धरान । विश्व मुटु दिवसको अवसर पारेर नेपाल हृदयरोग निवारण प्रतिष्ठान, सुनसरीले शनिबार बिहान ‘मुटु बचाउन हिँडौँ’ भन्ने नारासहित पैदल यात्रा तथा मुटु सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
धरान–३ स्थित सिंहदेवी चोकबाट सुरु भएको पैदल यात्रा विजयपुर, दन्तकाली र बुढासुब्बा मन्दिर परिक्रमा गर्दै धरान–१५ स्थित रोटरी क्लवमा समापन गरिएको थियो । यात्रा कार्यक्रमको उद्घाटन कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थाले गर्नुभएको थियो ।
यस अभियानमा रोटरी क्लबहरू, महिला एकता समाज, धरान हाइकिङ समूहलगायत विभिन्न संघ–संस्थाको सहकार्य रहेको थियो । पैदल यात्रामा सहभागीहरूले स्वस्थ जीवनशैली र नियमित व्यायामको महत्वबारे सन्देश दिएका थिए ।सहभागी विभिन्न विद्यालयका विद्यार्थीहरुकाे छातीमा मुटु बचाउने विभिन्न सन्देश लेखिएको कागज टासिएको थियो ।
यात्रा पश्चात् रोटरी क्लबको भवनमा आयोजित सचेतना कार्यक्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको एनेस्थेसिया तथा क्रिटिकल केयर विभागका डा. सिद्धान्त कोइरालाले मुटुरोगका लक्षण, जोखिम कारक र बच्ने उपायबारे जानकारी दिनुभयो ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान, सुनसरीका अध्यक्ष मुकेश अग्रवालले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै भन्नुभयो, “सन्तुलित आहार, नियमित व्यायाम र समयमै स्वास्थ्य परीक्षणले मुटु रोगबाट जोगिन सकिन्छ । यही सन्देश जनतासम्म पुर्याउन हामीले पैदल यात्राको आयोजना गरेका हौँ ।”
मुटु रोगजस्तो प्राणघातक रोगबारे सचेतना जगाउननेपाल हृदयरोग निवारण प्रतिष्ठानले महत्वपूर्ण काम गरेको प्रतिष्ठानको सल्लाहाकारसमेत रहनु भएकी कायस्थाले बताउनु भयो ।
कार्यक्रममा सहभागीहरूले पैदल यात्रामार्फत् मुटु रोगबारे सचेतना फैलाउन सके जीवनशैलीमा सुधार आउने र मुटु रोगको जोखिम घट्ने विश्वास व्यक्त गरेका थिए ।