काठमाण्डौं । सवारी तथा यातायात ऐन, २०८३ मा ल्याउन लागिएको ५ सय देखि १ लाख सम्म ट्राफिक जरिवाना घटाउन र ज्यान मारेमा हुने सजाय भन्ने शब्द हटाउन माग गर्दै  नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले पूर्वाधार विकास मन्त्रालयलाई ध्यानाकर्षण पठाएको छ ।

 साउन ४ र ५ गते देभरीका सबै जिल्ला प्रशासन कार्यालय मार्फत मन्त्रालयलाई ध्यानाकर्षण गराईएको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी गराउनुभयो । अव्यवहारिक, असान्दर्भीक ऐनका प्रावधानहरु संशोधन गर्नुपर्छ अन्यथा आन्दोलन हुन्छ । ध्यानाकर्षण आन्दोलनकै तयारी हो राईले भन्नुभयो । 

अध्यक्ष राईका अनुसार केन्द्रीय कमिटीले जेठ पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई ध्यानाकर्षणपत्र पठाई सकिएको र असार २९ गते पुनः पठाईएको छ । सरकारलाई सजिलोका लागि ऐन उपर तीन महले सुझाव दिइएको छ । तर मन्त्रालयले चासो नदिएपछि साउन ४ र ५ गते जिल्ला प्रशासन कार्यालय मार्फत मन्त्रालयको ध्यानाकर्षण गराइएको हो । 

सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई विस्थापन गरि ल्याउन लागेको सवारी तथा यातायात ऐन २०८३ को दफा ६२ मा ३९ वटा शिर्षकमा न्युनतम  ५ सय देखि १ लाखसम्म जरिवानाको व्यवस्थाप्रति संगठन मात्रै होइन आम सर्वसाधारणको समेत असन्तोष रहेको छ । त्यस्तै दफा ६५ को ज्यान मारेमा हुने सजाय लगायतका विषयहरुमा संगठनले तत्काल सरोकारवालाहरु समेतको छलफल र संशोधन गरेर मात्रै ऐन जारी गर्नु पर्ने राय रहेको छ । 

संगठनले भनेको छ पहिलेको ऐनमा न्युतम ५ सय देखि १५ सयसम्म जरिवानाको व्यवस्था रहेको थियो न्युतमलाई कायमै राखेर अधिकतमलाई सतप्रतिशत बनाउदा उपयुक्त हुने सुझाव रहेको छ । 

त्यस्तै ज्यान मारेमा हुने सजाय भन्ने ठाउँमा ज्यान मरेमा हुने सजाय भन्ने बनाउनु पर्छ र दफा ६५ को उपदफा २ मा तीन बर्षदेखि दश वर्ष भन्ने ठाउँमा तीन वर्ष भन्ने हटाएर बढीमा दश वर्ष सम्म भन्ने उल्लेख हुनुपर्छ भन्ने संगठनको धारणा रहेको संगठनका अध्यक्ष राईले बताउनुभयो । 

संगठनले सबै प्रदेश कमिटीका इन्चार्जहरुलाई जिम्मेवार बनाउँदै प्रदेश अन्तर्गतका जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउने योजना अनुरुप बागमतीमा उपाध्यष नवराज घिमिरे, लुम्बिनीमा उपाध्यष ठाकुर गैरे, मधेश प्रदेशमा महासचिव केशव थापा निरु, गण्डकीमा उपमहासचिव विष्णुबहादुर पराजुली, कोशीमा उपमहासचिव देवी भट्टराई, सूदुरपश्चिममा उपमहासचिव खगेन्द्रबहादुर ओली, कर्णालीमा उपाध्यक्ष ठाकुर गैरेलाई जिम्मेवारी तोकेको थियो ।  प्रतिकुल दफाहरु संशोधन नभए देशभरीबाट सरकार विरुद्ध घेराउ अभियान सञ्चालन गरिने संगठनको तयारी रहेको छ ।  

५ सय देखि १ लाखसम्म जरिवाना हुने निम्न विषयहरु रहेकाछन् । 

१.  दर्ता प्रयोजन प्रयोजन विपरित सवारीसाधन सञ्चालन गरेमा चालकलाई ः

दुई पाङ्ग्रे र तीन पाङ्ग्रेको हकमा ५ हजार, साना र मझौलाको हकमा १० हजार र ठुला सवारीको हकमा १५ हजार जरिवाना हुनेछ । 

२.  चालक अनुमतिपत्र प्राप्त नगरी वा एक वर्गको अनुमतिपत्र प्राप्त गरी अर्को वर्गको सवारी साधन चलाएमा ः 

दुई पाङ्ग्रे र तीन पाङ्ग्रेको हकमा ५ हजार, साना र मझौलाको हकमा १० हजार, ठुला सवारीको हकमा १५ हजार ।

३.  बाटो इजाजत नलिइ सवारी चलाएमा ः १० हजार ।

४. सवारी जाँचपास नगरि सवारी चलाएमा ः 

दुई पाङ्ग्रेको हकमा ५ हजार, तीन पाङ्ग्रे तथा साना सवारीको हकमा १० हजार र मझौला र ठुला सवारीको हकमा १५ हजार । 

५. सवारी प्रदुषण प्रमाण्पत्र नराखी सवारी चलाएमा ः 

दुई पाङ्ग्रे र तीन पाङ्ग्रेको हकमा ५ हजार, साना र मझौलाको हकमा १० हजार, ठुला सवारीको हकमा १५ हजारसम्म ।

६. यातायात सेवाको पञ्जीकरण नगरी सवारी चलाएमा ः १५ हजार । 

७. ट्राफिक संकेत हटाएमा, बदलेमा हेरफेर गरेमा, विगारेमा, मेटेमा, च्यातेमा वा केरमेट गरेमा 

५ हजार ।

८. सवारीसाधनमा भाडादरको सूचि नराखेमा वा बढी भाडा लिएमा ः 

बढी भाडा फिर्ता गरि तीन पाङ्ग्रे सवारीको हकमा २ हजार, साना सवारीका हमा ५ हजार, मझौला र ठुला सवारीको हकमा १० हजार । 

९. दफा ३५ बमोजिम सार्वजनिक सवारीले पालना गर्नुपर्ने शर्तको पालना नगरेमा ः 

दुई पाङ्ग्रे वा तीन पाङ्ग्रेको हकमा ५ हजार, साना सवारीको हकमा १० हजार, मझौला र ठुला सवारीको हकमा १५ हजार ।

१०. खतरायुक्त वा जोखिमयुक्त मालसामान ढुवानी गर्ने मालबाहक सवारीले सांकेतिक चिन्ह नराखेमा । पार्किङ वा बिसौनिको लागि निर्धारण गरिएको स्थान बाहेक अन्यन्त्र रोकेमा वा पार्किङ गरेको पाइएमा ः

५ हजार रुपैया । 

११. चालकले मापसे वा लापसे गरि सवारीचलाएमा ः 

दुई पाङ्ग्रे र तीन पाङ्ग्रेको हकमा २५ हजार, साना सवारीको हकमा ३५ हजार, मझौला र ठुला सवारीको हकमा ५० हजार ।

१२. सवारीसाधनलाई निर्धारण गरिएको सीमा भन्दा बढी गतिमा सवारी चलाएमा ः 

दुई पाङ्ग्रे र तीन पाङ्ग्रेको हकमा २५ हजार, साना सवारीको हकमा ३५ हजार, मझौला र ठुला सवारीको हकमा ५० हजार ।

१३। निर्धारण गरिएको गति सीमाभन्दा बीस प्रतिशतसम्म बढी भएमा, बीस प्रतिशत, बीसदेखि चालिस प्रतिशतसम्म चालिस प्रतिशत, चालिसदेखि साठी प्रतिशतसम्म साठी प्रतिशत, साठी प्रतिशत भन्दा बढी भएकोमा शतप्रतिशत जरिवना । 

१४. तोकिएको सडक क्षेत्रमा निर्धारण गरिएको सुरक्षित गति सीमाभन्दा कम गतिमा सवारी चलाए 

३ हजारदेखि ५ हजार । 

१५. वजनको हदभन्दा बढी वजन राखेकोमा ः

 १५ हजार । 

१६. निर्धारित सीट संख्याभन्दा बढी यात्री बोकेको पाइएमा ः 

लामो दुरीको बाटोमा बीस हजार, मध्यम दुरीको बाटोमा दश हजार र छोटो दुरिको बाटोमा ५ हजार ।

१७. सुरक्षा पेटी वा सुरक्षा टोप ९हेल्मेट० नलगाई सवारी चलाएमा ः ३ हजार 

१८ अपारदर्शी सिसा राखेको पाइएमा वा सिसामा अन्य कुनै बस्तु राखेर बाहिरबाट नदेखिने बनाई सवारी चलाएमा ः १ लाख रुपैया । 

१९. सडकमा मालसामान, निर्माण सामग्री वा सवारीसाधन राखी वा पशु चौपाया छोडी आवागमनमा बाधा पुर्याएमा ः ५ देखि २५ हजारसम्म । 

२०. हेलचेक्र्याई, लापरवाही वा जोखिमयुक्त तरिकाले सवारी चलाएमा ः 

३ देखि ५ हजारसम्म । 

२१. रोक्नुपर्ने अवस्थामा नरोकेमा ः २ हजार रुपैया । 

२२. निर्धारित स्थानमा बाहेक अन्य स्थानबाट सडकमा पैदलयात्रीले यात्रा गरेमा ः ५ सय । 

२३. सवारी साधन, चालक, परिचालक, सुरक्षा कर्मचारी, अन्य कर्मचारी, यात्री, मालसामान, तेस्रो पक्ष वा वृहद् ९कम्प्रिहेन्सीभ० बीमा नगराई सवारी चलाएमा ः 

सार्वजनिक सवारीको हकमा १० हजार र अन्य सवारीको हकमा ५ हजार ।

२४. अनुमति नलिई विदेशी सवारी नेपालमा चलाएमा ः २५ हजार । 

२५. ओभरटेक गर्न नहुने वा असुरक्षित स्थानमा ओभरटेक गरेमा वा रातको समयमा बत्ती नबाली सवारी चलाएमा ः २ हजार । 

२६. स्तर कायम नगरी वा स्तर कायम नभएको सवारीमा स्तर जनाएमा ः ५ हजार ।

२७। लेन अनुशासन पालना नगरेमा, संकेत नदिई लेन परिवर्तन गरेमा, फुटपाथमा सवारी चलाएमा वान वेमा विपरित दिशाबाट सवारी चलाएमा मोवाइल फोन प्रयोग गरेमा ः १० हजार ।

२८. ट्राफिक संकेत पालना नगरेमा ः ३ देखि ५ हजारसम्म ।

२९. सवारीमा यात्रुलाई खतरा हुनेगरी सामान ढुवानी गरेमा वा प्रशिक्षर्थीले प्रशिक्षक साथैमा नराखी चलाएमा ः ३ हजार । 

३०। दुर्घटनापछि चालक, सहचालक र अन्य कर्मचारीले पालना गर्नुपर्ने कर्तव्य पालना नगरेमा ः 

२ हजार ।

३१. निषेधित क्षेत्रमा हर्न बजाएमा ः ५ सय । 

३२. सवारीबाट सडकमा फोहर फालेमा फाल्नेलाई ः १ हजार । 

३३. कागजपत्र साथमा नराखी सवारी चलाएमा ः 

१ हजार । तर, विद्युतीय पोर्टलबाट देखाए जरिवाना नलाग्ने । 

३४. ढोका खुल्ला राखी सवारी चलाएमा ः ५ हजार ।

३५. अवस्था ठीक नभएको सवारी चलाएमा ः ५ हजार । 

३६. निषेधित क्षेत्र र समयमा सवारी चलाएमा ः १ हजार । 

३७. तोकिएको सीट क्षमतासम्मको यात्री लिन इन्कार गरेमा ः २ हजार रुपैया । मिटर ट्याक्सीले मिटरमा जान नमानेमा ३ हजार ।

३८. दुइपाङ्ग्रे सवारीले अफलाइन् सेवा प्रदान गरेमा ः २ हजार ।

३९. चालक र परिचालकले तोकिएको पोसाक र परिचयपत्र नलगाएमा ः ५ सय ।