धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन विभागका एडिसनल प्रोफेसर तथा डाइबिटोलोजिस्ट डा। अजय यादव अन्तर्राष्ट्रिय मधुमेह महासंघ (आईडीएफ) को फिजिकल एक्टिभिटी इम्प्लिमेन्टेसन कमिटीमा चयन हुनुभएको छ।
प्रतिष्ठानका अनुसार विश्वका १६३ देशका २६४ राष्ट्रिय मधुमेह सङ्घहरूको छाता संस्था आईडीएफले गठन गरेको उक्त समितिमा विश्वभरका सयौँ विज्ञहरूमध्येबाट छनोट गरिएका शीर्ष १० विशेषज्ञमा नेपालका तर्फबाट डा. यादव पर्न सफल हुनुभएको हो।
मधुमेह तथा यसका जटिलता रोकथामका लागि शारीरिक गतिविधिलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले गठित समितिले “Activate, Activate, Activate" र "Prevention, Prevention, Prevention” भन्ने मूल नाराका साथ कार्य गर्ने जनाइएको छ।
डा. यादव लामो समयदेखि मधुमेहको उपचार, परामर्श तथा रोकथामका क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। उहाँले रेडियो, टेलिभिजन, सामाजिक सञ्जाललगायत विभिन्न श्रव्य–दृश्य माध्यम तथा प्रत्यक्ष जनचेतनामूलक अभियानमार्फत स्वस्थ जीवनशैली र मधुमेह रोकथामसम्बन्धी जनचेतना अभिवृद्धिमा योगदान पुर्याउँदै आउनुभएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका अनुसार डा. यादवको दीर्घकालीन अनुभव, विशेषज्ञता र स्वास्थ्य प्रवर्द्धनमा पुर्याएको योगदानको कदरस्वरूप उहाँ उक्त अन्तर्राष्ट्रिय समितिमा चयन हुनुभएको हो।



















