• गोपाल श्रेष्ठ 

अध्यक्ष पदका उम्मेद्वार 

सुनसरी उद्योेग बाणिज्य संघ, धरान 

व्यवसायिक यात्रा 

मेरो धरान उपमहानगरपालिका–१२, छिमेकी लाइनमा बसोवास छ । मेरो व्यवसायिक यात्रा फुटपाथबाट सुरु भएको हो। २०४७ सालमा सानो चिया पसलबाट सुरु गर्दै आजका दिनसम्म आइपुग्दा मैले अरुण पेट्रोलियम ट्रेडिङ सेन्टर, धरान प्रिन्टेड प्रेस, अपुश्री आयल सेन्टर, रामपुर आयल सेन्टर, विष्णु दुबानी लगायत दर्जनौं व्यवसाय सञ्चालन गर्दै आएको छु। सयौं युवालाई रोजगारी दिन पाउँदा गर्व लाग्छ।

सुनसरी उद्योग वाणिज्य संघसँगको निकटता 

मैले संघको सदस्यता २०४७ सालमै लिएको हु । त्यसपछि संघभित्र सदस्य, सल्लाहकार, उद्योग सचिव, कोषाध्यक्ष, र प्रथम उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरें। यो अवधिमा संघको नीति सुधार, व्यवसायमैत्री वातावरण निर्माण, सदस्यको हित रक्षा र संस्थागत स्थायित्वमा योगदान दिन सकेको छु भन्ने लाग्छ। यतिका लामो समय संघलाई दिदा यहाँ व्यवसाय, उद्योग र तीनका समस्याबारे अध्ययन गर्ने मौका पाएको छु । त्यही अध्ययन र अनुभवलाई सदुपयोग गर्न सुनसरी उद्योग बाणिज्य संघको आगामी कार्यकालका लागि नेतृत्वका लागि मैदानमा निस्किएको छु ।

सामाजिक क्षेत्रमा सक्रिय 

व्यवसाय मात्र होइन, समाजप्रति उत्तरदायी हुनु पनि जरुरी छ। म नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको केन्द्रीय सदस्य, पूर्वाञ्चल पेट्रोलियम व्यवसायी संघको वरिष्ठ उपाध्यक्ष, पेट्रोलियम डिलर्स एसोसिएसन कोशीको कोषाध्यक्ष, धरानको आसरा सुधार केन्द्रको सञ्चालक सदस्य, सुनसरी गल्फ संघको  कार्यसमिति सदस्य, र नेवाः देय दवु, धरानको सल्लाहकारको रूपमा सक्रिय छु। यी भूमिकाबाट मैले भाषा, संस्कृति, स्वास्थ्य र सामाजिक सद्भावमा योगदान दिने मौका पाएको छु। व्यापार व्यवसायसँगसँगै समाजलाई बुझ्ने, समाजसँग घुलमिल हुने मौका पाएको छु । 

यो केवल पदको आकांक्षा होइन। संघलाई अझ व्यवस्थित, उत्तरदायी, पारदर्शी र व्यवसायी हितमैत्री बनाउने मेरो सोच हो। लामो अनुभवको बलमा संघको नेतृत्व लिएर व्यवसायी समुदायका समस्या समाधान गर्ने र नवीन कार्ययोजना कार्यान्वयन गर्ने उद्देश्यले उम्मेदवारी दिएको हुँ। यहाँ व्यवसायीहरुका समस्या  समाधानका लागि तीनै तहका सरकारसँग समन्वय गर्न नेतृत्वमा जान खोजेको हुँ ।

यस्ता छन् प्रमुख प्रतिबद्धताहरू 

केही योजनाहरु बनाएको छु । विगतका अनुभवबाट पाठ सिकेर धेरै भन्दा धेरै व्यवसायी, उद्योगीहरुको हकहितका लागि काम गर्ने मेरो सोच छ । उद्योगी–व्यवसायीको हकहितमा प्रभावकारी पैरवी गर्ने मेरो पहिलो प्राथमिकता हुने छ । स्थानीयदेखि संघीय सरकारसम्म समन्वय गरी व्यवसायमैत्री नीति निर्माण गर्ने छु ।  सूचना प्रवाहमा पारदर्शिता र संघलाई पूर्ण रूपमा डिजिटल बनाउने मेरो योजना छ । प्रशासनसँग सहकार्य गरेर कर, सुरक्षा र बजार नियमनमा संवाद गदैं सहज बनाउने मेरो जिम्मेवारी हुने छ । 

यस्तै नयाँ उद्यमीलाई स्टार्टअप प्रोत्साहन र सहुलियत योजना ल्याउने छु । व्यापार मेलाहरूको आयोजना र ‘बि टु बि’ कार्यक्रम सञ्चालन गरिने छ । व्यवसायीको छवि सुधारका लागि सामाजिक उत्तरदायित्वमा जोड दिइने छ । यस्तै हटलाइन सेवा र डिजिटल गुनासो प्रणाली सुरु गरेर व्यवसायीलाई समस्या पर्दा तत्कालै सम्बोधन गरिने छ । संघसँग आबद्ध २८ वटा बस्तुगत संघसँग समन्वय र साझा कार्यदल निर्माण गरे संघलाई सबैको साझा बनाउने मेरो योजना रहेको छ । यस्तै युवाहरुको छुट्टै टिम बनाउने छु । अर्को हरेक व्यवसायीहरूलाई सामूहिक विमा प्रणालीमा ल्याउने छ । संघ मार्फत विमा गरिने छ । 

यसैगरि, धरानको वडा नं १३ र ४ लाई पर्यटकीय क्षेत्रको रुपमा विकास र घोषणा गर्न पहल गर्ने, उद्योगी र व्यवसायीहरुको हित हुने गरि वैज्ञानिक कर नीति बनाउन सरकारसँग पहल गर्ने, विभिन्न स्वास्थ्य संस्थाहरुसँग सहकार्य गरी हाम्रा सदस्यहरुलाई स्वास्थ्य उपचारमा छुटको व्यवस्था गर्ने, महिला उद्यमीहरुलाई प्रोत्साहन एवं क्षमता अभिवृद्धि गर्न पहल गर्ने र समय सापेक्ष संघको विधान संशोधन गर्नेलगायत मेरा मुख्य एजेण्डाहरु छन् । 

संघको संगठनात्मक सुदृढीकरण 

संघको विभिन्न तहमा बसेर काम गरिसक्नु भएका अग्रजहरूको अनुभवबाट सिक्नेछु। त्यसैले उहाँहरूलाई समेटेर छुट्टै सल्लाहकार समिति बनाउनेछु। साथै, संघसँग आबद्ध बस्तुगत संघहरूमध्ये खारिएका व्यक्तित्वहरूलाई पनि विशेष भूमिकामा ल्याउने योजना छ। पूर्व अध्यक्षहरु हाम्रा मार्गदर्शक हुन । उहाँहरुको पनि टिम बनाएर उहाँहरुले हासिल गरेको विज्ञता सदुपयोग गरिने छ । संस्थागत संरचना मजबुद बनाउन यो अपरिहार्य छ।

व्यवसाय क्षेत्रका ठोस समस्या समाधानका प्राथमिकता 

धेरै व्यवसायीहरूको गुनासाहरु छन् । उहाँहरका समस्यालाई नजिकबाट हेरिरहेको छु । अहिले सुनचाँदी व्यवसायको समस्या, मोवाइल पसलको समस्याहरु आएको गुनासो छ । ती समस्या समाधानका लागि मेरो नेतृत्वको टिमले समाधान गर्ने छ । बन्द व्यवसायको कर चुक्ता समस्या, घर कहाल कर समस्या, र नन–फाइलरका समस्याहरु पनि छन् । यी सबै विषयहरू मेरो नेतृत्वको उच्च प्राथमिकतामा छन् । म तीनै तहका सरकारसँग समन्वय गर्दै नीति निर्माणमा संघलाई सहभागी गराउनेछु। संघलाई उच्चकोटीको संस्था बनाउने मेरो योजना छ ।

धरान र सुनसरीको विकासका लागि संघ सहयात्री 

संघले केवल व्यवसायीको हकहित मात्र होइन समग्र विकासमा पनि साथ दिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । संघीय सरकारले ल्याएको लेउती सुरुङ मार्ग योजनामा संघको समर्थन रहनेछ। त्यसका लागि माहौल तयार गर्ने छ । सरोकारवालाहरुसँग बहस पैरवी गर्ने छ । यहाँको खानेपानी समस्या समाधानको लागि संघले भूमिका निर्वाह गर्ने छ ।

अर्को धरानमा काठमाडौंको भृकुटीमण्डपजस्तै ‘प्रदर्शनी केन्द्र’ बनाउने योजना छ, जसका लागि संघीय बजेट र स्थानीय जग्गा व्यवस्थापनमा म नेतृत्व लिनेछु। सरकारले आफ्नो कार्यक्रममा राखेको छ । त्यसका लागि पाँच विगाहा जग्गाको आवश्यकता छ । त्यो जग्गा जुटाउन मेरो पहलकदमी हुने छ । 

धरान–१२ चतरालाइनमा रहेको संघको जग्गामा कोशेली घर निर्माण गर्ने योजना छ । संघीय सरकारले तीन करोड बजेटसमेत छुट्टाएको छ । कोशेली घर बनाएर धरानका उत्पादन पर्यटकहरुका लागि कोशेली लान पाउने छन् । उद्योगी व्यवसायीहरुले आफ्ना उत्पादन कोशीली घरमा राख्न पाउने छन् । 

औद्योगिक ग्राम र पर्यटन विकासमा योगदान

औद्योगिक ग्राम धरानमा योजना परेको छ । जग्गा पहिचानसमेत भइसकेको छ । वनसन्ग केही कुरा मिलेको छैन् । त्यसलाई मिलाउन मेरो पहल कदमी हुने छ । सुनसरीको समगै पर्यटनमा पनि संघको योगदान रहन्छ। रामधुनी, बराहक्षेत्र, विष्णुपादुका र विजयपुर पिण्डेश्वरलाई समेटेर धार्मिक सर्किट बनाउने योजना छ। सुनसरीलाई धार्मिक पर्यटनको केन्द्र बनाउने रणनीतिमा संघ सक्रिय हुने छ।

व्यवसायीलाई अपिल 

मेरो सन्देश छ–‘व्यवसायी हित, नीतिगत पैरवी र संस्थागत सुदृढीकरण नै मेरो प्राथमिकता हो ।’ संघ हामी सबैको साझा संस्था हो। त्यसलाई पारदर्शी, उत्तरदायी र सबै व्यवसायीको आवाज बोल्ने संस्थाको रूपमा स्थापित गर्न म प्रतिबद्ध छु। तपाईंहरूको साथ र समर्थनको खाचो छ । मेरो इमानदारीता, लगनशिलता र मेहनेतले जसरी व्यवसायमा सफलता पाए, त्यसै गरि संघलाई पनि उचाइमा पु¥याउने मेरो प्रतिवद्धाता छ । सरकारसँगको समन्वय, साना ठूलो व्यवसायीहरुको हकहित मेरो पहिलो प्राथमिकता हुने छ । मेरा व्यवसायहर सबै घर परिवारले सम्हालेका कारण मेरो पुरा समय संघलाई हुने छ । यही असार ३० गते हुने सुनसरी उद्योग बाणिज्य संघको निर्वाचनमा सबै मतदाताहरुले आफ्नो मतको सही ठाँउमा सदुपयोग गरिदिनुहुन म अनुरोध गर्दछु । (कुराकानीमा आधारित)