धरान / नेपालय यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा युवा मजदुर नेता भीमज्वाला राईले जेनजी मुभमेन्टका नाममा भइरहेको अराजक गतिविधिप्रति कडा असन्तोष प्रकट गर्नुभएको छ । उहाँले देशले भदौ २३ र २४ गतेका घटनाबाट ठूलो क्षति व्यहोर्नु परेको बताउनुभयो र सो घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो न्यूनतम् शर्त नेपालको संविधान २०७२, संघीयता र लोकतान्त्रिक गणतन्त्रको रक्षा हो । यो सात दशक लामो संघर्ष र अग्रजहरूले बगाएको रगत र पसिनाको मूल्य हो, जसको मर्ममाथि आँच आउन दिनु हुँदैन ।”

राईले हाल देशमा उद्देश्यसहित नयाँ सरकार बनेको र अब सबै राजनीतिक दल तथा सरोकारवालाहरूले सरकारका कार्यमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “सरकार र सबै पक्षले संविधान, कानुन, नीति र नियमको परिधिभित्र रही राज्यका कार्यकारी संयन्त्रमार्फत काम गर्नुपर्छ ।”

उहाँले संविधानले तोकेका संवैधानिक अङ्गहरूमा हस्तक्षेप गर्ने, दवाव सिर्जना गर्ने वा निर्णय प्रक्रियामा प्रभाव पार्ने कुनै पनि प्रवृत्ति असंवैधानिक हुने उल्लेख गर्नुभयो । उहाँको भनाइअनुसार, अख्तियारलगायतका संवैधानिक अङ्गहरूमा दादागिरीपूर्ण ढङ्गमा धावा बोल्ने प्रयासले विधिको शासन कमजोर पार्ने र लोकतान्त्रिक मूल्यहरूमा आँच पुर्‍याउने कार्य गर्छ ।

राईले  समाजिक सञ्जालमा लेख्दै‌  जाँचबुझ आयोग गठन भइसकेको र त्यसले काम प्रारम्भ नगर्दै पूर्व प्रधानमन्त्री तथा गृहमन्त्रीहरूलाई गिरफ्तार गर्न दवाव दिने प्रवृत्तिलाई पूर्वाग्रही र द्वन्द्व निम्त्याउने बताउनुभयो । उहाँले यस्ता कार्यहरूले विधिको शासनप्रति आस्था घटाउने मात्र होइन, पुनः राजनीतिक अस्थिरता निम्त्याउने खतरा पनि बढाउने बताउनुभयो ।

जेनजी मुभमेन्टका नाममा भइरहेको अराजकता र हिंसात्मक प्रवृत्तिप्रति कडा आपत्ति जनाउँदै उहाँले भन्नुभयो, “देशले ठुलो क्षति भोगिसकेको छ, अब थप क्षति सह्य हुनेछैन । नेपाली जनताको सहनशीलतालाई कमजोरी ठानेर राष्ट्रलाई खरानी पार्ने प्रयास अब रोकिनुपर्छ ।”

अन्त्यमा उहाँले सबै राजनीतिक दल, सामाजिक शक्ति र नागरिकलाई संवैधानिक शासन, लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको संरक्षणका लागि एकजुट हुन आह्वान गर्नुभयो ।