धरान  / धरानमा मुटु रोगको लक्षण, रोकधाम र सावधानीका विषयमा अन्तरक्रिया भएको छ । 

नेपाल हृदय रोग प्रतिष्ठान कोशी प्रदेश र महिला एकता मञ्ज नेपाल, धरानको सहकार्यमा शनिवार सुनसरी उद्योग बाणिज्य संघको हलमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । 

बरिष्ट मुटु रोग विशेषज्ञ प्रा.डा. राजेन्द्र कोजुले मुटुलाई कसरी बचाउने र स्वास्थय कसरी हुने भनने विषयमा जानकारी गराउनु भयो । 

कोशी प्रदेश सभाकी सदस्य यशोदा कायस्थको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्राडा कोजुले मुटु रोग समस्या, मुटु बचाउने उपायबारे अवगत गराउनु भएको थियो । स्वास्थ्य नै सबै भन्दा ठूलो सम्पति भएकाले आफ्नो मुटुबारे धरानवासीलाई जानकारी होस् भनेर यस्तो कार्यक्रमको आयोजना गरिएको महिला एकता मञ्ज नेपालकी संस्थापक अध्यक्षसमेत रहनु भएकी कायस्थले बताउनु भयो । 

मुटु रोग विशेषज्ञ कोजुको यस्तो छ सुझाव

स्वास्थ्यका लागि खानपानमा ध्यान दिन जरुरी हुन्छ । जाँडरक्सी खैनी चुरोट बाहेकका खानेकुरा नखानु भनेर म कसैलाई सिफारसि गर्दिन तर आवश्यकता भन्दा र भोक नलागेका बेला चाही नखानु भन्छु । हामी स्वादको पछि लाग्दा हाम्रो स्वास्थ्य बिग्रेको छ । जिब्रोले गुलियो चिल्लो मिठो खोज्छ । तर हाम्रो मुटुले त्यस्ता खानेकुरा नाई भन्छ । खानपान र शारीरिक व्यायाममा ध्यान नदिंदा मुटुरोग हुने हो । गुलियो, चिल्लो, अमिलो, नुनिलो सबै मन पर्छ हामीलाई । जिब्रोले मीठो मानुन्जेल स्वाद मानीमानी खान्छौं । पेट भरिए पनि अझै खाने हाम्रो बानी छ । जसले गर्दा शरीरलाई असर पर्छ । खान नहुने कुरा त केही पनि छैन, तर अत्यधिक खानु हुँदैन। अत्यधिक खाए केकस्ता असर पर्छन् भन्ने मैले मेरो किताव ‘मुटुको कथा’मा उल्लेख गरेको छु । 

मुटु रोगबारेका भ्रम र यथार्थ  

हाम्रो समाजमा चिकित्सकले उच्च रक्तचापमा औषधि खान सिफारिश गर्दा ‘औषधि खाएँ भने त जीवनभर खानुपर्छ’ भन्ने गरिन्छ, जुन गलत बुझाइ हो । उच्च रक्तचाप र मधुमेहलाई औषधि होइन, अन्य माध्यमबाट नियन्त्रणमा राख्छु भन्नेहरू पनि धेरै छन् । जबर्जस्ती औषधि बाहेकको कुराको सहारा लिने गरेको देखिन्छ । यस्तै, मुटुरोग लागेको मानिस कुनै हलचल नगरी बसिराख्नुपर्छ, शारीरिक व्यायाम गर्नै हुँदैन भन्ने खालका भ्रम छन् । जबकि मुटुरोगीले चिकित्सकको सल्लाहमा निश्चित मात्रामा व्यायाम गर्न मिल्छ ।

रोग लाग्यो ? चिन्ता नलिनुहोस् 

रोग लागेपछि अब केही गर्न सकिंदैन, सबै सक्कियो भन्ने हुँदैन, रोगलाई त नियन्त्रण गर्ने हो । हामीमाझ मधुमेहका रोगीले औषधि खाएर सरल जीवनयापन र व्यापार–व्यवसाय गरिरहेका छन् । कतिपय चिकित्सकले औषधि खाएर काम गरिरहेका छन् । राजनीतिकर्मीहरूले उपचार गराएर नेतृत्व गरिरहेका छन् । खासमा रोगी र बिरामी कोही पनि हुँदैन । शरीरमा केही तलमाथि भयो भने त्यसलाई रोकथाम र नियन्त्रण गर्नुपर्छ ।

छातीमा असह्य पीडाः हृदयघातको लक्षण

छातीमा असह्य पीडा हुनु नै हृदयाघातको लक्षण हो । त्यस्तो पीडा केही सेकेन्ड होइन, २०–३० मिनेटसम्म भइराख्यो भने त्यो हृदयाघात हुन सक्न सक्छ । धेरैजसो छातीको बीच भागमा दुख्छ, यदाकदा बायाँ हाततिर, पछाडितिर, पेटतिर वा घाँटीतिर दुख्ने पनि हुन सक्छ । यस्तो अति दुखाइसँगै रिंगटा लागेर लडिएला जस्तै भयो र पसिना चिटचिट आयो भने हृदयाघातको लक्षण सम्झनुपर्छ । चिसोमा हिंडिराख्दा पीडा भएर, भ¥याङ चढ्दा सास फेर्न गाह्रो भएर, बसिराखेको मान्छेलाई पनि हृदयाघात भएको छ । छातीको पीडा बाहेक कहिले सास फेर्न गाह्रो हुने, कहिले चिसोमा कक्रक्क परेको जस्तो हुने र पेट भारी हुने लक्षण देखिएर पनि हृदयाघात भएको पाइन्छ ।

युवालाई पनि हृदयघात 

पछिल्लो समय युवालाई पनि हृदयाघात हुने गरेको छ । यसको प्रमुख कारणमा वंशाणुगत कारण पनि एक हो । लैंगिक आधारमा पुरुष हुनु अर्को कारण हो । यो पक्ष हामी परिवर्तन गर्न सक्दैनौं, तर आफ्नो जीवनशैलीलाई सही दिशामा रूपान्तरण गर्न सक्छौं । अत्यधिक धूमपान गर्ने, शारीरिक व्यायाम गर्दै नगर्ने, शरीर अधिक मोटो भएका, वेलावेला उच्च रक्तचाप भइराख्ने, खराब चिल्लो धेरै भएका व्यक्तिलाई हृदयाघातको जोखिममा हुन्छन् । यसले सानो ठूलो धनी गरिव भन्दैंन् । अल्छेलाई बढी माया गर्छ । 

अहिले बच्चा वेलादेखि नै खराब जीवनशैली भित्रिएको छ । खेलकूद र शारीरिक गतिविधि कम छ । फास्टफूड र बजारिया खानेकुरातिर स्वाद बसेको छ । जसले प्रशस्त मात्रामा नुन, चिनी र चिल्लो पदार्थ शरीरभित्र पु¥याइदिएको छ । यसले ‘मेटाबोलिक सिन्ड्रोम’ हुन्छ, अर्थात मुटुबाट शरीरमा रगत पु¥याउने नली (धमनी) साँघुरिंदै जान्छ । सानै उमेरदेखि धमनीहरू साँघुरिंदै गए कुनै दिन बन्द हुन सक्छ ।

पहिलो कुरा, म कसरी स्वस्थ्य रहन सक्छु र मुटुरोग भइहाल्यो भने मैले के गर्नुपर्छ भन्ने चेतना नागरिकमा फैलाउनुपर्छ। आफ्नो स्वास्थयको सधै ख्याल राख्नु पर्दछ । सधै व्यस्त भइरहनु पर्दछ । अनावश्यक तनाव लिनु हुदैंन् । तपाई जस्तो हुनुहुन्छ, तपाईसँग जे छ त्यसैमा रमाउनुहोस् , अवश्य तपाईको मुटु स्वास्थ्य हुने छ ।