी वराहक्षेत्र, इलाका प्रहरी कार्यालय चतरा महेन्द्रनगरलाई दिएको छ ।
मेला भर्नका लागि आउने भक्तजनका लागि नदीमा सुरक्षित स्नानका लागि बाँसको बार, उज्यालोका लागि बिद्युतको व्यवस्थापन लगायतका कार्य पूरा भएको आयोजकले जनाएको छ । मेलाका लागि बगर सम्याउने, रङ लगाउने, मन्दिर श्रृङ्गार्ने र नियमित सरसफाइ गर्ने कार्य गरेको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताउनु भयो ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!