• शेरधन राई

विकासका केही आयोजना केवल सडक, पुल र भवनका संरचना मात्र हुँदैनन् । तिनले एउटा भूगोलको भविष्य बोकेका हुन्छन्, पुस्तौँदेखि दुर्गममा बाँचेका मानिसको आशा बोकेका हुन्छन् र विकासको मूल प्रवाहबाट टाढा पारिएका समुदायको समृद्धिको ढोका खोल्ने सामथ्र्य राख्छन् । भोजपुरको दक्षिणी क्षेत्रलाई उदयपुर हुँदै तराईसँग जोड्ने दूधकोशीमाथिको चुहार पुल मेरो दृष्टिमा त्यस्तै एउटा सपना हो । तर यो सपना पूरा हुन वर्षौंको समय कुर्नुप¥यो । पुल निर्माणमा भएको ढिलाइले मलाई एउटा गम्भीर प्रश्न उठाउन बाध्य बनाएको छ– नेपालमा विकासका आयोजना जनताको आवश्यकताले अघि बढ्छन् कि राजनीतिक स्वार्थले रोकिँदै जान्छन् ?

चुहार पुलसँग मेरो राजनीतिक र विकाससम्बन्धी सपना प्रत्यक्ष जोडिएको छ । म कोशी प्रदेशको मुख्यमन्त्री हुँदा २०७७ असोज २६ गते यस पुलको शिलान्यास गरेको थिएँ । मेरो कार्यकालमा प्रदेशका १४ वटै जिल्लामा सडक सञ्जाल विस्तार र व्यवस्थित पूर्वाधार विकास गर्ने उद्देश्यले ६२ वटा सडक र त्यति नै सङ्ख्यामा सडक पुललाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाएको थिएँ । तीमध्ये अधिकांश आयोजना सम्पन्न भइसकेका छन् भने केही निर्माणको अन्तिम चरणमा पुगेका छन् । विराटनगर–घिनाघाट–विराटचोक चार लेन सडक र चुहार पुल मेरा प्राथमिकताका महŒवपूर्ण विकास आयोजनामध्ये थिए ।

मेरो दृष्टिमा चुहार पुल एउटा नदीमाथि बन्ने संरचना मात्र थिएन । यो भोजपुरको दक्षिणी भूगोललाई सुगम बनाउने, हतुवागढी र आमचोकलाई उदयपुरको बेलकासँग जोड्ने, भोजपुरलाई तराईसँग छोटो दूरीमा जोड्ने र भविष्यमा सङ्खुवासभा, खोटाङ तथा सोलुखुम्बुसम्मको आवागमनलाई सहज बनाउने रणनीतिक पूर्वाधार थियो । अझ मेरो परिकल्पनामा यो भविष्यमा चीनसँग जोडिने किमाथाङ्का नाकासम्मको छोटो रणनीतिक मार्गको एउटा महŒवपूर्ण कडीसमेत हो ।

यही कारण मैले यस पुललाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ का रूपमा अघि बढाएको थिएँ । उच्च प्राथमिकताका साथ बजेट विनियोजन गरेर यसको जग हाल्ने र शिलान्यास गर्ने अवसर पनि मैले नै पाएको थिएँ । तर राजनीति सधैँ विकासको निरन्तरता बन्न सकेन । मुख्यमन्त्री परिवर्तनसँगै विकासका प्राथमिकता र आयोजनाको कार्यान्वयनमा पनि फरक व्यवहार देखिन थाल्यो । म मुख्यमन्त्रीबाट हटेपछि चुहार पुलमा राजनीतिक स्वार्थ, दाउपेच र चलखेल सुरु भएको मेरो तितो अनुभव छ । भेरिएसन अर्डरको फाइल वर्षौंसम्म रोकियो । पुल बन्न नसक्ने, बने पनि अर्कै ठाउँमा बन्ने र सुरु गर्ने पक्षले नै जिम्मेवारी लिनुपर्ने जस्ता तर्क अघि सारिए । मलाई लक्षित गरेर विभिन्न आरोप र कुप्रचारसमेत गरिएको कुरा आम नागरिकले बुझ्नु भएकै छ ।

यी सबै परिस्थितिलाई मैले नजिकबाट अनुभव गरेको छु । पुल निर्माणमा देखिएका अवरोध र त्यसका पछाडिका स्वार्थबारे म जानकार छु । तर एउटा कुरा निर्विवाद छ– पुल निर्माणमा भएको लामो ढिलाइको मूल्य स्थानीय जनताले चुकाएका छन् । राजनीतिक नेतृत्वको विवाद, प्रशासनिक प्रक्रियाको जटिलता र प्राविधिक निर्णयको अन्योलबीच विकासको एउटा महŒवपूर्ण आयोजना वर्षौंसम्म अधुरो रहनु दुःखद् हो । त्यसमा पनि अत्यन्तै दुःखी छु ।

चुहार पुलको कथा यहीँनेर हाम्रो राजनीतिक संस्कारसँग जोडिन्छ । मैले सुरु गरेको आयोजना अर्को मुख्यमन्त्रीले निरन्तरता दिनु राज्यको सामान्य दायित्व हो । विकासका आयोजना कुनै नेता वा दलको निजी सम्पत्ति होइनन् । मैले शिलान्यास गरेको भन्दै मैले मात्र जस लिन खोज्नु र पछिल्लो सरकारले त्यसको निरन्तरता रोक्नु दुवै गलत राजनीतिक प्रवृत्ति हुन् । जनताको करबाट बन्ने पूर्वाधारलाई व्यक्तिगत प्रतिष्ठा र राजनीतिक प्रतिस्पर्धाको विषय बनाउनु विकासप्रतिको बेइमानी हो भन्ने मैले बुझेको छु ।

केही दिनअघि कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्री, माननीय तथा अन्य सरोकारवाला मित्रहरू चुहार पुग्नुभएको रहेछ । उहाँहरूले अब पुल बन्छ, कुनै अवरोध हुँदैन भनेर स्थानीय बासिन्दा, जनप्रतिनिधि र सरोकारवालालाई आश्वस्त पार्नुभएको जानकारी पाउँदा मलाई खुसी लागेको छ । म वर्तमान प्रदेश सरकार, भौतिक पूर्वाधार विकासमन्त्री र पुल निर्माणमा सकारात्मक भूमिका खेल्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।

मैले आफ्नो अभिव्यक्तिमा पनि स्पष्ट पारेको छु– यो पुल मेरो होइन, जनताको पुल हो । मलाई यसको जस र व्यक्तिगत लाभको कुनै मोह छैन । मेरो एउटै चाहना हो, पुल बनेर भोजपुरका दक्षिणी क्षेत्रका बासिन्दा, सिङ्गो भोजपुर र छिमेकी जिल्लाका नागरिकले सुविधा पाऊन् । स्थायी, बलियो र गुणस्तरीय पुल निर्माण होस् । त्यसले मलाई लाखौँ सन्तुष्टि दिनेछ ।

अहिले पुलको भेरिएसन आदेश स्वीकृत भएर निर्माण अघि बढ्ने बाटो खुलेको छ । सुरुमा २१ करोड २३ लाख रुपैयाँ रहेको ठेक्का रकम बढेर २६ करोड आठ लाख रुपैयाँ पुगेको छ । ९० मिटर लामो र साढे ७ मिटर चौडा पुलको लागत करिब चार करोड ८५ लाख रुपैयाँले बढेको छ । सार्वजनिक विवरणअनुसार भौतिक प्रगति अझै २० प्रतिशतभन्दा कम छ । प्रदेश सरकारले २०८४ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । त्यसैले अब पुल बन्ने आश्वासनले मात्र स्थानीयको प्रतीक्षा समाप्त हुँदैन । निर्माणको गति, गुणस्तर र समयसीमा नै सरकारको वास्तविक परीक्षा हुनेछ ।

पुल बनेपछि भोजपुरको दक्षिणी क्षेत्रका बासिन्दालाई उदयपुर हुँदै तराईका बजारसम्म पुग्न सहज हुनेछ । कृषि उत्पादनले बजार पाउनेछ । बिरामीलाई अस्पताल पु¥याउन लाग्ने समय घट्नेछ । विद्यार्थी, व्यापारी र सर्वसाधारणको आवागमन सहज हुनेछ । पर्यटन र स्थानीय अर्थतन्त्रका नयाँ सम्भावना खुल्नेछन् । अहिलेको कठिन भौगोलिक अवस्थाले थिचिएका बस्तीहरू विकासको मूल प्रवाहसँग नजिकिनेछन् । मेरो सपना पनि यही हो । पुलले दुई किनारा मात्र जोड्ने छैन, अवसर र सम्भावनालाई पनि जोड्नेछ । भोजपुरको समृद्धि जोडिनेछ ।

तर म यो पुल निर्माणको कथा मेरो राजनीतिक उपलब्धिमा मात्र सीमित होस् भन्ने चाहन्नँ । यो प्रदेश सरकारको संस्थागत जिम्मेवारी, निर्माण व्यवसायीको जवाफदेहिता र स्थानीय नागरिकको साझा सरोकार हो । मैले सुरु गरेको आयोजनालाई वर्तमान सरकारले सम्पन्न ग¥यो भने त्यो वर्तमान सरकारको पनि उपलब्धि हुनेछ । किनकि जनताका लागि काम गर्ने सरकारको मूल्याङ्कन कसले शिलान्यास ग¥यो भन्ने आधारमा होइन, कसले काम पूरा ग¥यो भन्ने आधारमा हुनुपर्दछ  भन्ने मान्यता राख्दछु ।

हाम्रो राजनीतिक संस्कारमा नयाँ सरकारले अघिल्लो सरकारले सुरु गरेका आयोजना रोक्ने, नाम फेर्ने वा जस लिन खोज्ने प्रवृत्ति अझै देखिन्छ । यस्तो प्रवृत्तिले राज्यको स्रोत, समय र जनताको विश्वास तीनवटै खेर फालिरहेको छ । एउटा सरकारले योजना बनाउने, अर्कोले रोक्ने र तेस्रोले पुनः सुरु गर्ने चक्रले विकासको लागत बढाउँछ । चुहार पुलमा भएको ढिलाइले यही प्रवृत्तिको महँगो मूल्य देखाएको छ । म चाहन्छु, अब कुनै पनि विकास आयोजना राजनीतिक परिवर्तनको सिकार नबनोस् ।

म चुहार पुल निर्माण सम्पन्न नहुँदासम्म निरन्तर चासो राख्नेछु । मेरो नजर यो पुलमा रहनेछ । निर्माणको प्रगति, बजेट खर्च, गुणस्तर र समयसीमाबारे म निरन्तर खबरदारी गर्नेछु । यो मेरो व्यक्तिगत प्रतिष्ठाको विषय होइन, जनताको अधिकार र विकासको आवश्यकताको विषय मैले ठानेको छु ।

चुहार पुल अब राजनीतिक दाउपेचको विषय बन्नु हुँदैन । मैले देखेको सपना, वर्तमान प्रदेश सरकारले गरेको प्रतिबद्धता र स्थानीय जनताले वर्षौंदेखि गरेको प्रतीक्षा एउटै बिन्दुमा पुग्नुपर्छ । त्यो विन्दु भनेको पुल निर्माणको पूर्णता हो । अन्ततः इतिहासले कसले शिलान्यास ग¥यो, कसले रोक्यो र कसले जस लियो भन्ने कुरा सम्झेला । तर दक्षिणी भोजपुरका जनताले भने पुलबाट आफ्नो जीवन कति सहज भयो भन्ने कुरा सम्झनेछन् । मेरा लागि चुहार पुलको सपना सार्थक हुनु भनेको भोजपुरको दक्षिणी भूगोलले सुगमताको नयाँ ढोका खोल्नु हो । मेरो स्वार्थ यति नै हो– पुल बनोस्, जनताले सुविधा पाऊन् र भावी पुस्ताले विकासको नयाँ बाटो पाऊन् ।  (लेखक कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हुन् ।) ब्लाष्टबाट