धरान  /  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङका तत्कालीन उपकुलपति प्रा.डा. संगिता भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूमाथि कम गुणस्तरको एमआरआई मेसिन खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको अभियोग छ । आयोगका अनुसार उक्त खरिदमा १२ करोड ७ लाख रुपैयाँभन्दा बढी रकमको अनियमितता देखिएको छ । आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उहाँबाट ९ करोड ३४ लाख २६ हजार छ सय उन्नाईस रुपैया सतासी पैसा असुलउपर हुन मागदाबी अख्तियारले गरेको छ । 

पूर्वश्रममन्त्री शरतसिंह भण्डारीकी बहिनी समेत रहेकी प्रा.डा. भण्डारी हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नाक कान घाटी रोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमासमेत उपकुलपति बन्नु भएको थियो । 

अख्तियारले प्राप्त उजुरीका आधारमा गरेको अनुसन्धानका क्रममा प्रा.डा. भण्डारीसहितको संलग्नतामा सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ विपरीत ढंगले एमआरआई मेसिन खरिद गरिएको खुलेको हो ।

प्रतिष्ठानले उक्त मेसिन खरिदका लागिI FB No: RAHS/NCB/HE/15/077/078  मार्फत राष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको थियो । तर अनुसन्धान अनुसार, यो प्रक्रिया खरिद आवश्यकता पहिचान र खरिद गुरुयोजना नै नबनाई अघि बढाइएको थियो । त्यसैका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग बजेट माग गरी पत्राचार गरिएको देखिएको अख्तियारले जनाएको छ ।

यसबाहेक, प्राविधिक विवरण  तयार पार्दा निश्चित कम्पनीसँग मात्र मेल खाने गरी डिजाइन गरिएको, र एकै परिवारको स्वामित्वमा रहेका कम्पनीहरूसँग मात्र दररेट माग गरिएको आरोप अख्तियारले जनाएको छ ।

आयोगले उहाँसहित तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछाने, फाइनान्स म्यानेजर कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियर शदर भण्डारी, त्रिवि शिक्षण अस्पतालका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरीविरुद्ध पनि कैद र विगो जरिवानासहितको सजाय मागदाबी गरेको छ ।

त्यसैगरी, राप्ती प्रतिष्ठानका डेपुटी फाइनान्स म्यानेजर नितिन कुर्मी, शाखा अधिकृत श्रीराम चौधरी, आइटी अफिसर हिरालाल भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारी, वरिष्ठ सहायक अञ्जु शर्मा र तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराईसमेत अभियुक्तको सूचीमा रहेका छन् । 

यसैगरी, उक्त उपकरण आपूर्ति गर्ने कम्पनी लुम्बिनी हेल्थकेयर प्रालि र सो कम्पनीका अध्यक्ष पोष्टराज ज्ञवालीमाथि पनि भ्रष्टाचारमा संलग्न रहेको भन्दै मुद्दा दायर गरिएको छ ।

अख्तियारका अनुसार सार्वजनिक स्रोतको दुरुपयोग भएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।