• भीमज्वाला राई

दशैं मनाउन काठमाण्डौं छाडेर घर जानेहरुको संख्या अधिक छ । विद्यालय र सरकारी कार्यालयहरु विदा भइसकेपछि यो संख्यामा थामिनसक्नुछ । दशैैंको पहिलोदिन घटस्थापनादेखि छैटौं दिन असोज १२ गते बिहानसम्म ३ लाख ५६ हजार ३ सय ३८ ले काठमाण्डौं छाडिसकेकाछन् । प्रत्येक दिनको २४ घण्टामा १८ हजार ९ सय ८१ सवारी साधन उपत्यका बाहिरिएको काठमाण्डौं उपत्यका ट्राफिक कन्ट्रोलले जनाएको छ । टिकाको दिन असोज १६ गतेसम्म करिव २५ लाख यात्रुहरु गन्तव्य पुगिसकेको हुनुपर्नेछ । तर अहिलेको यो तथ्यलाई हेर्ने हो भने त्यो मात्रामा यात्रुहरु घर फर्किने अवस्था छैन ।  

बाटो इजाजत (रुट पर्मिट) खुल्ला गर्‍यो सडक उस्तै :

सरकारले घटस्थापनादेखि जुनसुकै रुटमा जुनसुकै रुटमा गुडिरहेका सवारीसाधनहरुले यात्रुहरुलाई ओसारपसार गर्न बाटो इजाजतपत्र (रुट पर्मिट) खुल्ला गरेको छ । बाटो इजाजत खुल्ला गरेपनि बाटोहरु भने सवारीसाधनहरु सञ्चालन गर्न र यात्रुहरुलाई पूर्णरुपमा सेवा दिने अवस्थाका छैनन् । काठमाण्डौं उपत्यकाबाट बाहिरिने करिव दुइदर्जन सडकका नाकाहरु भएपनि प्राय रुटहरु राम्रा छैनन् । नागढुङगा नाका, साँगा नाका, बल्खु नाका, साँखु नाका, टोखा नाका, बालाजु नाका, भीमढुङगा नाका, चापागाउँ नाका र अन्य छोटो रुटका नाकाहरु रहेकाछन् । अधिकांश सडकरु जोखिममुक्त र पूर्णरुपमा सवारीसाधन सञ्चालन गर्ने अवस्थाका छैनन् । 

थेगिनसक्नु यात्रु र सवारीसाधन :

घर फर्किने नागरिकका लागि पूर्व तर्फ कोशी प्रदेश, बागमती प्रदेशका पहाडी जिल्लाहरु र मधेश प्रदेशका पूर्वीतर्फका केही जिल्लाहरु जोड्ने बीपी राजमार्ग, अरनिको राजमार्ग हुँदै बाहिरिने सवारी साधनहरु दिवा सेवाहरु करिव २ हजार ५ सय साना मझौला सवारीसाधनहरु छन्, अरनिको राजमार्गमा मात्रै १ हजार ५ सय सवारीसाधनहरु छन् त्यस्तै पूर्व चल्ने रात्री सेवामा करिव ४ सय ५० ठूला बसहरु सञ्चालनमा छन् ।  

दक्षिण तर्फ त्रिभूवन राजपथ, कान्ति लोकमार्ग र फाखेल दक्षिणकाली हुँदै उपत्यका बाहिरिने साना प्रकृतिका सवारीसाधनहरु करिव १ हजार ५ सय साना मझौला सवारीसाधनहरु रहेकाछन् । जसले हेटौँडा मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी सम्मका जनतालाई सेवा प्रवाह गर्दछ । 

पश्चिम तर्फ पृथ्वी राजमार्ग भएर पोखरा चल्ने करिव ४ सय र मुग्लिङ नारायणगढ हुँदै महेन्द्रनगरसम्मका रात्री सेवा ७ सय र अन्य साना सवारीसाधनहरु करिव २ सयको हाराहारीमा रहेकाछन् भने पासाङल्यामु सडकमा सञ्चालित करिव २ सयको हाराहारीमा सञ्चालित छन् । 

यो तथ्यसंगै सार्वजनिक सवारीसाधन र सानाठुला निजी सवारीसाधनहरुको कुरा गर्ने हो भने प्रत्येक दिन काठमाण्डौंबाट करिव ७ हजार ५ सय सवारीसाधनहरु बाहिरिने देखिन्छ । तर, यति सवारीसाधनहरुले मात्रै दसैंको टिकाको दिनसम्म सबै यात्रुहरुहरुलाई घर पठाउन पर्याप्त हुँदैन । अन्य सवारीसाधनहरु थप गर्नुपर्ने हुन्छ । त्यसैको तयारी स्वरुप सरकारले घटस्थापनादेखि देशभरी सवारीसाधन सञ्चालनका लागि रुटपर्मिट (बाटो इजाजतपत्र) खुल्ला गरेको छ । यद्यपी त्यसरी लामो रुटमा गुड्ने सवारीसाधनहरुको यान्त्रिक अवस्था बारे मापदण्ड नतोकिँदा यात्रुहरुको सुरक्षाको प्रश्न गम्भिर हुनसक्ने तर्फ सरोकारवाला सजग हुनुपर्ने अवस्था छ ।  

तुइनखोला पहिरोले खाएको १ सय ५ घण्टा 

असोज ३ गते साँझ साढे ६ बजेदेखि असोज ९ गते राती १० बजेर ३५ मनिटसम्मको १६८ घण्टाको समय अवधिमा १ सय ५ घण्टा पूर्णतया सवारीसाधनहरु आवागमन बन्द रह्यो । मुख्य नाका मध्येको पृथ्वी राजमार्ग भएर बाहिरिने सडकको मुग्लिङ नारायणगढ सडक अन्तर्गत तुइनखोला पुल छेउमा असोज ३ गते साँझ साढे ६ बजेदेखि पहिरो खसेर आवागमन पूर्ण रुपमा अवरुद्ध भयो । ४५ घण्टापछि असोज ५ गते अपरान्ह ४ बजे खुल्यो तर पुन असोज ७ गते अपरान्ह साढे ४ बजे सोही स्थानमा पहिरो खसेर यातायात बन्द भयो । लोमो मेहनतपछि असोज ९ गते राती साढे १० बजे पहिरो पन्छाएपछि आवागत सुचारु भएको छ । 

मुख्य सडकपनि उस्तै सुरक्षित छैनन् वैकल्पिक सडकहरु :

उपत्यकाबाट बाहिरिने मुख्य नाका नागढुङ्गा मुग्लिङ नारायणगढ सडक अन्तर्गत तुइनखोला पुल छेउको पहिरोको जोखिम अन्त्य भएको छैन एकहप्ताबीचमा दुइपटक खसिसकेको पहिरो फेरी कतिबेला खस्छ भन्ने अनुमान गर्न सहज छैन । यो सडकको यात्रा ढुक्कको हुनसकेको छैन । त्यस्तै पूर्व तर्फको लाइफलाइनको रुपमा रहेको सडक खुर्कोट सिन्धुली सडक समेत गत वर्षको वर्षाका कारण ध्वस्त छ । काभ्रेको रोशीदेखि नेपालथोकसम्मको सबै सडक जिर्ण बनेको छ । अहिले सवारीसाधनहरु गुडिरहेकैछन् तर अस्थायी रुपमा मर्मत गरिएको खोलाको तीर र अप्ठ्यारो भीरको बाटोबाट जोखिमयुक्त सडकमा यात्रा गर्नुपर्ने बाध्यता छ । यदी अघिल्लो वर्षको जस्तै वर्षा हुने हो भने अहिलेको अस्थायी बाटोमाथि गाडी होइन पानी कुद्ने अवस्था छ । 

कामना गरौँ कुनै विपतीको सामना गर्न नपरोस । तर, कामनाले मात्रै केही हुँदैन यदी भवितव्य भइहालेमा के छ वैकल्पिक उपायहरु ? के ति वैकल्पिक सडक सुरक्षित छन् त ?  यस विषयमा ध्यान दिन जरुरी छ । तुइनखोला पुलको पहिरोले सडक अवरुद्ध बनेको बेला सरकारले वैकल्पिक मार्ग भनेर निम्न सडकबाट यात्रा गर्न जनतालाई सुझाएको थियो जसमा बुटवल पोखरा मुग्लिङ हुँदै आउनु पर्ने सडक रहेको थियो जुन सडक प्रयोग गर्दा पहाडको साँघुरोबाटो र दुरीका हिसावले २ सय ४७ किलोमिटर लामो रहेको छ, त्यस्तै नवलपुरको गैंडाकोटबाट रामपुर पोखरा र मुग्लिङसम्म २ सय ६२ किलोमिटर पार गर्दै काठमाण्डौ तर्फ जानुपर्ने सडक त्यस्तै हेटौंडाबाट त्रिभूवन राजपथ भएर नौबिसे हुँदै काठमाण्डौं जाने १ सय ३२ किलोमिटरको साना तथा मझौला सवारीहरु मात्रै गुड्न सक्ने सडक र पहाडी सडक, हेटौडाबाट भट्टेडाँडा हुँदै ललितपुरको चापागाउँदोबाटो निस्कने ९५ किलोमिटर दुरीको साना र मझौला सवारीसाधन मात्रै यात्रा गर्न सकिने कान्तिराजपथ राजमार्ग र हेटौंडाबाट फाखेल हुँदै बलखु जोडिने ८२ किलिोमिटर दुरीको साना सवारीसाधनहरु मात्रै गुड्न मिल्ने सडक रहेका छन् । 

सरकारले यी सडकहरुलाई वैकल्पिक सडक भनेपनि सबै सडकहरु विकल्प होइनन् । यि सडकहरुले चाडबाड र विपद्का बेला यात्रुहरुको चाप र सवारीसाधनको चापलाई थेग्न सक्ने अवस्था छैन । अधिकांश सडकहरु कृषि सडकहरु हुन् जो उचित मर्मत सम्हारको अभावमा आफै जिर्ण बनेकाछन् ।  

यात्रुका दशैं प्रभावित श्रमिकको चुलो प्रभावित : 

तुइनखोला पहिरोको साताव्यापी बन्दले त्यस रुट भएर चल्ने ३५ हजार सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने साढे ५ लाख यात्रुहरुलाई प्रत्येक्ष र सवारीसाधन फँसेका कारण सेवा नपाउने अन्य लाखौँ यात्रुहरुलाई प्रभावित बनायो । करिव ८५ हजार चालक, सहचालक र परिचालकको चुलोमा प्रत्यक्ष असर पार्यो । यातायात श्रमिकहरुको दशैं खल्लो बनायो । दशैंकै बेलामा कमाएर बैँकको किस्ता तिर्छु भन्ने योजनाले सवारीसाधनको कमाइ हेरेर बसेका व्यवसायी र स्वरोजगारहरुलाई निरास पार्यो । 

त्यस रुटमा काम गर्ने श्रमिकहरु मात्रै होइन देशै भरीका साढे ११ लाख यातायात श्रमिकहरु प्रभावित बनेकाछन् । देशभरीका करिव ४ लाख यातायात व्यवसायीहरु मारमा परेकाछन् । मनसुनी प्रभावका कारण बाढी, पहिरो र सडकको अवस्थाले मात्रै होइन भदौ २३ र २४ गतेको राजनीतिक घटनाक्रमलसमेत उसैगरी चौतर्फि असर पारेकोछ । सरकार तथा यातायात व्यवसायीहरुको संस्था नेपाल यातायात स्ववसायी राष्ट्रिय महासंघले सकेसम्म यात्रामा ननिस्कनु भन्ने सन्देश प्रवाह गरिसकेकाले घर जाने वा यात्रा गर्ने योजनामा परिवर्तन गरिसकेकाले त्यसको असर सर्वत्र देखिने अवस्था छ । 

के गर्नु पर्छ सरकारले ?

सरकारले तत्काल र दिर्घकालिन योजना बनाएर काम गर्नुपर्छ । 

तत्काल गर्नुपर्ने कामहरु :

(क) उपत्यकाबाट बाहिरिने मुख्य सडकहरुका सम्भावित जोखिमहरुको पहिचान गर्नु पर्छ । आइपर्ने विपद्काबेला तत्काल एक्शन गर्ने गरी संयन्त्र निर्माण गर्नुपर्छ । त्यस्ता संयन्त्रहरुलाई चौबिसै घण्टा एलर्ट राख्नु पर्छ । 

(ख) मुख्य सडक र वैकल्पिक सडकहरुको अप्ठ्यारा र जोखिमयुक्त सडकहरुमा सडक मर्मतका उपकरणहरु (लोडर, एक्जाभेटर लगायत) परिचालन गरिरहनु पर्दछ । 

(ग) एकतर्फि सडक, साँघुरा सडक, चोक, मोड र पहिरो गएका स्थानहरुमा ट्राफिक प्रहरीहरुलाई तैनाथ गराउनु पर्छ । 

(घ) सडकको अवस्था बारे जानकारीका लागि सूचना प्रणालीको प्रभावकारी प्रवाह गर्नु पर्छ । 

दिर्घकालिन र नियमित कामहरु ः 

(क) तराइ जोड्ने फास्ट ट्र्याकको कामलाई तिव्रता दिँदै चाँडै सम्पन्न गर्नु पर्छ । 

(ख) सरकारले वैकल्पिक भनेका सडकहरु जस्तै फाखेल हुँदै हेटौँडा जोड्ने सडक, चापागाउँ हुँदै भट्टेडाँडा भएर हेटौँडा जोड्ने कान्तिराजपथ, नौबिसे हुँदै हेटौँडा जोड्ने त्रिभूवन राजपथ लगायतलाई बिस्तार गर्नुपर्छ । 

(ग) कुलेखानी भीमफेदी सुरुङमार्ग निर्माण गर्नुपर्छ । 

(घ) अघिल्लो वर्ष बाढीले बगाएको बीपी राजमार्गलाई तत्काल निर्माण गर्नुपर्छ । खुर्कोट सिन्धुली सुरुङमार्ग निर्माण गर्नुपर्छ । 

(ङ) नेपाललाई दक्षिण एसियाली मुलुकहरु म्यानमार, बंगलादेश, भारत, पाकिस्तान हुँदै इरानसम्म जोड्ने एसियन हाइवे अन्तर्गत मेची महाकालीसम्मका सडकलाई चाँडो निर्माण सम्पन्न गर्नुपर्छ । 

(च) मुख्य सहरहरुमा फ्लाइओभर, ओभरपास लगायत सडकलाई चौडा बनाउनु पर्छ । 

यातायात मजदुर र व्यवसायीले गर्ने कामहरु :

सार्वजनिक यातायातलाई यात्रुमैत्री बनाउने, सुरक्षित बनाउने, भरपर्दो बनाउने, विश्वसनिय बनाउने र मर्यादित बनाउन चालक, सह चालक, परिचालक, बुकिङ र व्यवसायीहरुले निम्न कामहरु गर्नुपर्छ ।  

(१) यात्रु तानातान र अनावश्यक सोधीखोजी नगर्ने : जनता सचेत भइसकेकाछन् वहाँहरु हाम्रै सवारीसाधनहरुमा यात्रा गर्ने हुन् तानातान गर्नु सोधीखोजी गर्नु पर्दैन । यस्तो काम हैरानी मात्रै होइन यात्रुहरुमाथिको अपराध हो । त्यस्तो कर्म कसैलेपनि नगर्ने    

(२) बढी भाडा नलिने, यात्रुहरुलाई नढाट्ने : राज्यद्धारा निर्धारण गरिएको भन्दा बढी भाडा नलिने, टिकट काट्नेबेलामा भनेको भन्दा फरक सिटमा राख्ने, सिटको पैसा लिएर टुलमा राखेर यात्रा नगराउने । यस्ता कार्यहरु कानुनी रुपमा दण्डनीय छन् ।

(३) टिकट बिना यात्रा नगराउने, हरेक यात्रुको विवरण राख्नेः भाडा तिरेपछि टिकट पाउने यात्रुको अधिकार हो ख्याल गर्ने । यात्रा गर्ने सबै यात्रुहरुको विवरण राख्ने । 

(४) अस्वस्थ प्रतिष्पर्धा नगर्ने : सडकको अवस्थालाई ध्यानदिने, प्रतिष्पर्धा नगर्ने सुरक्षित यात्रा गर्ने गराउने ।

(५) सडकको अवस्थाको सूचना ग्रहण गर्ने :  प्रस्थान बिन्दुबाट गन्तव्यसम्मको सडकको अवस्था बारे जानकारी लिएर मात्रै यात्रा तय गर्ने । बाटोमा खाजा खाना तथा रिफ्रेसमेन्टका लागि सुरक्षित स्थानको पहिचान गरेर मात्रै सवारी रोक्नेछौँ । 

(६) सवारी साधनको यान्त्रिक अवस्था चेकजाँच गर्ने :  यात्रा तय गर्नु अघि सवारीसाधनको यान्त्रिक अवस्था चेकजाँच गर्ने । क्षमता भन्दा बढी यात्रु नचढाउने । यात्रामा मादक पदार्थ, लागु पदार्थको सेवन नगर्ने, अरुलाई पनि गर्न नदिने । 

(७) बलजफ्ती नगर्ने : सवारीसाधन सञ्चालन गर्न रोकेको सडकमा जोखिम मोलेर जवरजस्ती सवारीसाधन नचलाउने । सवारी साधन बाटोमा बिग्रीएर रोकिने अवस्था आएमा यात्रुहरुलाई वैकल्पिक व्यवस्था गर्ने । 

(८) सार्वजनिक चासोलाई ध्यान दिने : यात्रुहरुलाई बाधा पुग्नेगरी ठुलो आवाजमा गीत तथा भिडियो नबजाउने । लैङ्गिक हिंसा भड्काउने, महिलाहरुको अपमान हुने खालका गीतसंगित वा भिडियो नबजाउने । महिला, बालबालिका, वृद्धवृद्धा र अशक्तहरुलाई ध्यान दिने ।

(९) यो पनि हाम्रै काम हो :  हर्न निषेधित क्षेत्रमा हर्न नबजाउने । लामोदुरीका सवारी साधनमा प्राथमिक उपचार बक्स राख्ने । यात्रुमैत्री व्यवहार गर्ने, बोल्दा सभ्य भाषाको प्रयोग गर्ने ।

(१०)  हामी जिम्मेवार हुनेछौँ : खाना समयमै खुवाउने, राम्रो होटलमा खुवाउने, रिफ्रेस (दिशा पिसाव) समय समयमा गराउने । 

(११) स्वास्थ्यप्रति सजग रहने: भत्ता वा कमाइको लोभमा लगातार ट्रिप नगर्ने, खानपानमा ध्यान दिने, स्वास्थ्य ठिक भयोभनेमात्रै जीवन रहन्छ भन्ने ख्याल गर्ने । परिवारका लागि पनि समय बचाउने । 

अन्त्यमा,  निजी क्षेत्रले नेपालमा सार्वजनिक यातायात सेवा प्रदान गरिरहेको छ । सार्वजनिक यातायात सेवा भद्रगोल छ, । सार्वजनिक यातायातमा सरकारको लगानी र व्यवस्थापनबीना सुधार सम्भव छैन, जनतालाई गुनस्तरिय सेवा, भरपर्दो सेवा, सुरक्षित सेवा किपाmयति सेवा विस्तार गर्ने हो भने अन्य देशहरुले झै सरकारकारको प्रत्यक्ष सहभागीता अनिवार्यछ  । भविष्यमा सरकारले लगानी गर्ला यतिबेला सार्वजनिक यातायातलाई यात्रुमैत्री बनाउने, सुरक्षित बनाउने, भरपर्दो बनाउने, विश्वसनिय बनाउने र मर्यादित बनाउन लगानीकर्ता र मजदुरहरुले सरकारको साथ लिएर सकेजति सेवामुखि बनाउन आवश्यक छ । 

(लेखक, राई विगत ३१ वर्षदेखि सार्वजनिक यातायात क्षेत्रमा क्रियाशील व्यक्तित्व हुन् । हाल राई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्षका रुपमा कार्यरत हुनुहुन्छ । )