धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सर उपचारमा दिएको योगदान उल्लेखनीय रहँदै आएको छ। स्थापना कालदेखि नै पूर्वी नेपालका क्यान्सर रोगीका लागि आशाको केन्द्र बनेको प्रतिष्ठानले तीन दशकदेखि सीमित स्रोतसाधनमा रहेर पनि निरन्तर सेवा दिँदै आएको छ।
गत आर्थिक वर्ष २०८१/0८२ मा मात्र प्रतिष्ठानले ३७५० जना क्यान्सर बिरामीलाई शल्यक्रियामार्फत उपचार सेवा प्रदान गरेको प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अन्जुले जानकारी दिनु भएको छ । गत वर्ष क्यान्सरको शल्यक्रियासम्बन्धी सेवा ३ सय ८६ जनालाई दिइएको थियो । यस्तै ब्रेस्ट तथा इन्डोक्राइन क्यान्सरमा ८० जना, ग्यास्ट्रोइन्टेस्टाइनल क्यान्सरमा ५४ जना, ब्रेन ट्युमरमा ४१ जनालाई सेवा तथा थेरापी दिएको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै प्रि–क्यान्सर गोइनेकोलोजिकल लिजन (लूप इलेक्ट्रोसर्जिकल इक्सिजन) तर्फ ४० जना, ओरल क्याभिटीको क्यान्सरतर्फ ३७ जना, हेपाटोबिलियरी एण्ड पेन्क्रियाटिक क्यान्सरतर्फ ३५ जनालाई सेवा दिइएको छ ।
यस्तै यूरिनरी ब्लाडर क्यान्सरमा २४ जना, बोन ट्युमरमा २१ जना, अन्य विभिन्न क्यान्सरका शल्यक्रियाहरूतर्फ थप ३४ जनालाई सेवा दिइएको छ । साथै क्यान्सरको सिस्टेमिक थेरापी सेवा तीन हजार ६ सय ५० जनालाई दिइएको जनाइएको छ । बहिरङ्ग सिस्टेमिक (किमो, हर्मोनल तथा टार्गेट) थेरापी सेवातर्फ दुई हजार सात सय २८ जना, अन्तरङ्ग सिस्टेमिक (किमो, हर्मोनल तथा टार्गेट) थेरापी सेवातर्फ नौ सय २२ जनालाई सेवा दिइएको छ ।
गाइनेकोलोजिकल क्यान्सरसम्बन्धी पूर्वक्यान्सर अवस्थाका ४० जना महिलालाई लूप इलेक्ट्रोसर्जिकल इक्सिजन विधिबाट सेवा प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
शल्यक्रियाका साथै प्रतिष्ठानले क्यान्सर बिरामीलाई सिस्टेमिक थेरापी अर्थात् किमोथेरापी, हर्मोनल र टार्गेट थेरापी सेवा समेत दिँदै आएको छ। आर्थिक वर्ष २०८१/८२ मा बहिरङ्ग सिस्टेमिक थेरापी सेवा अन्तर्गत २,७२८ जना बिरामी र अन्तरङ्ग सेवा अन्तर्गत ९२२ जना बिरामीलाई सेवा दिइएको छ। कुलमा ३,६५० जना बिरामीले यो सेवा प्राप्त गरेका छन्।
प्रतिष्ठानले उपचार मात्र होइन, क्यान्सर रोगको पहिचान, रोकथाम र जनचेतना अभिवृद्धिमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्क्रिनिङ्ग ओपीडी सेवा, ग्यास्ट्रोइन्टेस्टाइनल इन्डोस्कोपी, ब्रेष्ट क्लिनिक तथा ब्रेष्ट क्यान्सर सचेतना कार्यक्रम, भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड, एचपीभी–डीएनए परीक्षण तथा कोल्पोस्कोपीजस्ता सेवा निरन्तर प्रदान भइरहेको क्यानसर रोग विशेषज्ञ डा. सारदा खड्काले जानकारी दिनु भयो ।
प्यालिएटिभ तथा होम बेस्ड हस्पाइस सेवा समेत सञ्चालनमा ल्याई बिरामीको जीवनस्तर सुधार गर्नेतर्फ प्रतिष्ठानको सक्रियता देखिएको छ।
यद्यपि, क्यान्सर उपचारका तीन मुख्य आधार स्तम्भमध्ये शल्यक्रिया र सिस्टेमिक थेरापी सेवा राम्रोसँग सञ्चालनमा रहे पनि तेस्रो आधार स्तम्भका रूपमा रहेको रेडियोथेरापी सेवा भने अझै सञ्चालनमा आउन सकेको छैन। प्रतिष्ठानले रेडियोथेरापी सेवा सुरु गर्नका लागि आवश्यक पूर्वाधार तयार गरिरहेको जनाएको छ ।