रान / लामो समयसम्म भारतीय बजारमा सीमित मानिएको नेपाली अदुवाले अहिले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय विस्तार गरेको छ । गत आर्थिक वर्ष २०८२/०८३ मा नेपालबाट डेढ अर्ब रुपैयाँभन्दा बढीको अदुवा निर्यात भएसँगै नेपाली अदुवा सात देशको बजारमा पुगेको छ । निर्यात रकम मात्र होइन, गन्तव्य मुलुकको विस्तारले पनि नेपाली कृषि उत्पादनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता बढ्दै गएको सङ्केत गरेको छ ।
भन्सार विभागले उसको आधिकारिक वेबसाइटमा हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा नेपालले १ अर्ब ५० करोड २० लाख ७३ हजार रुपैयाँ बराबरको अदुवा निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा यो रकम ५८ करोड ३६ लाख १० हजार रुपैयाँ मात्र थियो । अर्थात् एक वर्षमै अदुवा निर्यातबाट हुने आम्दानी करिब तीन गुणाले बढेको देखिन्छ ।
नेपालबाट ताजा अदुवा, सुठो (सुकाइएको अदुवा) र धुलो (कुटिएको) अदुवा निर्यात हुँदै आएको छ । तीमध्ये सबैभन्दा ठूलो हिस्सा ताजा अदुवाको रहेको छ । गत आर्थिक वर्षमा १ करोड ६० लाख १६ हजार ७ सय ४५ केजी ताजा अदुवा निर्यात हुँदा १ अर्ब २ करोड ६९ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको छ । यसले कुल निर्यातको झण्डै दुईतिहाइ हिस्सा ओगटेको छ ।
यस्तै ७ लाख ३५ हजार ६ सय १३ केजी सुठो निर्यातबाट ३७ करोड ५१ लाख ८८ हजार रुपैयाँ तथा ५ लाख १ हजार ६ सय ४२ किलो धुलो अदुवा निर्यातबाट ९ करोड ९९ लाख ८३ हजार रुपैयाँ आम्दानी भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
नेपाली अदुवा सात देशमा

नेपाली अदुवाको सबैभन्दा ठूलो बजार अझै पनि भारत नै हो । ताजा अदुवाको अधिकांश हिस्सा भारत निर्यात भएको छ । तर यसपटक बजार भारतमा मात्र सीमित रहेन । गत आर्थिक वर्षमा नेपाली अदुवा भारत, बङ्गलादेश, जापान, जर्मनी, नेदरल्यान्ड्स, संयुक्त अरब इमिरेट्स (यूएई) र अष्ट्रेलिया गरी सात देशमा पुगेको पाइएको छ ।
यसमा ताजा अदुवा भारत, बङ्गलादेश र जापान पुगेको छ । सुठोको प्रमुख बजार जर्मनी बनेको छ । जर्मनीमा मात्र ३० करोड रुपैयाँभन्दा बढीको सुठो निर्यात भएको तथ्याङ्कले नेपाली प्रशोधित अदुवाप्रति युरोपेली बजारको आकर्षण बढ्दै गएको देखाउँछ । सुठो भारत, बङ्गलादेश, नेदरल्यान्ड्स र यूएईमा पनि निर्यात भएको छ भने धुलो अदुवा भारत र अष्ट्रेलियामा पुगेको देखिन्छ ।
अघिल्लो आर्थिक वर्षसम्म नेपाली अदुवा पाँच देश—भारत, जापान, जर्मनी, नेदरल्यान्ड्स र स्विट्जरल्यान्डमा मात्र निर्यात हँुदै आएको व्यवसायीहरूले बताएका छन् । तर गतवर्ष बङ्गलादेश, यूएई र अष्ट्रेलियाजस्ता नयाँ बजार थपिएको उनीहरूको भनाइ छ ।
नयाँ बजारमा प्रवेश हुनुको अर्थ नेपाली अदुवाले अन्तर्राष्ट्रिय गुणस्तर, प्याकेजिङ र व्यापारिक विश्वसनीयतामा सुधार गर्दै गएको व्यवसायीहरूको दाबी छ । विशेषगरी प्रशोधित अदुवा (सुठो र धुलो) को माग बढ्नुले मूल्य अभिवृद्धि भएका कृषि उत्पादनतर्फ नेपाल अघि बढ्नसक्ने सम्भावना देखिएको छ ।
एक वर्षमै डेढ अर्ब रुपैयाँको अदुवा निर्यात र सात देशसम्म बजार विस्तार हुनु नेपाली कृषि क्षेत्रका लागि उत्साहजनक सङ्केत भएको सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष गिरिधारी सापकोटा बताउँछन् । यदि उत्पादन, प्रशोधन, ब्रान्डिङ र निर्यात व्यवस्थापनमा सरकारी तथा निजी क्षेत्रको लगानी बढाउन सकियो भने अदुवा नेपालको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने कृषि उत्पादनमध्ये एक बन्न सक्ने उनको भनाइ छ । अहिलेको तथ्याङ्कले नेपाली अदुवाले केवल छिमेकी बजार मात्र होइन, युरोप र विकसित मुलुकका उपभोक्ताको भान्सासम्म पनि आफ्नो स्थान बनाउन थालेको देखिन्छ । उत्पादन वृद्धि, रोग व्यवस्थापन, भण्डारण, प्रशोधन उद्योग र निर्यात पूर्वाधारलाई अझ सुधार गरेर विश्वका अन्य मुलुकहरूमा बजार विस्तार गर्न सकिने व्यवसायीहरूको भनाइ छ ।
२४ हजार हेक्टरमा अदुवा खेती, सात जिल्लामा व्यावसायिक उत्पादन

नेपालमा करिब २४ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा अदुवाको खेती भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अदुवा उत्पादन मुख्यतः मध्यपहाडी र पूर्वी पहाडी जिल्लामा केन्द्रित रहेको छ भने व्यावसायिक रूपमा उत्पादन गर्ने जिल्लाको सङ्ख्या पनि विस्तार हुँदै गएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना २०८१ को वार्षिक प्रतिवेदनअनुसार हाल कोशी प्रदेशका इलाम, पाँचथर, धनकुटा, भोजपुर, सङ्खुवासभा, मोरङ र उदयपुर, बागमती प्रदेशका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा, गण्डकी प्रदेशका पाल्पा, कास्की, स्याङ्जा, लमजुङ, तनहुँ, गोरखा र बागलुङ, लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा र प्युठान, कर्णालीका सल्यान, सुर्खेत, दैलेख र जाजरकोट तथा सुदूरपश्चिमका अछाम, डोटी र बैतडीमा व्यावसायिक रूपमा अदुवा खेती हुँदै आएको छ ।
मन्त्रालयको तथ्याङ््कअनुसार नेपालमा वार्षिक करिब ३ लाख २० हजारदेखि ३ लाख ४० हजार मेट्रिक टन अदुवा उत्पादन हुने गरेको छ । उत्पादनको ठूलो हिस्सा इलाम, सल्यान, कास्की, पाल्पा, मोरङ, नवलपरासी र पाँचथरबाट आउने गरेको मन्त्रालयले जनाएको छ । अदुवा नेपालको प्रमुख नगदे बालीमध्ये एक हो । पछिल्ला वर्षहरूमा ताजा अदुवासँगै सुठो र धुलो अदुवाको उत्पादन तथा निर्यात बढ्दै गएको छ । गुणस्तरीय उत्पादन, अनुकूल हावापानी र अन्तर्राष्ट्रिय बजारमा बढ्दो मागका कारण अदुवा खेतीप्रति किसानको आकर्षण पनि बढिरहेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका निर्देशक हिक्मतकुमार श्रेष्ठले बताए ।
मन्त्रालयले अदुवा खेतीको उत्पादकत्व वृद्धि, रोग व्यवस्थापन, गुणस्तरीय बिउ उत्पादन, प्रशोधन उद्योगको विकास र निर्यात प्रवद्र्धनलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
पछिल्लो समय नेपाली अदुवा भारतसँगै बङ्गलादेश, जापान, जर्मनी, नेदरल्यान्ड्स, संयुक्त अरब इमिरेट्स (यूएई) र अष्ट्रेलियासम्म निर्यात हुन थालेपछि यस क्षेत्रको व्यावसायिक सम्भावना थप बलियो बन्दै गएको परियोजनाले जनाएको छ ।
नेपालमा अदुवाको व्यावसायिक खेती

नेपाल अदुवा उत्पादनमा विश्वका प्रमुख उत्पादक मुलुकमध्ये पर्दछ । अदुवा विशेषगरी मध्यपहाड र पूर्वी पहाडीभेगको नगदे बालीका रूपमा स्थापित छ । राष्ट्रिय तथ्याङ्क कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका तथ्याङ्कअनुसार देशका करिब सबै जिल्लामा अदुवा खेती भए पनि व्यावसायिक उत्पादन सात जिल्लामा केन्द्रित छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी इलाममा ४५ हजार ९ सय ९४ मेट्रिक टन उत्पादन भएको छ । दोस्रो सल्यानमा २५ हजार मेट्रिक टन उत्पादन भएको छ । खेती हुने जमिनको हिसाबले पनि इलाम पहिलो ३ हजार ३ सय २३ हेक्टर जमिनमा खेती हुन्छ । सल्यानमा दुई हजार हेक्टरमा खेती हुँदै आएको छ । यस्तै तेस्रोमा कास्की, क्रमशः नवलपरासी, मोरङ, पाल्पा र पाँचथरमा व्यावसायिक अदुवाखेती हुँदै आएको मन्त्रालयको रेकर्डमा उल्लेख छ ।
कोशी प्रदेशमा इलाम, मोरङ र पाँचथर व्यवसायी अदुवा खेती भए पनि धनकुटा, भोजपुर, सङ्खुवासभा, उदयपुर, सुनसरीलगायत जिल्लामा पनि अदुवा खेती हुँदै आएको छ । २०८३ साउन ९ गते ब्लाष्ट दैनिकमा प्रकासित



















