धरान । धरान स्थापना भएको वर्षलाई आधार मानेर प्रत्येक वर्ष मनाइँदै आएको धरान डे आइतबार विविध कार्यक्रमसहित मनाइएको छ।
वि.सं.१९५७ मा धरान स्थापना भएको मान्यताका आधारमा हरेक वर्ष धरान डे मनाउने परम्परा रहँदै आएको छ। यस वर्ष पनि धरानमा बसोवास गर्ने विभिन्न जातजाति, भाषाभाषी तथा समुदायको सहभागितामा भव्य र्यालीसहित कार्यक्रम आयोजना गरिएको थियो।
धरान–१२ स्थित पब्लिक हाइस्कुलको छेउबाट सुरु भएको र्याली छाताचोक, सिंहदेवीचोक, पुरानो बजार, माछाभौडी, देशीलाइन भानुचोक र पुतलीलाइन हुँदै पुनः पब्लिक हाइस्कुलको दक्षिणतर्फको गेटबाट कार्यक्रम स्थलमा पुगेर समापन भएको थियो।
र्यालीमा सहभागी विभिन्न जातजातिका प्रतिनिधिहरू आफ्ना–आफ्ना परम्परागत वेशभूषामा सजिएर सहभागी भएका थिए। यसले धरानको बहुजातीय र बहुसांस्कृतिक पहिचानलाई जीवन्त रूपमा प्रस्तुत गरेको थियो।
कार्यक्रमको उद्घाटन धरानकी समाजसेवी सरला कायस्थले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले धरानलाई बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुभाषिक सहरका रूपमा चिनाउँदै यसको सामाजिक सद्भाव र सहअस्तित्वलाई थप सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
धरानमा हाल नेपालमा सूचीकृत १४२ जातजातिमध्ये ८६ जातजातिको बसोवास रहेको छ। यसमध्ये आदिवासी जनजाति सूचीकृत १० भन्दा बढी जातजाति यहाँ स्थायी रूपमा बसोवास गर्दै आएको बताइएको छ । कार्यक्रममा नेवारी, राई, लिम्बू, तामाङ, शेर्पा, मगर तथा खस–आर्य समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
धरान डे ले सहरको ऐतिहासिक पहिचान, सांस्कृतिक विविधता र आपसी सद्भावलाई उजागर गर्दै आएको आयोजकहरूले बताएका छन्। स्थापनाको अवसरमा पारेर धरान उपमहानगरले प्रत्येक बर्ष विविध कार्यक्रम गरि उत्सव मनाउदैं आएको छ । पुस २० गते सावैजनिक विदासमेत उपमहानगरले दिदैं आएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरु रमेशकुमार बस्नेत, विजयकुमार राई, नगर प्रमुख हर्कराज राई,लगायत जनप्रतिनीधि, राष्ट्रसेवक कर्मचारीको बाक्लो उपस्थिति रहेको थियो ।




















