काभ्रेपलाञ्चोक / यही असोज १८ र १९ गतेको वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएपछि बिपी राजमार्गमा पैदल यात्रासमेत कष्टकर बन्न पुगेको छ ।
उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा बाढीपहिरोले सडक बगाउँदा यातायातका साधन रोकिएपछि तीन दिनदेखि गन्तव्यमा पुग्नुपर्ने खोलाको तिर, खोलैखोला र भिरपाखाबाट हिँड्नुपर्ने बाध्यता बनेको हो । वर्षाका कारण राजमार्गको भकुन्डे–नेपालथोक सडकखण्डको विभिन्न स्थानमा क्षति पुगेपछि पूर्ण रुपमा अवरुद्ध भएको हो ।
राजमार्गको चौकीडाँडा हुँदै काभ्रेपलाञ्चोकको डाँडापारिलगायत स्थानबाट दसैँ मनाउन घर गएकाहरु ग्रामीण सडकसमेत अवरुद्ध हुँदा घण्टौँ हिँडेर आ–आफ्ना गन्तव्यतर्फ लागिरहेका छन् । यही सडक भएर जिल्लाको नमोबुद्ध नगरपालिका तथा रोशी, तेमाल, महाभारत, खानीखोला गाउँपालिका र सिन्धुलीको सुनकोशी र घ्याङलेक गाउँपालिकाका स्थानीय हातगोडा टेकेर कष्टकर यात्रा गर्न बाध्य भएका छन् । राजमार्गको धुलिखेलदेखि चौकीडाँडासम्म भने यातायातका साधन चलेका छन् ।
चौकीडाँडा आइपुग्न नै निकै कठिन भएको पैदल यात्री बताउँछन् । “हातगोडा टेकेर चौकीडाँडा आएर गाडी चढियो”, मङ्गलबार बनेपा आइपुग्नुभएका भिमखोरीका राजेन्द्र श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार सडकको नामोनिशान नभएको स्थानमा भिर चढेर पार गर्नुपरेको छ । “महिला, बुढापाका र बालबालिकालाई निकै अप्ठेरो भइरहेको छ, गोरेटो बाटो बनाउन सके निकै राहत मिल्नेछ”, श्रेष्ठले भन्नुभयो । केही सुरक्षाकर्मीले सहयोग गरे पनि हिँड्दा ध्यान नपु¥याए खोलामा खस्नेसमेत डर भएको श्रेष्ठको भनाइ छ ।
उक्त राजमार्गमा लामो दूरीका यात्रुले वैकल्पिक मार्ग प्रयोग गरे पनि काभ्रेपलाञ्चोक तथा छिमेकी जिल्ला रामेछाप र सिन्धुलीको जोडिएका स्थानीय तहका यात्रुलाई भने चौकीडाँडासम्मै पैदल हिँड्नुपर्ने बाध्यता बनेको हो । पैदलै हिँड्न पनि ठाउँठाउँमा रोशी खोला तर्नुपर्ने अर्को बाध्यता रहेको छ । स्थानीय प्रहरीका अनुसार तीन दिनमा करिब दुई हजार यात्रु यहाँबाट पैदल हिँडेका छन् । सुरक्षाकर्मीले बिरामीलाई स्टे«चरमा राखेर चौकीडाँडासम्म ल्याउने गरेका छन् ।
जिल्ला ट्राफिक कार्यालयका अनुसार राजमार्गको चौकीडाँडा–नेपालथोक सडकखण्डको २० किलोमिटर बाटो पूर्णरुपमा बन्द छ । बढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पु¥याएको हो । क्षतिग्रस्त राजमार्गमा पुनः अस्थायी सडक–डाइभर्सन बनाउन सुरु गरिएको छ । दुई दिनको बाढीपछि रोशी खोलाको बहाव कम हुँदै गएपछि मङ्गलबारदेखि डाइभर्सन बनाउन सुरु गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयले रोशी र नमोबद्धको समन्वयमा बगाएको राजमार्गको सडकखण्डमा खोला एकतर्फी फर्काएर पुनः डाइभर्सन निर्माण गर्न थालेको हो । यसअघि गतसाल असोजको बाढीपहिरोले क्षतिग्रस्त सोही क्षेत्रको विभिन्न स्थानमा करिब आठ किलोमिटर सडक डाइभर्सन गरी अस्थायी रुपमा सञ्चालन गर्दै आइएको थियो । सोही क्षेत्रको सडकखण्ड शनिबार र आइतबारको बाढीपहिरोले पुनः क्षतिग्रस्त बनाउँदै बगाएको थियो ।
राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाको एक स्थान तथा सिन्धुलीतर्फको अन्य तीन÷चार स्थानबाट अस्थायी सडक बनाउन सुरु गर्ने डिभिजनले योजना बनाएको कार्यालयका सूचना अधिकारी इञ्जिनियर विन्दु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार रोशी खोलाको किनारैकिनार सडक लैजानुपर्ने तथा सडकको कुनै अवशेष नै नरहेकाले खोलाको बहावभन्दा थप उचाइमा सडकको डाइभर्सन पुनर्निर्माण गर्नुपर्ने बाध्यता रहेको छ ।
यस्तै शनिबार र आइतबारको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत सिन्धुलीतर्फबाट पनि आजैदेखि पुनः डाइभर्सन बनाउन लागिएको छ । सिन्धुलीको नेपालथोकबाट डाइभर्सन बनाउन सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो । उहाँका अनुसार सिन्धुलीस्थित डिभिजन सडक कार्यालय खाल्टेले बिपी राजमार्गको नेपालथोकतर्फबाट हाल दुई वटा स्काभेटर प्रयोग गरेर डाइभर्सन बनाउन सुरु गरिएको हो ।
कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् । रासस