धरान । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरानले वडाकेन्द्रित जनसम्पर्क र अन्तरक्रिया अभियानलाई तीव्र बनाएको छ। प्रतिनिधिसभा पार्टीको नगर कमिटीको नेतृत्वमा धरानका टोलटोलका समस्या, जनगुनासा र विकासका आवश्यकता पहिचान गर्न अभियान सुरु गरेको हो ।
गत मङ्सिर ८ देखि सुरु गरिएको विशेष अभियानअन्तर्गत धरानका ११ वटा वडामा समाजसेवी, बौद्धिक व्यक्तित्व, स्थानीय अगुवा तथा सर्वसाधारणसँग भेटघाट र अन्तरक्रिया गरिएको पार्टीले जनाएको छ। वडा नं १, ४, ६, ८, ९, ११, १२, १३, १५ र १७ लगायत वडामा पुगेर स्थानीयका समस्या, सुझाव र गुनासा संकलन गरिएको रास्वपा नगर उपसभापति राम कार्कीले जानकारी दिनु भयो ।
नगर कमिटीले प्रतिनिधिसभा सदस्य र्सर्जना, स्थानीय नेताहरुलाई सहभागी गराएर स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै वडाका समस्या र नागरिकका गुनासा सुन्ने तथा तिनलाई टिपोट गर्ने काम गरिरहेको छ। स्थानीयले सडक, खानेपानी, ढल निकास, शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवा र पूर्वाधार विकासलगायत विषयमा आफ्ना धारणा राख्ने गरेका छन्।
रास्वपाले बाँकी वडामा पनि यस्तै अन्तरक्रिया कार्यक्रम सञ्चालन नियमित गर्ने जनाएको छ । सबै वडाका नागरिकसँग प्रत्यक्ष संवाद गरेर धरानको समग्र विकासका लागि आवश्यक योजना र प्राथमिकता पहिचान गर्ने अभियानको उद्देश्य रहेको नगर उपसभापति कार्कीले बताउनुभयो।
‘जनताका समस्या नबुझी विकासको योजना बनाउनु उपयुक्त हुँदैन। त्यसैले प्रत्येक वडामा पुगेर नागरिकका आवश्यकता, असन्तुष्टि र सुझाव संकलन गर्ने तथा त्यसकै आधारमा धरानको विकास निर्माणको खाका तयार पारेर अघि बढ्ने पार्टीको योजना छ।’–उपसभापति कार्कीले भन्नु भयो ।
धरानका सबै वडाका समस्या बुझ्ने, जनताका गुनासा सुन्ने र उनीहरूकै सुझावका आधारमा विकासको योजना बनाउने हाम्रो उद्देश्य रहेको उहाँको भनाई छ । कार्कीले भन्नुभयो, ‘सबै वडामा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने र संकलित सुझावलाई धरानको विकासको खाका निर्माणमा समेट्नेछौँ।’
अभियानको नेतृत्व गरिरहनुभएका नगर सभापति सुमन श्रेष्ठले पनि स्थानीयसँग भेटघाटका क्रममा धरानको विकाससम्बन्धी आफ्ना योजना र दृष्टिकोण प्रस्तुत गरिरहनुभएको छ। उहाँ आगामी स्थानीय तह निर्वाचनमा धरानको मेयर पदका सम्भावित दाबेदारका रूपमा समेत चर्चामा हुनुहुन्छ। वडावडामा पुगेर नागरिकका समस्या सुन्ने र आफ्ना विकासका अवधारणा सुनाउने उहाँको सक्रियतालाई चुनावी तयारीसँग पनि जोडेर हेरिएको छ। अभियानमा धरान उमपहानगरपालिकाको मेयरमा चर्चामा रहेका पूर्व एसएसपी भीम दाहाल पनि अभियानमा जोडिनु भएको छ । धरान बुझेका र प्रशासनिक ज्ञान भएका दाहाल धरानमा लोकप्रिय व्यक्ति मानिन्छन् ।
रास्वपाले यस अभियानलाई चुनावी जनसम्पर्कसँगै धरानको विकासका लागि नागरिकको आवश्यकता र प्राथमिकता पहिचान गर्ने अवसरका रूपमा अघि बढाएको छ। चुनावका बेला मात्रै मतदाताको घरदैलोमा पुग्ने परम्पराभन्दा फरक ढङ्गले नागरिकका समस्या अहिले नै सुन्ने र त्यसको अभिलेख राख्ने प्रयास गरिएको पार्टीका नेताहरूको भनाइ छ।
धरानमा खानेपानीको दीर्घकालीन समस्या, अव्यवस्थित सहरीकरण, सडक तथा पूर्वाधार, स्वास्थ्य सेवा, शिक्षा र बेरोजगारीजस्ता विषय लामो समयदेखि नागरिकका चासोका विषय छन्। यस्ता समस्याको समाधानका लागि स्थानीय आवश्यकता र स्रोतसाधनलाई आधार बनाएर योजनाबद्ध विकास गर्नुपर्ने आवाज उठ्दै आएको छ।
वडाकेन्द्रित अभियानले संकलन गरेका सुझावलाई योजनामा रूपान्तरण गर्ने, नागरिकका अपेक्षालाई राजनीतिक प्रतिबद्धताका रुपमा लिएर जाने पार्टीले नीति लिएको छ ।





















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!