सप्तकोशी दुर्घटनामा सरकारी नियमनको अभाव र व्यवसायीको लापरबाही, तीन महिनाभित्र इजाजत लिनुपर्ने

विराटनगर /  सप्तकोशी नदीमा तीन जनाको ज्यान जाने र तीन जना बेपत्ता हुने गरी भएको पानीबोट दुर्घटनामा सरकारी नियमनको अभाव र व्यवसायीको लापरबाही मुख्य कारण रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ । समितिले इजाजतबिना सञ्चालन भइरहेका यात्रुवाहक पानीबोट तत्काल बन्द गर्न र आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्न दिन सरकारलाई सिफारिस गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष शुक्रबार छानबिन समितिले प्रतिवेदन बुझाएको हो । प्रदेश मन्त्रिपरिषद्को २०८३ कात्तिक १० गतेको निर्णयअनुसार प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा १२ सदस्यीय समिति गठन गरिएको थियो ।

धनकुटा, भोजपुर र उदयपुरको सङ्गमस्थल त्रिवेणीमा कात्तिक ८ गते बराह त्रिवेणी जलयातायात प्रालिको यात्रुवाहक आउटबोर्ड मोटर ९ओबीएम० पानीबोट दुर्घटनामा परेको थियो । भोजपुरको हतुवागढी–९ कोप्चेबाट सुनसरीको चतरातर्फ आउँदै गरेको बोटमा चालकसहित १५ जना सवार थिए । दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने तीन जना अझै बेपत्ता छन् । अन्य आठ जनाको सकुशल उद्धार गरिएको थियो ।

समितिले घटनास्थलको स्थलगत निरीक्षण, पीडित, उद्धारकर्ता, व्यवसायी तथा सुरक्षा निकायका प्रतिनिधिसँग छलफल र उपलब्ध कागजातको अध्ययन गरी प्रतिवेदन तयार पारेको जनाएको छ । प्रतिवेदनले दुर्घटनालाई सामान्य भवितव्यका रूपमा मात्र नभई जलयातायात क्षेत्रमा लामो समयदेखि कायम रहेको नियमनहीनता र सुरक्षा लापरबाहीसँग जोडेको छ ।

समितिको अध्ययनमा दुर्घटनाग्रस्त कम्पनीले यात्रु ओसारपसारका लागि आवश्यक कानुनी सञ्चालन अनुमति नलिएको पाइएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता हुँदैमा सार्वजनिक यात्रुवाहक पानीबोट सञ्चालन गर्ने अनुमति प्राप्त नहुने भए पनि कम्पनीले आवश्यक इजाजतबिना सेवा सञ्चालन गरिरहेको थियो । वराहक्षेत्र नगरपालिकामा व्यवसाय दर्ता तथा सहमति लिएका पानीबोट कम्पनीको सूचीमा समेत दुर्घटनाग्रस्त कम्पनीको नाम नरहेको प्रतिवेदनमा उल्लेख छ ।

दुर्घटनाको अर्को प्रमुख कारण क्षमताभन्दा बढी यात्रु राख्नु रहेको समितिको निष्कर्ष छ । बोटमा चालकसहित १५ जना यात्रु र उनीहरूका सामान राखिएको थियो । यात्रुको सङ्ख्या र भार बोटको क्षमताभन्दा बढी रहेको प्राविधिक अध्ययनले देखाएको छ । बालबालिकाका लागि आवश्यक लाइफ ज्याकेटको व्यवस्था नहुनु तथा यात्रु सुरक्षाका न्यूनतम मापदण्ड पालना नगरिनुले मानवीय क्षति बढाएको समितिले औँल्याएको छ ।

दुर्घटनाका बेला बोटको इन्जिन अचानक बन्द भएको र त्यसपछि नदीको बहावमा बोट डुबेको विवरण प्रतिवेदनमा समेटिएको छ । नियमित यान्त्रिक परीक्षण नगरी बोट सञ्चालन गरिएको, चालकसँग आवश्यक अनुमतिपत्र तथा पर्याप्त तालिम नभएको र सप्तकोशीको तीव्र बहावमा यस्ता बोट सञ्चालन गर्न उपयुक्त प्राविधिक मापदण्डसमेत निर्धारण नगरिएको समितिको अध्ययनले देखाएको छ । तर दुर्घटनाग्रस्त बोट नदीमा डुबेर बेपत्ता भएकाले इन्जिन बन्द हुनुको यकिन प्राविधिक कारण पत्ता लगाउन नसकिएको समितिले जनाएको छ ।

जलयातायात सञ्चालनसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुनुलाई पनि दुर्घटनाको दीर्घकालीन कारण मानिएको छ । जलयात्रा नियमावली, २०६३ ले मुख्यतः ¥याफ्टिङ र पर्यटकीय जलयात्रालाई समेटे पनि भाडा लिएर सर्वसाधारणलाई ओसारपसार गर्ने मोटरबोट सेवाको सञ्चालन, नियमन र सुरक्षाबारे स्पष्ट व्यवस्था नभएको प्रतिवेदनमा उल्लेख छ । सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकार तथा जिम्मेवारी स्पष्ट नहुँदा नदीमा सञ्चालन भइरहेका बोटको प्रभावकारी अनुगमन हुन नसकेको समितिको ठहर छ ।

समितिले सप्तकोशीमा सञ्चालन भइरहेका सबै यात्रुवाहक पानीबोटको अभिलेखीकरण, दर्ता, बीमा, चालकको योग्यता र प्राविधिक परीक्षण अनिवार्य गर्न सुझाव दिएको छ । आवश्यक इजाजत नलिएका बोट तत्काल बन्द गरी तीन महिनाभित्र कानुनी प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्न दिनुपर्ने सिफारिस गरिएको छ ।

त्यस्तै, यात्रु तथा तेस्रो पक्षको बीमा व्यवस्था लागू गर्न, लाइफ ज्याकेटलगायत सुरक्षा सामग्री अनिवार्य राख्न र चालकलाई आवश्यक तालिम तथा अनुमतिपत्रको व्यवस्था गर्न भनिएको छ । जलयातायात सञ्चालनका लागि प्रदेश सरकारले आफ्नै कानुनी व्यवस्था निर्माण गर्नुका साथै सङ्घीय सरकारसँग समन्वय गरी एकीकृत कानुनी आधार तयार गर्नुपर्ने सुझावसमेत प्रतिवेदनमा छ ।

दुर्घटनामा मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिका परिवारले बीमा र क्षतिपूर्तिबापत पाउनुपर्ने रकमको सुनिश्चितता नभएकाले प्रदेश सरकारले मन्त्रिपरिषद्बाट राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न पनि समितिले सुझाव दिएको छ ।

सप्तकोशीमा २०७५ सालदेखि व्यावसायिक पानीबोट सेवा सञ्चालन हुँदै आएको छ । पहाड र तराईबीचको आवागमन छोट्याउने माध्यम बनेको जलयातायातमा पछिल्लो दुर्घटनाले सुरक्षा र नियमनको गम्भीर प्रश्न उठाएको छ । समितिले प्रतिवेदन बुझाएसँगै अब त्यसका सुझाव कार्यान्वयन गर्ने जिम्मेवारी प्रदेश सरकारमाथि आएको छ । दुर्घटनाको छानबिन प्रतिवेदन बुझ्नु मात्र पर्याप्त नभई त्यसले औँल्याएका कमजोरी सच्याएर यात्रुको सुरक्षा सुनिश्चित गर्नु सरकारको मुख्य चुनौती बनेको छ ।