भद्रपुर /  मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२ /०८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु ८५ करोड ९६ लाख ११ हजार बराबरको अलैँची निर्यात भएको हो । 

गत दुई महिनाको अवधिमा ५२२ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । आव २०८१/०८२ को पहिलो दुई महिनाको अवधिमा रु ५९ करोड ७३ लाख ५२ हजार बराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो । 

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको दुई महिनामा चियाको निर्यात ३४ प्रतिशतले घटेको छ । उक्त अवधिमा रु ७५ करोड तीन लाख ४८ हजार बराबरको चिया निर्यात भएको छ । सूचना अधिकारी हुमागाईंका अनुसार आव २०८१/०८२ को सोही अवधिमा रु एक अर्ब १३ करोड ७४ लाख आठ हजार बराबरको चिया निर्यात भएको छ ।

भन्सार कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा छुर्पी ९८. ३० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी १५५.२० प्रतिशत, भेनियर सिट ७४ प्रतिशत, मुसुरो दाल ६५५.१० प्रतिशतले वृद्धि भएको छ । यसैगरी फलामे पाता ९३.४० प्रतिशत, अदुवा ४१.८० प्रतिशत र अम्रिसो ३०.१० प्रतिशतले कमी आएको सूचना अधिकारी हुमागाईंले जानकारी दिनुभयो ।  मेची भन्सारबाट चालु आवको दुई महिनामा रु तीन अर्ब छ करोड ३७ लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ ।