धरान / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)लाई मध्यपहाडी क्षेत्रका विकासका सम्भावना र चुनौतीसहित सात सय ५१ योजना तथा कार्यक्रम समेटेर प्रतवेदन बुझाउनु भएकाे छ ।
गत मङ्सिर १४ देखि पुस १ गतेसम्म सुदूरपश्चिमको झुलाघाटदेखि सुदूर पूर्वको चिवाभञ्ज्याङसम्म एमालेले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताबाट प्राप्त माग, ज्ञापन र सुझाव एवं देखिएका समस्यालाई लिपिबद्ध गरी सो पार्टीले सरकारलाई हस्तान्तरण गरेको हो। पुष्पलाल (मध्यपहाडी) लोकमार्गको अद्यावधिक स्थिति र कतिपय स्थानमा पुनः रेखाङ्कन तथा सुधार गर्नुपर्ने विषयमा समेत एमालेले नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ। सो क्रममा मध्यपहाडी क्षेत्रले सबैभन्दा बढी एक सय ५७ वटा माग सडकसँग सम्बन्धित र २५ वटा मोटरेबल पुल प्राथमिकतामा राखेर ध्यानाकर्षण गराइएकाे छ ।
सो सुझावमा सडक, शिक्षा, पर्यटन, कृषि तथा फलफूल, स्वास्थ्य, उद्योग, ऊर्जा, मोटरेबल पुल, सिँचाई, भवन निर्माण, संस्कृति संरक्षण तथा प्रवद्र्धन, भूमि व्यवस्था, बस्ती विकास, खेलकुद, जातीय विभेद, छुवाछूत तथा हिंसाविरुद्ध, खानेपानी व्यवस्थापन तथा स्रोत संरक्षण, भूकम्पप्रभावित क्षेत्रलगायत ठाउँमा पुनःनिर्माण तथा पुनःस्थापना, सुरुङ मार्ग निर्माण, भूक्षय नियन्त्रण तथा तटबन्ध निर्माणलगायत विषयमा मुख्य माग रहेका छन् ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!