धरान । आज ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. १ (क) र (ख)ले धरानमा विचार गोष्टी आयोजना गरि मनाएका छन् ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा नेपाली कांग्रेस क्षेत्र नं. १ (क) र (ख)ले धरानको दुई स्थानमा विचार गोष्टी कार्यक्रमको आयोजना गरि मनाएका हुन् । नेपाली कांग्रेस क्षेत्र नं. १ (क)ले धरान १२ स्थित अमानबजारमा विचार गोष्टी कार्यक्रम गरेको थियो भने (ख)ले वडा नं. १८ को विमल स्मृती प्रतिष्ठानको सभाहलमा विचार गोष्टी कार्यक्रम आयोजना गरेको थियो ।
वि.सं. २०३३ साल पुस १६ गते पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत नेता निर्वासन जीवन त्यागेर भारतबाट स्वदेश फर्केको दिनको स्मरणमा कांग्रेसले हरेक वर्ष देशभर मेलमिलाप दिवस मनाउँदै आएको छ ।
कार्यक्रममा वक्ताहरुले वीपीको सोच, विचार, चिन्तन र दृष्टिकोणलाई आत्मसाथ गर्न सके मात्रै नेपाली कांग्रेस बलियो हुने बताएका छन् । वक्ताहरुले गुट उपगुट नभई अब नेपाली कांग्रेस एक ढिक्का भएर अघि बढ्न सके भने मात्र सफल हुने दाबी गरे । आज कै दिनबाट यसको अन्त्य गर्नुपर्नेमा उनीहरुले जोड दिए । वक्ताहरुले २०१७ सालमा तत्कालीन राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकारलाई बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई ७ बर्ष जेल पठाइएको, त्यसपछि २०२५ सालमा वीपीसहितका नेता भारत प्रवासमा गएको, मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका नेतालाई तत्कालीन पञ्चायत व्यवस्था र राजा समेतले पक्रेर काठमाडौंको सुन्दरीजल बन्दीगृहमा राखेको लगायत स्मरण गरेका थिए ।
प्रधानमन्त्री ओली सरकारले कोरोना नियन्त्रण तथा रोकथाम गर्नुको सट्टा प्रतिनिधिसभा विघटन गरेर लज्जास्पद काम गरेको उनीहरुले औल्याए ।
ओलीले लोकतनत्र खतरामा परेको भन्दैं उनीहरुले आन्दोलनका ेविकल्प नभएको बताएका थिए । कार्यक्रममा विघटित प्रतिनिधिसभाकी सांसद एवं नेतृ मिना सुब्बा, पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, धरान उपमहानगरका मेयर तिलक राई, नेपाली कांग्रेस सुनसरीका पूर्व संस्थापक सचिव गिरिराज आचार्य, वीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष डा. आनन्द आचार्य, नेपाली कांग्रेस सुनसरीका सचिव सुजेन्द्र गोले तामाङ, नेका क्षेत्र नं. १ (क) सभापति धनबहादुर कट्वाल, नेका क्षेत्र नं. १ (ख) सभापति मुरारी भट्टराईलगायत कांग्रेसका विभिन्न भातृ संस्थाका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!