धरान / वर्तमान सरकारका निर्णय र गतिविधिले निरङ्कुश शासनको झल्को दिएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आपत्ति जनाएको छ । संगठनका अध्यक्ष भीमज्वाला राईले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले निष्पक्ष ढंगले काम गर्नुपर्नेमा जोड दिनु  भएकाे छ । 

विज्ञप्तिमा हालै निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गरी उपत्यका छाड्न प्रतिबन्ध लगाउने निर्णयलाई तानाशाही चरित्रको उदाहरणका रूपमा प्रस्तुत गरिएको छ । साथै, देशभरका सार्वजनिक संरचना ध्वस्त गर्ने, निजी सम्पत्ति तोडफोड तथा आगजनीमा संलग्न अपराधीलाई उन्मुक्ति दिने उद्देश्यले नेपाल प्रहरीलाई कारबाही नगर्न गृहमन्त्रालयले दिएको निर्देशन आपत्तिजनक भएको उल्लेख छ ।

संगठनले अपराधी नियन्त्रणमा लिनुपर्ने बेला प्रहरीको नियमित काम रोक्नु दुर्भाग्यपूर्ण र खतरनाक भएको आरोप लगाएको छ । साथै, गत भदौ २३ र २४ का घटनाबारे जाँचबुझ आयोग गठन भए पनि आयोगको कार्यशैली विवादास्पद र पूर्वाग्रही भएको दाबी गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “पूर्वाग्रहपूर्ण मानसिकताका व्यक्तिलाई जिम्मेवारी दिइएको छ, जसले आयोगलाई राजनीतिक प्रतिशोधको हतियार बनाएको स्पष्ट हुन्छ ।”

आयोग प्रमुखकै सामाजिक सञ्जालमा सार्वजनिक भएका अभिव्यक्ति आयोगको निष्पक्षतामाथि प्रश्न उठाउने खालका भएको भन्दै संगठनले स्पष्टिकरण दिन वा पदत्याग गर्नुपर्ने माग गरेको छ ।

संगठनले लोकतन्त्र कमजोर पार्ने, राजनीतिक दल र नेतामाथि अपमानजनक कारबाही गर्ने र नागरिक समाजलाई कमजोर बनाउने प्रयास अस्वीकार्य रहेको उल्लेख गर्दै संविधानको रक्षा, राष्ट्रिय एकता र कानुनी शासन सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ ।