धरान । महोत्तरीको बर्दिबास नगरपालिका–३ बाट प्रहरीले करिब ४ सय ५४ किलोग्राम गाँजासहित एक मिनी ट्रक चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–३ निवासी २६ वर्षीय विश्व तामाङ रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले सिन्धुलीको भिमानबाट महोत्तरीतर्फ आउँदै गरेको बा.४ ख ५६९२ नम्बरको मिनी ट्रकलाई शंका लागेर जाँच गरेको थियो। जाँचका क्रममा ट्रकको छतमा फल्स बटम बनाएर लुकाइछिपाइ राखिएको ६० वटा पोकाभित्र करिब ४ सय ५४ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजासहित चालक तामाङलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ।



















